७१ विद्यालय ध्वस्त, २४ विद्यार्थीको निधन

0
Shares

–अस्थायी टहरामा पढाइ शुरु गर्ने तयारी
–दर्जनाैं विद्यालयमा क्षतिग्रस्त
–प्रमुख सचिव पौडल भन्नुहुन्छ: मंसिरमा जसरी पनि कक्षा सञ्चालन गर्छौं
काठमाडौं । 

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ७१ वटा विद्यालय ध्वस्त भएका छन् । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा २४ जना विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार क्षति भएको विद्यालयको विवरण संकलन गर्ने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पमा परी जाजरकोटमा १ सय १ र रुकुम पश्चिममा ५२ जना गरी १ सय ५३ जनाको मृत्यु भएको थियो । जसमा ७८ जना बालबालिका रहेका छन् । यसअघि सरकारले १ सय ५७ जनाको मृत्यु भएको उल्लेख गरेको थियो । तीमध्ये ४ जनाको नाम दोहोरिएको हो । मृत्यु भएका बालबालिकामध्ये २४ जना विद्यार्थी छन् ।

कर्णाली प्रदेशका कामु प्रमुख सचिव चूडामणि पौडेलले कति विद्यालय क्षतिग्रस्त भए भन्ने विषयमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । आमसञ्चारमा फरकफरक तथ्याङ्क सार्वजनिक भइरहँदा सामाजिक विकास मन्त्रालयले ध्वस्त भएका विद्यालय र मृत्यु भएका विद्यार्थीको तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रमुख सचिव पौडेलले ध्वस्त भएका विद्यालय पुनर्निर्माण गर्ने विषयमा छलफल शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘दशैं र तिहारको बिदा भएकाले केही दिनभित्र विद्यालयमा अस्थानी टहरा (टीएलसी) बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार छठलगत्तै कक्षा सञ्चालन गर्न ध्वस्त भएका र क्षतिग्रस्त विद्यालयमा टीएलसी निर्माण कार्य शुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तिहारमा समेत संरचना निर्माण गरी छठलगत्तै कक्षा सञ्चालन गर्ने गरी टीएससी निर्माण कार्य शुरु गर्न लागेका छौं ।’ यसअघि सरकारले २०७२ सालको शक्तिसाली भूकम्पमा क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गर्न विलम्ब भएपछि करिब १ हजार टीएलसी भवन निर्माण गरी पठनपाठन शुरु गरिएको थियो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले अस्थायी टहरा निर्माण गरी तत्काल पठनपाठन शुरु गर्ने तयारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले आवश्यक परे केन्द्रले प्रदेश सरकारलाई टीएलसी निर्माण गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले सो घटनामा परी समस्या परेका विद्यालयको विषयमा केन्द्रले प्रदेश मन्त्रालयको सहयोगमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो ।
केन्द्रले भूकम्प प्रभावित दुई जिल्लामा आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएको छ ।

भूकम्पको कारण तिहारलगत्तै ध्वस्त भएका विद्यालयमा कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय निकायसँग छलफल जारी राखेको महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालयको संरचना पुनर्निर्माण गर्ने विषयमा प्रदेश सरकारसँग समन्वय जारी राखेका छौं ।’ तर कर्णाली सरकारले तिहारलगत्तै पठनपाठन सञ्चालन गर्न तयारी शुरु गरिसकेको जनाएको छ ।