ग्रामीण बस्तीका नागरिकले पाउन सकेनन् राहत


जाजरकोट । 

सरकारले सोमबारदेखि गत शुक्रवार मध्यरात गएको भूकम्पबाट क्षतिग्रस्त भेरी नगरपालिका, नलगाड नगरपालिकाका भूकम्प प्रभावित क्षेत्रका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न थालेको छ । तर राहत सामाग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालिएकाले ग्रामीण वस्तीका अधिकाँश भूकम्प पीडितले राहत पाउन सकेका छैनन् ।

नेपाल सरकार, दातृ निकाय र सहयोगीबाट आएको राहत सामाग्री संकलनपछि भेरी नगरपालिका–३ का पीडित परिवारलाई स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरूले राहत सामाग्री समान रुपमा वितरण गर्न थालेका छन् । त्यसैगरी भेरी नगरपालिका–१ रावत गाँउमा पनि राहत सामाग्री वितरण भएको छ । पीडित धेरै भएका कारण राहत सामाग्री अपुग भएपछि सदरमुकामबाट राहत सामाग्री लिएर वितरण गरिने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले छिटोछरिटो राहत सामाग्री उपलब्ध गराउन सरकार लागी परेको बताए पनि तिन दिन वित्दा समेत पीडितले राहत पाउन सकेका छैनन् ।

भेरी नगरपालिका–१ की रिता रावतले १ सय ५ घरधुरीमध्य १८ घरपरिवारले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, चाउचाउ, एक बोरा चामल पाएको बाँकीले त्रिपाल पाए पनि खाद्यन्न पाउन नसकेको बताउनुभयो । भूकम्प पीडित सपना रावतले चामल पाए पनि त्रिपाल नपाएको गुनासो गर्नुभयो । रावतगाँउका ४४ घरपरिवारले त्रिपाल नपाएपछि रात काट्न मुश्किल छ ।

भेरी नगरपालिका– १ की उर्मिला रावतको घरमा पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । घर भत्किएर उर्मिलाका ९ बर्षिय छोरा सुन रावत र २ बर्षिय छोरा सुदाम रावतको मृत्यु भएको छ । उहाँकी बहिनी चन्द्रकला परियार र बहिनीज्वाई ललित परियारका परिवार त्यसै घरमा वस्थे । भूकम्पले घर भत्किएपछि चन्द्रकलाका ७ बर्षिय छोरा विनय परिपार, ५ बर्षिया छोरी सम्झना परियारको मृत्यु भएको छ । उक्त घरमा ९ जना बस्दै आएका थिए । ललित परियार घट्ट कुर्न गएकाले बाँच्न सफल हुनुभएको हो ।

उहाँले दुःख पोख्दै भन्नुभयो– ‘ परिवारको पालनपोषणका लागी घट्ट गएको तर छोराछोरी गुमाउनु प¥यो । घट्ट नगएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो की ? तर फेरी घट्ट नगए परिवारलाई के खुवाउने ?’ आईतवारसम्म खुल्ला आकाशमा रात विताएका परियारले सोमबारदेखि

सशस्त्र प्रहरीले बनाई दिएको टेन्टमा बसेका जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले जिल्लामा पुगेको ६ सय ५० ब्लाङकेट, ७ हजार त्रिपाल, २५ सय वोहरा चामल, ६ सय मिटर म्याट, ४ मेटिक टन पोसिलो बिस्कुट भूकम्प प्रभावितलाई बितरण गरेको बताउनुभयो ।

शुक्रबारको भूकम्पले ३५ सय घर क्षतिग्रस्त भएको अनुमान थियो । त्यसपछि पनि पटक पटक परकम्पण गईरहेका छन् । नागरिकहरु त्रसित बनेका छन् । घरभित्र पस्न समेत डराउनु पर्ने अवस्था आएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट नेपाली सेना र सशस्त्र प्रहरीका चिकित्सक उपचारको लागी खटाईएको जाजरकोट अस्पतालका फोकल पर्सन कृष्ण बहादुर खत्रीले बताउनुभयो । भूकम्पमा परिवारका सदस्य गुमाएकाले त्रिपालमुनी तथा आफन्तको घरमा वसेर मृतकको क्रियाकर्म गरेका छन् । भूकम्पमा परि जाजरकोटमा अहिलेसम्म १ सय १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शर्माले बताउनुभयो ।

सोमबार पनि शक्तिशाली पराकम्प

जारजरकोटमा सोमवार बेलुका ४ बजेर ३१ मिनेटमा पुनः ५ दशमलव ८ स्केल रेक्टरको पराकम्प गएपछि केही घरहरू भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पमा जोगिएका केही घर सोमबारको भूकम्पले भत्काएपछि फेरि आतंक छाएको छ ।