सरकारले  समस्य सम्बोधन नगरेको बहिरा शिक्षकको गुनासो

126
Shares

धादिङ। 

सरकारहरु धेरै आए । देशमा परिवर्तन भयो । शिक्षा आन्दोलनहरु भए । सरकारसँग भएका सम्झौताहरूमा समेत बहिरा शिक्षकका समस्या सम्बोधन हुन सकेन।
समस्या नै समस्यामा रहेको बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको मागप्रति सरकारले बेवास्ता गरेको बहिरा शिक्षकहरुकाे गुनासो छ ।

बहिरा शिक्षक संघ, नेपालको राष्ट्रिय भेलाका लागि देशभरबाट धादिङ आइपुगेका बहिरा शिक्षकहरुले आफूहरूको समस्या सुनिदिने कोही नहुँदा  समस्या माथि समस्या थपिइरहेको बताएका छन् ।

राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बहिरा शिक्षक संघ, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र शर्माले ५५ वर्षदेखि बहिरा शिक्षकहरुको समस्या समाधान गर्न सरकारले बेवास्ता गरेको बताए  । उनले भने– ‘ शारिरीक रुपले बहिरा शिक्षकहरु भएपनि सरकार दिष्टिविहिन समेत भएकाेले बोल्न र सुन्न नसक्नेको कुरा कहिल्यै सम्बोधन नभएको शर्माको भनाई छ ।

 ५५ वर्षअघिदेखि बहिरा बालबालिका पढाउन बहिरा विशेष विद्यालय स्थापना गर्‍यो । तर विद्यालयमा अध्यापन गराउने शिक्षक र कर्मचारीलाई दरबन्दीको व्यवस्थापन गर्न नसक्दा बहिरा शिक्षकहरु समस्यामा परेका हुन् । संविधानको धारा ३७ मा बहिरा बालबालिकाले पढ्न पाउने हक उल्लेख छ तर एक जना पनि स्थायी शिक्षक छैन । ३३ वर्षदेखि पढाइरहेका व्यक्ति समेत स्थायी छैनन् ।

बहिरा शिक्षकहरुलाई स्थायी गराउनुपर्ने, कक्षा कोठामा अध्यापन गरेको हेरेर शिक्षकहरुलाई स्थायी लाइसेन्सको व्यवस्था गरिदिन लगायतका माग उनीहरूले गरेका छन् ।

समान क्षमता समान शैक्षिक योग्यता र काम गर्ने बहिरा शिक्षकलाई सरकारले पक्षपात नगरी सेवा सुविधा दिनु पर्ने बहिरा शिक्षक संघ, नेपालका महासचिव रामप्रसाद अधिकारीको भनाई छ ।

 १० प्रकारको अपाङ्गमध्ये बहिरा एउटा हो । सरकारले बहिरा बालबाललिका र शिक्षकको लागि दीर्घ योजना बनाएर अघि बढ्न नसक्दा नेपालमा रहेको करिब १२ हजार बहिरा बालबालिका र करिब एक सय पचास भन्दा बढी शिक्षकको भविष्य अन्योल छ ।

सरकारले बेवास्ता गर्दा वर्षौदेखि बहिरा शिक्षक समस्याको भुमरीमा रुमल्लिन बाध्य भएको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताएका छन्।

 ‘सरकारको कुनै निकायमा बहिरा आरक्षण छैन । अरु सरह बोल्न र सुन्न नसक्ने बहिराले प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । सेवा गरिरहेपनि पेसाको कुनै ग्यारेन्टी छैन । सेवा अवधि सकिएपछि पेन्सनको व्यवस्था पनि छैन । बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई राज्यको कुनै निकायले पनि अनुमति दिने व्यवस्था छैन । सरकारले अन्य शिक्षक र बहिरा शिक्षकबिच गरेको भेदभाव अन्त्य गर्नुपर्छ’, उनले ले भने ।

राष्ट्रिय भेलाकै अवसरमा साङ्केतिक भाषाका जन्मदाता गोकुल प्रसाद रिजाल र निर्मल कुमार देवकोटालाई सम्मान गरेको छ । संस्थागत रुपमा काठमाडौँ  बहिरा संघलाई पनि सम्मान गरेको छ । धादिङबेसीमा जारी दुई दिने राष्ट्रिय भेलाले विशेष धादिङ घोषणापत्र जारी गर्नेछ ।

बहिरा अपांगता भएका शिक्षकहरुले बहिरा तथा अपाङ्गता शिक्षक कर्मचारीहरु विस्थापित नहुने गरी विशेष व्यवस्थाद्धारा सबै बहिरा अपाङ्गता भएका शिक्षक कर्मचारीहरुलाई शिक्षा ऐन २०८० मार्फत स्वतः स्थायी गर्न सरकारसँग माग गरेका छन् ।