नेपाली राजनीतिमा कुन बेला के हुन्छ भन्ने कुरा प्रशासनिक निकायले केही हदसम्म संकेत पाएको हुन्छ । राजनीतिले लिने बाटो र भोलिको अवस्थाका बारेमा केही सूचना तथा संकेत सबै राजनीतिक दलले पाउँदैनन् ।
कतिपय गोप्य सूचना पहिले नै बाहिर आएका हुन्छन् । केही भने अत्यन्त अँध्यारो ठाउँमा राखिएको हुन्छ र बाहिर आएपछि त्यसले समाजमा मात्र होइन देशमै नराम्रो असर पारेको हुन्छ । खासमा भन्ने हो भने नेपालमा स्वच्छ राजनीतिको भविष्य र अवस्थाका बारेमा सबैलाई जानकारी छ । राजनीतिक दलहरू पनि यस विषयमा जानकार छन् । तर पनि यहाँ कालो राजनीतिकै जालो बुन्न सबै उत्साहित भएर लागेका हुन्छन् ।
नेपालमा राणाकालदेखि नै कालो राजनीतिले झाङ्गिने अवसर पाएको हो ।
राजनीति सेवाका रूपमा हुनुपर्ने हो तर नेपालमा मेवाका लागि राजनीति गर्ने संस्कारको विकास भएको छ । राजनीतिले मुलुकको कायापलट हुने आशा २०४६ सालको परिवर्तनपछि गरिएको थियो तर आशा निराशामा परिणत भयो । जुन कालो राजनीतिकै कारण हो । राजनीति गर्नेहरू स्वार्थमा चुर्लुम्म डुबे । जनताका समस्या बीसबाट उन्नाइसमा झरेनन् । विकास निर्माणका काम लथालिङ्ग भयए । जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, आवासलगायतका तमाम कुराहरू आजसम्म पनि समस्याकै रूपमा रहन पुगे । जुन वर्तमान सरकारले पनि यसतर्फ उचित काम गर्न सकेको देखिँदैन ।
सत्यतथ्य र सबैले बुझेको देखेको कुरा गर्ने हो भने नेपालमा कालो राजनीतिको प्रादुर्भाव गर्ने राजनीतिक दल भनेको नेपाली कांग्रेस नै हो । यो कुरा नेकालाई नपच्न सक्छ तर नेकाभित्रकै नेता कार्यकर्ताहरूले स्वीकार गरेको कुरा हो । उदाहरणकै कुरा गर्ने हो भने चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, विजयकुमार गच्छदार, आफ्ताव आलम, स्व. खुमबहादुर खड्का, बाकृष्ण खाण, जयप्रकाश गुप्तालगायतका नेताहरू कुनै बेला नेकाभित्र वा सरकारमा रहँदा अत्यधिक चर्चाका पात्र थिए । सस्तो लोकप्रियताले उनीहरूलाई कालो राजनीतिको उन्नयनकर्ताको रूपमा चिनायो । जनताका नजरमा घाटमा पुगेको कालो राजनीतिका नायकहरू हुन् भन्ने कुरा प्रमाणित भयो । अहिले राजनीतिमा यस्तै खेल भैरहेको छ ।
नेपाली कांग्रेसमात्र होइन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका धेरै नामका नामधारी दलहरूभित्र पनि यस्तो प्रवृत्तिको राजनीति भैरहेको छ । सबै धमिलो पानीमा माछा मार्ने दाउमा रहेका छन् । आफन्तवादसँग वा जी हजुरी प्रथा भनौँ या कोसेलीपातको आशामा चलेको राजनीति जहिले पनि कालो हुन्छ । स्वच्छ सिमलको भुवाजस्तो सेतो राजनीतिको अपेक्षा जनताले गरेका भए पनि फलामजस्तो कालो छुन नै नसक्ने साह्रो राजनीतिले देश नै भयावह अवस्थामा पुगेको सर्वत्र गुनासो र चासोको विषय बनेको छ ।
अहिले देशमा माओवादी नेतृत्वको गठबन्धन सरकारमा रहेका केही मन्त्रीहरू पनि सस्तो लोकप्रियता कमाउन व्यस्त र मस्त भएर लागेको देखिन्छ । उम्लेको तातो रगतको शक्ति देखाउन खोजिरहेका छन् । तर यस्तो सस्तो लोकप्रियताको परिणाम नेकाका नेताहरूको जस्तो हुन बेर छैन । उदाहरणका लागि नागरिक उड्डयन पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीलाई नै लिन सक्छौँ । भर्खरै लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्ति पाएका ल्यारक्याल लामाजस्तो विवादित मान्छेलाई माओवादी भएकै कारण हो वा कोसेलीपात टक्य्राएका कारण हो, महत्वपूर्ण जिम्मेवारीमा राखेका छन् ।
उनका विरुद्ध पटक–पटक विभिन्न पत्रपत्रिकाले समाचार बनाए, अदालतमा समेत मुद्दा खेपेर बद्नाम कमाएका थिए । सरकारमा राज्यमन्त्रीको जिम्मेवारीमा रहँदा विवादमा आएर राजीनामा दिनुपरेको थियो । यस्ता मान्छेलाई अदालतलगायतका अन्य निकायबाट समेत सफाइ पाएको भनेर नियुक्ति दिनु कति उचित हो ? अहिले पनि विभिन्न पत्रपत्रिकामा लामाका बारेमा विभिन्न टीकाटिप्पणीहरू भैरहेका छन् । जब जनस्तरबाट नै विरोध भैरहेको छ भने त्यस्तो व्यक्तिलाई पदमा राख्नु न्यायोचित हुन्छ त ? जब उनको छवि नै कालो जाल बुन्ने मान्छेको रूपमा देखा परेको छ भने त्यो नियुक्ति गोरो छ भनेर कसले पत्याउने ?
यसरी सस्तो लोकप्रियता कमाउन मन्त्री किरातीले गरेको लामाको नियुक्तिलगायतका अन्य कामहरू कालो राजनीतिको परिणाम बन्नुहुँदैन । हुन त माओवादीहरूलाई मात्र यसको दोष जाँदैन । गठबन्धनभित्रका सबै सत्ता साझेदारदलहरूले पनि यो कुरामा विचार गर्नुपर्ने हो । भागवण्डाका कारण अरु दलहरू यस्ता कुरामा भाग खोसिने भयले बल गर्दैनन् । कालो राजनीति गर्ने संस्कारको जालो मै हुँ भन्ने गठबन्धनको सरकारले अझ फैलाउने संकेत देखा परेको छ । कतिपय कुराहरू अझै बाहिर आएका छैनन् । गठबन्धन सरकारले लुकाएर राखेका छन् । ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सय किलो सुनकाण्ड पनि सस्तो लोकप्रियता बन्यो भने जनताले फिल्म हेर्न पाउँदैनन् भन्ने कुरा सही ठहरिनेछ ।
सेतो राजनीतिको जालोभन्दा कालो राजनीतिको जालो छिटो फैलन्छ रे ! नेपालमा प्रजातन्त्र पुनर्वहाली भएपछि सबैभन्दा बढी समयसम्म नेपाली कांग्रेसले सत्ता हातमा लिएर बस्दा जनताका लागि सरकार बाँदरको पुच्छर लौरो न हतियार भयो । अझै पनि जनता यसै भनिरहेका छन् । जनता सत्तामा चढ्ने भ¥याङका रूपमा दरिएका छन् । जनताले होस्टेमा हैँसे गरिदिएका कारण जनताकै टाउकोलाई सिँढी बनाएर सिंहदरबार पुगेकाहरू कालो राजनीतिमा होमिएपछि सेता कुरा गर्न अझ तिखारिएर, निखारिएर आए । सेता कुराले कालो राजनीतिको संकेत गर्छ भन्ने कुरा बुझ्न अब मजस्तो गोज्याङ्ग्रेले पनि बुझ्न थालेँ भने अरुले त झन् नबुझ्ने कुरै भएन ।
सत्तामा बस्नेहरूले शायद जनतालाई केही नबुझ्ने मूर्ख सम्झन्छन् क्यारे ! त्यसैले आफूलाई नै सबै कुराको ज्ञाता र लालबुझ्क्कड ठानेर मनपरि गरिरहेका छन् । हुन त पदमा पुगेपछि जनतासँग के सरोकार हुन्छ र ? सरोकार भनेको पद र पैसासँग हुन्छ । कालो राजनीतिको जालो बुन्नेहरूले गर्ने भनेकै यस्तै हो । जो चोर उसको ठूलो स्वर भन्ने उखान बूढापाकाले त्यसै चलाएका होइन रहेछन् भन्ने कुरा अहिले आएर पुष्टि भएको छ । हिजो पदमा रहँदा वा नरहँदा होस् नेकाका वाग्ले, जोशी, आलम, खाँणलगायतका नेताहरूको स्वर सबैभन्दा माथि थियो । तर आज त्यो स्वर माटोमुनि दबिएको छ । आज मन्त्री किरातीको स्वर पनि त्यस्तै माथि छ । कतै बूढापाकाको उखान चरितार्थ भयो भने भोलि उनको स्वर पनि माटोमुनि विलय हुन के बेर ?
अरुभन्दा पनि लामाको नियुक्तिले बौद्धिक जमातभित्र जुन चर्चा चलेको छ, त्यो चर्चालाई सामान्यरूपमा लिएर यस्ता कुरा आउँदै गर्छ वा काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने उखानलाई आत्मसात् नगर्ने हो भने भोलि अझ काला दिनहरू आउनेछन् । कालो राजनीति फेरि शुरु भएको महसुस जनताले गरेका छन् । बौद्धिक समुदायले गरेका छन् । आफूलाई सबैभन्दा सेतो भन्ने मन्त्रीले गरेको यो कामले के पुष्टि गरेको छ भने, बाहिर सेतोको आवरणमा भित्र कालो काम भैरहेको छ । माओवादीभित्रकै नेताहरूलाई पनि यो नियुक्ति ठीक लागेको छैन । तर पार्टीको निर्णयअगाडि बोल्न नहुने भएकोले तैँ चुप मै चुप भएर बस्न बाध्य भएका छन् । भनौँ तानाशाह प्रवृत्ति पार्टीभित्र हाबी भएको छ । यो नै कालो राजनीतिको प्रादुर्भाव हो भन्न सकिन्छ ।
माओवादीभित्र लामाभन्दा योग्य अरु नभएका कारण लाचार भएर नियुक्ति दिएको हो भने त्यो कुरा बाहिर आउनुपर्छ । होइन भने सत्ता साझेदार दलमा योग्य व्यक्ति खोजी गरिनुपर्दथ्यो । सत्ता साझेदार दलहरूलाई पनि लामाको नियुक्तिप्रति चित्त बुझेको छैन । तर मन्त्री किराती र प्रधानमन्त्रीको जबरजस्तका कारण उनले नियुक्ति पाएका हुन् भन्दा फरक पर्दैन । दुर्गन्धित भएका व्यक्तिलाई नै सुगन्धित बनाउन नियुक्ति दिइएको हो भने साबुन–पानीले नुहाइदिँदा पनि गधा गाईमा परिणत किन नभएको हो ? लकरमा गोली राख्ने मान्छेको अनुहारमा सेतो स्वभाव कहिल्यै देखिँदैन । मान्छे हेर्दा र कुरा सुन्दा सेतो भएर हुँदैन । उसको भित्री मन सेतो हुनुपर्छ । यदि लामाको भित्री मन सेतो भएको भए लकरमा गोली राख्दैनथे । सबैतिरबाट समीक्षा गर्दा र विश्लेषण गर्दा उनको नियुक्ति माओवादीभित्रको कालो राजनीतिको उपज हो, प्रादुर्भाव हो भन्दा फरक पर्दैन ।
प्रतिक्रिया