नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा प्रहरीसहित ९ जना पक्राउ



काठमाडौँ।

नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा प्रहरीसहित ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका आरोपिलाई आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा नवलपुर मध्यबिन्दु नगरपालिका–५ का ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ कि ३४ वर्षीय भक्तबहादुर थापा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २१ वर्षीय विपिन ढकाल, सुलिकोट–४ का २३ वर्षीय अजित फेवाली र उदयपुरको बेलका नगरपालिका–१ का ३० वर्षीय आशिष श्रेष्ठ रहेका छन्।

यस्तै काभ्रेको पाँचखाल नगरपालिका–३ का २८ वर्षीय जीवराम तामाङ, काठमाडौं–३२ का २३ वर्षीय साइरस विशंखे, काठमाडौं–१ का ३८ वर्षीय दीपक केसी, सल्यानको कालिमाटी–३ का ४२ वर्षीय बलबहादुर रावत पनि पक्राउ परेका छन्।

जिवराम विमानस्थलमा कार्यरत प्रहरी जवान हुन्।भिजिट भिसामा जाने व्यक्तिले नक्कली कागजात बोकेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कागजातसहित अनुसन्धानका लागि अपराध प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वमा टोली खटिएको थियो।

विमानस्थल प्रहरीले बरामद गरेका १ हजार ३२ थान कागजात बनाउने कार्यमा उनीहरूको संलग्नता देखिएको अनुसन्धान कार्यालयले जनाएको छ।प्रहरीका अनुसार विमानस्थलमा बरामद नक्कली कागजात मध्ये २९६ थान नक्कली रहेको पुष्टि भएको र बाँकी कागजात पनि अनुसन्धान कार्यालयले परीक्षण गरिरहेको छ।

भिजिट भिसामा जाने व्यक्तिहरूले लगेका प्रहरी रिपोर्ट, श्रम स्वीकृत, शैक्षिक प्रमाण पत्र, नाता प्रमाणितका कागजातहरु, कोभिड परीक्षणको रिपोर्ट, बैंक स्टेटमेन्ट, लगागतका कागजातहरू नक्कली भएको प्रहरीको दाबी छ।

पक्राउ परेका जीवरामले विदेश जान चाहनेहरूसँग सम्पर्क गर्ने र उनीहरूलाई कुन–कुन कागजात चाहिने रहेछ भनेर बुझ्थे र टिममा जानकारी गराउँथे।

त्यसपछि कागजात बनाउन लाग्ने रकम डिल गरिसकेपछि उनले नै टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ।भक्तबहादुर थापाले ह्वाट्स एपमा सम्पर्क गरी राहदानीको फोटो पठाई नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेका थिए।

त्यसपछि दीपक केसीले बलबहादुरलाई सम्पर्क गरी विभिन्न व्यक्तिहरूका लागि नक्कली कागजात बनाउन लगाउने गरेको खुलेको छ।बलबहादुरले नै भिसा, हवाई टिकट, श्रम स्वीकृत, बैंक स्टेटमेन्ट, चारित्रिक प्रमाणपत्र लगायतका कागजातहरू लागोसहितका नक्कली कागजात बनाउने गरेको खुलेको छ।

आशिष र जीवराम तामाङले पनि नक्कली कागजातका लागि सेटिङ मिलाउने गरेका थिए। प्रहरीका अनुसार अजित फेवालीले श्रम स्वीकृतको नक्कली कागजात तयार गर्ने गरेका थिए।

साइरस ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक हुन्। अन्य कागजात पनि प्रमाणीकरण गर्ने काम भइरहेकाले संलग्नको संख्या अझै बढ्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्