पुतली बाजेको निधन

0
Shares

कास्की ।

‘पुतली बाजे’ भनेर चिनिने कोलिन स्मिथको निधन भएको छ । पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको हो ।

लामो समय पिसाव सम्बन्धि रोगले थलिएका उनको उपचारका क्रममा शनिवार बिहान तीन बजे पोखराको हरियोखर्क अस्पतालमा निधन भएको हो । उनी ८७ वर्षका थिए ।
नेपालमा पुतलीको अनुसन्धानका उनी जानकार थिए ।

नेपालमा उनले गरेको पुतलीको अनुसन्धानबारे योगदान अतुलनीय छ । पुतलीको संरक्षण, खोज र अनुसन्धान गरेवापत् उनले ‘पुतली बाजे’को उपनाम पाएका हुन् ।

उनकै पहलमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजिम पुतली संग्रहालयको नामले चिनिन्छ। सन् १९६५ मा खुलेको यो संग्रहालयमा विभिन्न खालका जीवजन्तु, पशुपंक्षी संग्रहित छन् । तीमध्ये सबैभन्दा बढी पुतलीका प्रजाति छन्। उनले पुतलीबारे करिब ३ दर्जन पुस्तक लेखेका छन्।

उनले नेपालमा पाइने करिब साढे ६ सय प्रजातिका पुतलीको खोज अनुसन्धान गरेर सोही संग्रहालय सजाएका हुन्। आजभन्दा करिब ६० वर्षअघि पोखराको लामाचौरस्थित नेपाली आदर्श विद्यालय पढाउन आएका बेलायती नागरिक कोलिन स्थिम नेपालमै रमाए।