जिल्ला प्रशासनमा भद्रगोल ‘अभिलेख’ 

0
Shares

काभ्रे।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको अभिलेख भद्रगोल छ । आफ्नै स्थायी संरचना नभएका कारण प्रशासन कार्यालय भाडामा बसिरहेको छ । भवन निर्माण गर्ने उद्देश्यले भाडामा सारिएको प्रशासन कार्यालय मुद्दै मुद्दाको अलमलमा छ । त्यहि अलमल र असरल्ल अवस्थाको फाईदा उठाउँदै कर्मचारीको सेटिङ्गमा विदेशीहरुलाई नागरिकता विक्री भएको तथ्य बाहिरिएको छ ।

पटक पटक नागरिकताको अनसुची व्यवस्थित बनाउन स्थानीय सरकारको सहयोगमा समेत अभिलेखीकरण गरिएको छ । अभिलेख प्रशासन कार्यालयको नयाँ भवनको भुई तल्लामा राखिएको छ । चिसोका कारण अभिलेख मक्किएको छ भने च्यातिएर चिन्न नसकिने अवस्थामा पुगेको छ । प्रशासन कार्यालयबाट प्राप्त हुनु पर्ने महत्त्वपूर्ण फाईल तथा निर्णयका प्रमाणीत कपिहरु पनि पाउन कठिन छ । भूकम्प पछि मुआब्जाको निर्णय गरेको माईन्युट एक महिना खोज्दा पनि फेला नपरे पछि राय सहितको निर्णय मन्त्रालयमा माग गरिएको छ । एकै दिनको एउटा माईन्युट छ अर्को छैन । नागरिकताका केही विवरणहरू अहिले अनलाइनमा सूचीकृत गरिएको छ । तर पुराना सूचीकृत नभएका फाईलहरु प्रशासनमा भेटिन सम्भव छैन । कार्यालय सार्दा व्यवस्थित नगरिएका अभिलेखका कारण नागरिकहरुले हरेक दिन दुःख पाउन थालेका छन् । राहदानी, नागरिकता, सिफारिस तथा अन्य महत्त्वपूर्ण सूचनाहरू प्रशासन कार्यालयमा हराएको भए पनि थप सुरक्षाका लागि नयाँ रणनीति केही बनेको छैन।

जिल्ला समन्वय समितिले प्रदान गरेको अस्थायी टहरामा बसिरहेको प्रशासन कार्यालयको निर्माणाधीन भवनको मुद्दा अझै टुङ्गिएको छैन । अस्थायी टहरामा कागजात सुरक्षित गर्न हम्मेहम्मे परेको प्रशासनका कर्मचारीहरुले बताएका छन् । स्थान अभाव छ । भएको स्थानलाई व्यवस्थित गर्ने र नागरिकलाई सेवा प्रदान गर्ने बाहेक अर्को कुनै उपायका बारेमा प्रशासनले सोच्न सकेको छैन । भद्रगोल कागजात र संरचनालाई व्यवस्थित गर्ने एउटै उपाय आफ्नै भवनबाट सेवा प्रदान गर्नु बाहेक अर्को विकल्प नभएको कर्मचारीले बताए । तर हराएका कागजात भेट्टाउने, नष्ट हुन लागेको अभिलेखहरुलाई जोगाउने, सेवाग्राहिहरुलाई छिटो सेवा प्रदान गर्ने तर्फ प्रशासनको नयाँ योजना बन्नु पर्ने सेवाग्राहिहरुको सुझाव छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भवनको निर्माण कार्यका लागि सर्वोच्च अदालतमा रहेको मुद्दाको छिनोफानोका लागि भएको पहल तथा साबिकका स्थानबाट दिई राखिएको सेवालाई गुणस्तर बनाउँदै अभिलेखहरुलाई चुस्त दुरुस्त बनाउन पहल भएको प्रतिक्रिया दिएकी छिन् ।