अनुभूतिमा यसपालिको दशैँ


मुक्तिबन्धु
‘अभिवादनशीलस्य नित्यम् वृद्धोपसेविनः
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।

अर्थात् बूढापाकाहरुको सङ्गत सेवा गर्न रुचाउने, अभिवादनशील विनम्र व्यक्तिको चारवटा सौभाग्य बढ्छ– आयु, विद्या, कीर्ति र बल ।’ –सामान्य नीति । गतवर्ष दशैँमा गाउँ जान भ्याइएको थिएन । यसपटक नवरात्रको अघिल्लै दिन गाउँ गइयो । घरमा ७० कटेका काकाकाकी हुनुहुन्थ्यो । साँझमा पुगियो । काकाकाकीले अँगालोमा बाँधेर अश्रुमिश्रित वाणीले स्वागत गर्नुभयो । भोलिपल्ट बिहानै उठेर नित्यकर्मपछि गाउँ घुम्न निस्केँ । पहिलेका तुलनामा गाउँ उजाड त थियो नै, र पनि बन्जार थिएन ।

पहिले अन्न बाली झुल्ने पाटाहरुमा अहिले बाँदर झुल्ने रुखहरु थिए । कसैका लात्ती, मुड्की सहन नपरेका सर्लक्क डाँडापाखाहरु वडाअध्यक्ष र मेयरका थरी–थरी नामका खन्ती–मेसिनले चिथोरेर, उधिनेर सडकाम्मे बनेका थिए । बाढी र पहिरोका रुपमा प्रकृतिको प्रकोप ठाउँ–ठाउँ हाम्फालिरहेका देखिन्थे । यति हुँदा पनि गाउँमा ठाउँ–ठाउँमा मान्छेका घरहरु थिए ।

ती घरहरुमा उमेर घर्के पनि अभैm आशा नघर्केका जिउँदा मानिसहरु थिए । म घर–घर पस्दै र काकाकाकी, ठूलाबा, ठूलीआमा दाजुभाउजू, दिदी–भिनाजु भेट्दै, एकछिन् बस्दै, भलाकुसारी गर्दै अगाडि बढेँ । पाटाघर आँगनमा ओर्लेेपछि अचानक मेरो आङ जिरिङ््ग भयो । शिरदेखि पाउसम्म चिसो सिरेटो दगु¥यो । टक्क उभिएँ । परार साल पाटाघर ठूलाबाका हातबाट दशैँको टीका लाउन पाएको थिएँ ।

९७ हिउँदबर्खा पार गरिसकेको उमेरमा पनि उहाँ स्वस्थ देखिनुहुन्थ्यो । टीका लगाइदिँदा भने उहाँका हात काँप्दै थिए । आशीर्वादका श्लोक अड्केर दोहो¥याउनुभएको थियो । बावु, अब अलि बूढो भएँ, सम्झेर आयौ, टीका लगाउन पाएँ भन्दै आँखाबाट तरक्क आँसु झार्नुभएको थियो । उहाँ अभिव्यक्ति मुडमा हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो, ‘बाबु, यसपालि धेरै इष्टमित्रहरु आउनुभयो ।

छोराहरु पनि दुवै आए । खुसी हुन पाएँ । दशैँ छ र यो उमेरमा पनि भेटघाटको यति मीठो उत्सव मनाउन पाइएको छ बाबु ! मलाई यो चाड हामी सबै नेपालीका लागि हाम्रा महान् पुर्खाको वरदानजस्तो लाग्छ ।’ यति भन्दै उहाँले विगतका कैयौँ दशैँका रमाइला अनुभूति कथाहरु सुनाउनुभएको थियोे । सुन्न पाएको थिएँ । अहिलेको दशैँमा उहाँ हुनुहुन्न । रोजगारीका लागि विदेश गएका उहाँका दुवै होनहार छोराहरु गतवर्ष दुई महिनाको फरक गरी बाकसमा फर्के । बूढी आमा हुनुहुन्छ । उहाँको अवस्था म कसरी हेरुँ ? कसरी सुनूँ ? एकाएक स्तम्भित भएँ । बल्लतल्ल सम्हालिएर अगाडि बढेँ । मूल ढोकामा ताल्चा झुन्डिरहेको देखेँ ।

आँखामा आँसु रोकिएनन् । पुछ्दै घरको चारैतिर हेरेँ । करेसाबारीमा झारले ढाकेको थियो । त्यहाँ जीवनको स्पर्श कतै अनुभूत भएन । फरक्क फर्केर मूलबाटोतिर उक्लेँ । कता जाऊँ कता जाऊँ भयो । झलक्क लालवीर थिङ्बाजेलाई सम्झेँ । थिङ्बाजे । पाटाघरबाको पनि दाइ । उहाँले पनि मानिआएका बहुश्रुत विद्वान् ! यति बेला मैले सुन्नुपर्ने उहाँलाई नै हो भन्ने लाग्यो । सरासर बूढाघरतिर लागेँ ।

बूढाघरमा चहलपहल भव्य थियो । युरोप, अमरिकाबाट बाजेका छोरा, बुहारी, नातिनातिना आएका थिए । गाउँका भद्रभलादमीहरु पनि जुटेका थिए । भान्छाघरमा खानाको तयारी हुँदै थियो । कति त्यता व्यस्त थिए भने धेरैजसो युवाहरु बाजेका कुरा सुन्नमा मस्त थिए । बाजे भन्दै हुनुहुन्थ्यो, ‘आफ्नो देश–दुनियाँको धर्म–संस्कृति सम्हाल्ने आफैँले हो । विदेशीहरु त भेदबुद्धिले काम लिन्छन् ।

फुटाऊ र शासन गर तिनीहरुको पुरानै नीति हो । तिनीहरुको शिक्षा र निर्देशनमा विद्यावारिधि गर्दा हामीहरुको विद्या बढ्दैन । वारिधि मात्र बढ्छ । घमण्ड मात्र बढ्छ । पीएच्डी भनेको टुप्पोको अध्ययन हो, छाँदिएका जराहरुको अध्ययन होइन । हामीले हाम्रो समाज र संस्कृतिका माटोभित्र छाँदिएका जराजरामा पुगेर अध्ययन–अनुसन्धान गर्नुपर्छ ।

हाम्रो समाज हिमालका चुचुराहरु तथा उच्च पहाडका चुचुराहरुसँग, कसरी संवाद गर्छ ? द्यौराली, भान्ज्याङ, चौतारी, सिमेभुमे, देवीथान, कुण्ड, पोखरीलगायत विभिन्न प्राकृत मान्यताहरुलाई कसरी आत्मसात् गरेर निहुँरिन्छ ? विभिन्न जातजाति र भाषाका बीच हाम्रा सांस्कृतिक मूल्य–मान्याताहरु कसरी गाँसिएका छन् र अनुपम समन्वय र सहनशीलताको साझा संस्कृतिको विकास भएको छ ।

यो सबै देख्न, बुझ्न विदेशी चश्मा फुकालेका नेपाली आँखाले हेर्न सक्नुपर्छ । नेपाली कानले सुन्न सक्नुपर्छ । नेपाली हृदयले बुझ्न सक्नुपर्छ । अलिक वर्ष विदेश बसेपछि तिमीहरुको आँखा, मुटु सबै विदेशी बनिसकेको हुन्छ र तिमीहरु झगडाको काँटी बनेर फर्केका हुन्छौ । मेरा सन्ततिलाई म यो मेलमिलापधर्मी नेपालमा भेदबुद्धिको उपयोग गर्ने अनुमति दिन्न । फुटानी र झगडा हामी नेपालीहरुको स्वधर्म होइन । परधर्म भयावह हुन्छ । त्यसले हाम्रो कल्याण गर्दैन । घर–घरमा जमेको दशैँको जमघटले मात्र पनि हामी नेपालीलाई हाम्रो परम्परागत साझा मनोविज्ञानबारे धेरै कुरा सिकाउँछ । सिक्न सक्नुपर्छ ।
सयपत्री मखमली ढकमक्क छ आँगन
दशैँको चाडको मीठो शुभागमन गाउन ।
बेली चमेली चम्पाभैmँ फुल्छन् नेपालका मन
हुँदैनन् कहिल्यै पूmल कसैको वर्गदुश्मन ।’
आफ्ना कुरासँगै यसरी लय हालेर कविता गाउँदै थिङ्बाजेले थप भन्नुभयो, ‘फूललाई पूmल ठान्ने चिन्तनको विकास गर केटा हो, जसले रोपेको होस् फूल फूलै हो । पूmलले सौन्दर्य र सुवास दिन्छ । पूmल प्रकृतिको आशीर्वाद हो । चाडबाड संस्कार–संस्कृतिको फूल हो । सामान्य नीतिमा पनि एउटा भनाइ छ:
आशीर्वादज्योतिमताम् आशीर्वादमयम् जगत्
यः साधयेत् स्वयम् ज्योतिस्तमसो दर्शनम्ं कुतः ।

अर्थात् जससँग अरुलाई बाँड्ने आशीर्वादको उज्यालो छ, उसका लागि सारा संसार आशीर्वादमय छ । कसैले आफैँलाई आफ्नो बत्ती बनाएर उज्यालोको विकास गरेको छ भने अँध्यारो उसका अगाडि पर्नै सक्दैन ।’ बाजेका यस्ता कुरा घत लाग्दा थिए । साँझ परिसकेको थियो । फेरि आउने बाचासाथ सबैलाई अभिवादन गरेर घर फर्कें । फर्कंदा सोचेँ, ‘दशैँ आयो र यता आउने मौका जु¥यो ।

यस्ता अनमोल रत्नलाई भेट्ने, सुन्ने मौका मिल्यो । एक दिन फेरि सुन्न जान्छु ।’ फटाफट हिँडेर घर आइपुगेँ । घरमा गजाधर पण्डितजी मलाई नै पर्खिबस्नुभएको रहेछ । ‘वर्षौं बाहिर बसेर फर्केको । दशैँमा मावली, ससुराली, फुपू, मीतबा, मितिनी–आमा सबै हिसाब गर्दा झन्डै ३० घरजतिमा टीका थाप्न जानु छ । भोलिबाट दशैँको जोडजाममा पनि लाग्नु छ । यसपाला बाहिरबाट बाबु–नानीहरु पनि आएका छन् ।

फुर्सदै छैन । बाबु आउनुभएको सुनेँेँ । नभेटेको धेरै वर्ष भयो । नआई चित्तै बुझेन । समय निकालेर आएँ । आफ्नोे बालक बेलाका अनुभूति सम्झनाको एउटा चिर्कटो लेखेको छु । पहिले त्यो सुनाऊँ अनि अरु कुरा गरौँला ।’ धाराप्रवाह शैलीमा यति भन्दै पण्डितजीले खल्तीबाट कागत झिकेर यसरी वाचन थाल्नुभयो:
‘हजुरबा हजुरआमा आमाजस्तै फुपू दिदी
ठूलाबा र ठूलीआमा दाइ भाइ दिदी गरी ।
परिवार थियो भव्य दुई घर टनाटन
बुबा युवा हुनुहुन्थ्यो, कठै ती दिन गैगए ।
बोडी कति मीठो हुन्थ्यो, काँक्रा फर्सी कति कति
लटरम्म फलिदिन्थ्यो कन्तरै पनि ओखती ।
के हुन्थेन र बारीमा बेसार अदुवा उखु
अम्बा कति मीठो फल्थ्यो कठै ती दिन गैगए ।
कति मीठो नरम हुन्थ्यो बयेर्नी धान चामल
छाँटाको स्वादिलो दाल, हाँस्थे जाँतो र ओखल ।
के थिएन र गाउँमा माया र ममता थियो
जो भेट्यो त्यो खुसी हुन्थ्यो, कठै ती दिन गैगए ।
दशैँ त भव्यमा भव्य जता हे¥यो रमाइलो
हिमालको काखमै हो घर आँगन घमाइलो ।
आउने जनको घुइँचो चित्तचाहिँ फराकिलो
जताततै शुभाशिष, कठै ती दिन गैगए ।
मालभोग कपुरे केरा जे खायो गुलियो त्यही
दही कति मीठो हुन्थ्यो त्यस्तै मीठो हुने मही
घिउ त जति नै खाऊ स्वादिष्ट र सुगन्धित
खानामा स्वर्ग भेटिन्थ्यो, कठै ती दिन गैगए ।’

पण्डितसँगै कुरा गरी बस्नुभएका मेरा काका–काकी यो कविता सुन्दा आँसु झारेरै रुनुभयो । मेरा आँखा पनि चिम्सरा भए ।
१५ दिन दशैँको गाउँ बसाइमा यसपालि म झन्डै १० गाउँ घुमेँ । गाउँहरु युवाविहीन भएको र माटो उत्पादनविहीन भएको स्पष्ट देखेँ । अनि के पनि अनुभव गरेँ भने, युवाहरुले विदेशमा रगत–पसिना पोखेर पठाएको कमाइ जसलार्ई यहाँ रेमिट्यान्स भन्छन् ।

त्यो पनि बजारको बाटो फटाफट विदेशतिरै कुलेलम ठोकिरहेको देखेँ । मुलुकको आफ्नो उत्पादन नभएपछि रेमिट्यान्सले मुलुकभित्र बस्ने एउटा पराले गुन्द्री पनि नपाउँदो रहेछ । अनि मुलुक तन्नम गरिब किन नहुनु ? विदेशीहरु मिसनमा, नेताहरु कमिसनमा । देश र जनताको वास्ता कसले गर्ने ? यति हुँदा पनि नेपालमा नेपालीका चाडबाडहरु रसिला, हँसिला छन् । आशीर्वादमय दशैँ छ । आयुद्र्राेणसुते श्रियो दशरथे पाखापखेरा गुन्जिँदै छन् ।

मैले यसपाला धेरै बूढापाका भेटेँ । युगान्तकारी अनुभवहरु धेरै सुनेँ । मर्मभेदी कथाहरु सुनेँ । धेरैबाट आशीर्वाद पनि थापेँ । दशैँको टीका आशीर्वादमा नेपालको मौलिकपन र साझामन पहिले सोच समझमा थियो । अहिले अनुभव र अनुभूतिमै भेटेँ । नेपाली हुनुमा थप गौरवको अनुभूति भयो ।

कुनै एक सन्की शासकले कुनै एक कालखण्डमा कुनै व्यक्ति वा व्यक्तिहरुमाथि अत्याचार ग¥यो भनेर युगानुयुगसम्म समुदायलाई नै दण्डित गर्नु नेपालको विवेक परम्परा होइन । इतिहासका नाममा कल्पित काँटी खोजेर समुदाय–समुदायमा झगडाको खेती सञ्चालन गर्ने विदेशीहरुको षड्यन्त्र देशभक्त नेपालीहरुले नबुझेका छैनन् । नेपालीहरु विवेकशील छन् । क्षमाशील छन् ।

अझ मूल कुरा नेपालीहरु देशभक्त छन् । नेपालीहरुको मनमुटु विखण्डनकारी छैन । नेपालीहरु आजसम्म मिलेरै आए । अनन्तसम्म मिलेरै जान्छन् । नेपालीहरुबीच मेलमिलापको जरा कसैले उखेल्नै नसक्ने किसिमले माटोमा फिँजिएको छ । पैmलिएको छ । यही नै नेपालको आयुष्मान् भविष्य हो । बहुश्रुत वयोवृद्ध विद्वान् लालवीरहरुको निष्कर्ष व्यापक नेपाली जनजीवनकै साझा निष्कर्ष हो ।

नेपाल उदाउँदा सूर्य र हँसिला चन्द्रमाहरु मन पराउनेहरुको देश हो । गुराँस मन पराउनेहरुको देश हो । जीवन्त हरियाली मन पराउनेहरुको देश हो । सगरमाथाको उच्चता र बुद्धको बोधमा परिपक्व हुँदै आएको देश हो । आत्मदीपो भव भन्नेहरुको देश हो । यात्राजात्रा, चाडपर्व, बन्धुबान्धव, इष्टमित्र, सतिथि–अतिथि, नाता–सम्बन्ध मन पराउनेहरुको देश हो । मेलमिलाप मन पराउनेहरुको देश हो ।

बत्ती निभाउन होइन, बत्ती बाल्न र उज्यालो पैmलाउन चाहनेहरुको देश हो । आज शासकहरुले नेपालीत्व मार्न र प्रकृतिलाई मिसनरीहरुको बल्छीमा पार्न नेपाललाई योजनाबद्धरुपमा बूढो बनाएका छन् । युवा हात–पाखुरा र मन मस्तिष्कहरुलाई परिबन्दमा पारेर विदेशतिर लखेटेका छन् ।

आशा गरौँ, जनचेतना बिम्झेपछि देशमा पुनः नयाँ घामहरु उम्रन्छन् । विदेशिएका युवाहरु पनि छातीमा नयाँ–नयाँ घाम बोकेर ओजस्वी, ऊर्जस्वी, यशस्वी बन्दै स्वदेश फर्कन्छन् । नेपाल पुनः युवा बन्छ । पुनर्जागृत नेपालीत्वमा नेपाल युगानुयुग बाँचिरहन्छ । नेपाल मर्दैन । नेपालले युगौँदेखि दशैँको आशीर्वाद पाएको छ, आयुद्र्रोणसुते…. !