इजरायल घटनाले २० वर्ष अघिको इराक काण्ड सम्झायो



इजरायलमा हमास विद्रोहीको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको ज्यान गयो । अपहरण गरेर हमास विद्रोहीले साथै लगेका विपीन जोशीको अवस्था अझै प्रष्ट छैन । भर्खरैको घटना भएपनि नेपालमा धेरैले यसलाई विर्सिसकेको जस्तो देखिन्छ । भूकम्पले भएको जनधनको क्षतिदेखि दुर्गा प्रसाइको आन्दोलन जस्ता विषयले इजरायलमा भएको विद्यार्थीको हत्याको विषय छांयामा पर्दै गएको छ । यस्ता घटनावाट नेपालले न त विगतमा सिक्यो न त सिक्ने जस्तो नै देखिएको छ ।

देशभन्दा टाढा भएकोले होला, इजरायलमा नेपालीहरु मारिएको विषयले मलाइ दुखाइरहेको छ । विपिन रिहा भइ हाल्छन कि भनेर छिनछिनमा सञ्चार माध्यममा आंखा पर्छन । नेपालमा नै यथेष्ट रोजगारी सिर्जना गर्न सकेको भए नेपालीहरु विदेशमा काम गर्न जानु पर्ने थिएन, आतंककारीहरुको आक्रमणमा मारिनु पर्ने थिएन जस्तो लागिरहन्छ । इजरायल घटनाले मलाइ यतिवेला २० वर्ष अघिको इराक घटना सम्झाइरहेको छ, जहां १२ जना नेपाली कामदारहरुलाई आतंककारीहरुले क्रुर ढंगले मारेका थिए । त्यो समय म सक्रिय पत्रकारितामा थिए ।

अगष्ट २०, २००४ अपरान्ह । म सोल्टीमोडस्थित नेपाल समाचारपत्रको कार्यालयमा थिए । मित्र गजेन्द्र वुढाथोकीले आत्तिएर आफ्नो टेवलमा वोलाउनुभयो । गजेन्द्रजी सदैव कम्प्युटरमा रमाउने मान्छे । फुर्सद हुनासाथ इन्टरनेटमा केही न केही खोजेर वस्ने वानी थियो (स्पाइनल कर्डमा चोट लागेर अहिले गजेन्द्रजीको कम्मरमुनिको भाग चल्दैन तर पनि उहां पत्रकारितामा उत्तिकै सक्रिय हुनुहुन्छ) ।

दाइ, यहां हेर्नु न, १२ जना नेपाली इराकमा अपहरणमा परेछन्, गजेन्द्रजीले कम्प्युटरको स्क्रिनतिर देखाउंदै भन्नुभयो ।
स्क्रिनमा भिडियो चलिरहेको थियो । म अझै त्यो दृश्य सम्झिरहेको छु, जहां आतंककारीहरुले अपहरण गरेका अनुहार छोपिएका १२ जना नेपाली थिए जसमध्ये एकजनाले नेपालीमा नै जीवन रक्षाका लागि अपिल गरिरहेका थिए । भाषा पनि प्रष्ट वुझिने गरी थिएन । अनुहार ढाकिएकोले नेपाली नै हुन् वा फेक भिडियो हो भन्ने प्रष्ट थिएन । हामीलाई यो खवरको पुष्टि गर्नुथियो । संसद, सरकार र राजनीतिक दलहरुको समाचार कभर गर्ने भएकोले मन्त्रीहरुसंग अलि वढी निकटता थियो । वुझ्ने प्रयास गरे । कसैले पुष्टि गरेनन् ।

रिपोर्टिङका क्रममा धेरैजसो सहकर्मी टंक पन्त र दिपक रिजालसंग जोडिने गर्थे । टंक सर त्यो दिन कार्यालय आइसक्नु भएको थिएन । दीपकजीले नेपाल छाड्नु भएको महिना दिनभन्दा वढी वितिसकेको थियो । दीपकजीले नेपाल छाडेको विषयलाई जनआस्थाले समाचार नै वनाएको थियो । हाजिरी कपीमा उहांको नाम त थियो तर छड्के पारेर पुरै काटिएको । यसको भिन्नै पाटो छ । म र टंक सर वाहेक कसैसंग पनि दीपकको सम्पर्क थिएन । दीपकजी त्यसवेला जोर्डनमा हुनुहुन्थ्यो ।

कार्यालयको सम्पर्कमा नै नभएको मान्छेसंग कार्यालयको फोनवाट सम्पर्क गर्न सम्भव भएन । कार्यालय वाहिर गएर अन्तराष्ट्रिय कल गर्न गोजीमा पैसा छैन । के गर्ने ? रोयटर्सका नेपाल संवाददाता गोपाल शर्मासंग सहयोग मागे ।सर, लाहुरेलाई यो फोन नम्वरमा कल गरेर मलाई फोन गर्नु भन्नुन, मैले अनुरोध गरे । हामी दीपकजीलाई अनौपचारिक रुपमा वोलाउंदा लाहुरे भन्छौं । दीपक धेरै विदेश जाने भएकोले उहांलाई गोपाल सरले लाहुरे नाम दिनुभएको थियो । कुनै कुनै महिनामा त दीपकको लागि नेपाल ट्रान्जिट जस्तो मात्रै हुने गर्छ । विदेश उडिरहन्छ । केही मिनटमा नै दीपकको कल आयो । मैले नेपालीहरु अपहरण परेको कुरा सुनाए ।

म वुझ्दैछु गुरु, दीपकजीले संक्षेपमा भन्नुभयो, आधा घण्टा दिनु म पत्ता लगाएर भन्छु । सकेसम्म काम नै सुरु नगर्ने, काम सुरु गरेपछि फत्ते गरेरै छाड्ने दीपकजीको वानीको वारेमा मलाई राम्रो जानकारी छ । आधा घण्टा नवित्दै दीपकजीको कल आयो ।
मुनलाइट कन्सल्टेन्सी भन्ने मेनपावरले ल्याएका नेपालीहरु रहेछन्, दीपकजीले भन्नुभयो, जोर्डनवाट स्थलमार्गवाट इराक छिराउने क्रममा अमान टु जोर्डन हाइवेवाट उनीहरुलाई हिजो अगष्ट १९ मा जमात अन्सार अलसुना नामक आतंकारी संगठनले अपहरण गरेको रहेछ ।

दीपकजीले मुनलाइट कन्सल्टेन्सीका प्रल्हाद गिरीले जोर्डनमा सेफ, क्लिनर र निर्माणमा काम गर्ने भनेर ल्याएका ती नेपालीलाई जोर्डनवाट इराक पठाएको जानकारी गराउनुभयो । दीपकजीले दिएको सुचनामा शंका गर्नुपर्ने ठाऊं रहेन । दीपकजी महिनौदेखि त्यही विन्दुमा हुनुहुन्थ्यो जहांवाट नेपालीहरुलाई इराक पठाइन्थ्यो । तिनै व्यक्तिहरुसंगको उठवसमा हुनुहुन्थ्यो, जसले नेपालीहरुलाई इराक पठाउंदै आएका थिए ।

दीपजीले टिपाएका नाममा सञ्जय कुमार ठाकुर, वुदन कुमार साह, ललनसिंह कोइराला, मनोजकुमार ठाकुर, झोकवहादुर थापा, जीतवहादुर थापा, रमेश खड्का, मंगलवहादुर लिम्वु, विष्णुहरि थापा, राजेन्द्र कुमार श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ र प्रकाश अधिकारी थिए । अपहरणमा परेकाहरुमध्ये राजधानी नजिक ललितपुर लेलेका एकजना थिए । उनको घरमा आफैं जाने निर्णय गरे । जनकपुरको रिपोर्टर माधवजीलाई पनि फोन गरेर उहांको निकटको ठाऊमा जान आग्रह गरे । अपहरणमा पर्नेहरुको घरमा जान सोही दिन सम्भव थिएन किनकी सांझ पर्न लागिसकेको थियो ।

सांझ पर्न लागेकोले मोटरसाइकलमा जान सम्भव थिएन । लेलेको लोकेशनको वारेमा मलाई पनि ज्ञान थिएन । ललितपुरको वारेमा अलि धेरै जानकारी राख्ने सहकर्मी ईश्वरराज ढकाल तुरुन्त जान राजी हुनुभयो । उहांले लेलेको वारेमा जानकारी राख्ने पुराना पत्रकार रामकृष्ण कर्माचार्यलाई संगै जान आग्रह गर्नुभयो । लेले जान गेटमा पुग्यौ । कार्यालयमा गाडीको चालक समेत रहेनछ । फोटो पत्रकार रवि मानन्धरले कार्यालयको पुरानो भ्यान चलाउने निर्णय लिनुभयो । जाउलाखेल नजिकवाट रामकृष्ण दाइलाई गाडीमा हाल्र्यौ ।

हामी लेले पुग्दा रातको दश वजिसकेको थियो । अकस्मात गाडीको टायर पन्चर भयो । रविजीले टायर फेर्न खोज्नुभयो, गाडीमा जग पनि रहेनछ । मध्यरात भइसकेको छ। नजिकका दुइतीन वटा घरमा पुगेर रामकृष्ण दाइले मान्छे वोलाउनुभयो । गाडीको एउटा पाटो जुरुक्क उचाल्यौ । रविजीले टायर फेर्नुभयो । फोटो पत्रकार भएपनि साढे एघार हुंदा अपहरमा परेका व्यक्तिको घरमा पुगियो । जोर्डनवाट इराक जान्छौ भनेका रहेछन् र इराक प्रवेश भएदेखि कुराकानी नभएको वताए । उनीहरुले अप्रिय अवस्थाको आकलन गरिसकेका थिए । रुवावासी थियो । हामी गएपछि गाऊभरीका मानिसहरु आए । मध्यरातमा हामी चिन्ताग्रस्त परिवार र गाऊलेहरुको तस्विर र समाचार लिएर आयौं ।

भोलिपल्ट नेपाल समाचारपत्र मात्रै एउटा यस्तो अखवार वन्यो, जसले अपहरणमा परेकाहरुको नाम र ठेगाना छापेको थियो, परिवारजनको चिन्तालाई स्थान दिएको थियो । नेपालीहरु अपहरणमा परेको कुराले मन पिरोलिरहेको थियो तर एउटा कुराले मनमा आनन्द भएको थियो । हाजिरी कपिवाट च्वारर नाम काटिएको दीपकजीको नाममा समाचार छापिएको थियो । दीपकजी नेपाल आउनु भयो भने अव संगै काम गर्न पाइन्छ भन्ने आशा जागेको थियो ।

नेपाल समाचारपत्रमा समाचार आएपछि परराष्ट्र मन्त्रालयले दिउसो १२ वजेतिर खण्डन गर्यो, समाचारमा आएजस्तो कुनै पनि नामको पुष्टि भएको छैन । दुइजना सहकर्मीहरुले खिसीट्युरी समेत गरे, सिएनएन वीवीसीले भेट्टाउन नसकेको समाचार नेपाल समाचारपत्रले भेट्टाएछ । ती मित्र लगातार सिएनएन र वीवीसी हेरिरहेका थिए तर दीपकले जोर्डनवाट न्युज व्रेक गरिदिएको थियो । ममा तनावको सीमा रहेन । यत्रो समाचारको पुष्टि हुन सकेन भने कसरी मुख देखाउने होला ? दीपकजीलाई फेरि नेपाल समाचारपत्रमा फर्काउन सकिन्छ भन्ने आशा पनि समाप्त हुने थियो ।

तनावमा वसिरहेको वेला गजेन्द्रजी चिच्याउनुभयो, दाइ अपहरणमा पर्नेहरुको नाम आयो । दौडिएर गए, हेरे । नाम पढ्नै सकिन । अरविकमा पो रहेछ । परेन फसाद । छटपटी भयो । नाम मिल्ला कि नमिल्ला ? मनमा एउटा आशा सञ्चार भएको थियो । जे भए पनि अपहरणमा पर्नेहरुको नाम आयो । छटपटी थियो, नाम मिलेन भने गलत समाचारको क्षतिपूर्ति कसरी गर्ने ? ती परिवार र त्यो समुदायलाई गलत समुदायवाट पुगेको आघातलाई कसरी पुर्ताल गर्ने ?

सहकर्मी जयराम सुवेदीलाई लिएर लिएर दरवारमार्ग स्थित जामे मस्जिदतर्फ दौडिए । अरविकलाई नेपालीमा अनुवाद अन्यत्र संभव थिएन । जामे मस्जिदमा अनुवादक भेटिएनन् । सवै परिस्थिति जानकारी गराएपछि त्यहां भेटिएका व्यक्तिले अनुवादकलाई फोन गरे । ट्याक्सी भाडा तिरिदिने वाचा गरेपछि अनुवादक ट्याक्सी चढेर १५ मिनेटमा नै त्यहां आइपुगे । नाम अनुवाद गरिरहंदा मेरो मुटु यति तीव्र धड्किएको थियो, अझै सम्झन्छु ।

सवै नामहरु मिले । सही समाचार सम्प्रेषण गरेकोमा ढुक्क भयो । वीवीसी र सीएनएन हेरेर नाम पर्खिरहेका मित्र अलि चांडै अफिसवाट निस्किएछन् । पहिला हाम्रो समाचारको खण्डन गर्ने परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति मार्फत हाम्रो समाचारलाई पुष्टि गर्यो । नेपाल सरकारको दौडधुप वढ्यो । दीपकजीको पनि व्यस्तता वढ्यो । त्यो वेला वीवीसी र सीएनएन दीपकजीको पछि लागेका थिए । केही दिन त वीवीसी नेपाली सेवामा दीपकजीको अन्तर्वार्ता आइरह्यो । नेपाल सरकारले अपहरणमा परेका १२ जना नेपालीहरुको जीवनरक्षाका लागि अगष्ट २३ मा अलजजिरा टेलिभिजनवाट आह्वान गर्यो । नेपालीहरुको जीवनरक्षाका लागि नेपाल सरकारले इराक सरकारलाई समेत अनुरोध गर्यो ।

अगष्ट ३१ को सांझमा गजेन्द्रजी चिच्याउनुभो, दाइ, आतंककारीहरुले नेपालीलाई मारेछन् । दौडिएर गजेन्द्रजीको टेवलमा गए । कस्तो त्रासदीपूर्ण भिडियो । वाह्र मध्ये एक नेपालीको टाउको छिनाइएको थियो, एघार जनालाई गोली हानिएको थियो । छाती ढक्क फुल्यो । आंखा भरिएर आए । वोली प्याट्टै फुटेन । समाचार आगो सरी जनमानसमा फैलिसकेको थियो । समाचार लेखेर राति घर फर्कदा मानिसहरुमा वढेको आक्रोस मैले महसुस गरिसकेको थिए । केही अप्रिय घटना हुन सक्छ ।

रतन ऐरलाई कल गरे । रतनजी प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो । रतनजी, भोलिलाई कफ्र्यु जारी गर्नु उचित हुन्छ, जनआक्रोस तीव्र देखेको छु, थापाथली आसपासमा राति नै टायर वल्न सुरु भइसकेको थियो । म वुढालाई अहिले नै भन्छु, (रतनजी हामीसंग अनौपचारिक कुराकानीमा तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवालाई वुढा भनेर सम्वोधन गर्नुहुन्थ्यो) । राति ११ वजेतिर रतनजीसंग कुराकानी सिध्याएर म घर गएर सुते । म उठ्दा देश जलिसकेको थियो । जनआक्रोसको निसामा अधिकांस मेनपावर कम्पनी परेका थिए र तोडफोड भइसकेको थियो । तोडफोडमा उत्रिएकाहरुले लुटपाट समेत गरेका थिए । सञ्चार माध्यम कान्तिपुर पव्लिकेशन र स्पेसटाइमको कार्यालय र सवारीमा समेत तोडफेड भएको थियो । एकै दिनमा अर्वौको क्षति भयो ।

प्रदर्शन नियन्त्रणका क्रममा दुइजना नेपालीहरुको ज्यान गयो । स्थिति सामान्यीकरणका लागि कफ्र्यु लगाउनु पर्यो । कफ्र्युका वीचमा प्रधानमन्त्री देउवाले सम्पादकहरुलाई भेट्न वोलाउनुभयो । अरु पत्रिकाका सम्पादकहरुलाई तीन वजे वोलाइएको रहेछ । रतनजीले मलाई साढे दुइमा नै वोलाउनुभयो । प्रधानमन्त्री देउवा, स्वकीय सचिव ऐर, प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, र म गफ गरेर आधा घण्टा वस्यौं । प्रधानमन्त्री देउवा वेचैन हुनुहुन्थ्यो ।

किशोरले हिजो राति नै कफ्र्यु लगाउन भनेको थियो, सुरक्षा निकायले मलाई गलत व्रिफिङ गरे, प्रधानमन्त्री देउवाले भन्नुभयो । पुष्कर सरले मलाई त्यो क्षणमा अत्यन्त विश्वासका साथ हेर्नुभएको थियो । त्यो क्षणसम्म मलाइ रतनजीले मेरो आंकलन प्रधानमन्त्रीलाई सुनाउनु नै भएन कि भन्ने लागिरहेको थियो तर उहांले आफ्नो कर्तव्य पुरा गर्नुभएको रहेछ । तत्कालिन राजा ज्ञानेन्द्र र रानी कोमलले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै हत्यावाट आफुहरु स्तव्ध भएको वताएका थिए । भारतीय प्रधानमन्त्री मनमोहन सिंह, अमेरिकी विदेशमन्त्री कोलिन पावेल लगायत संसारका धेरै देशका राज्यप्रमुख वा सरकार प्रमुखहरुले यो हत्याको निन्दा गरेका थिए ।

२० वर्षपछि उस्तै घटना दोहोरिएको छ । नेपालीहरु रोजगारीका लागि त्यो समयमा भन्दा अहिले झन् खतरापूर्ण मुलुकमा जानु परिरहेको छ । २० वर्षअघि जोर्डनवाट रिपोर्टिङ गर्नुभएका दीपकजी अहिले सम्पादकको हैसियतमा रहेर नेपाल समाचारपत्र दैनिकमा नै नेपालीहरु मारिएको समाचार लेखिरहनु भएको छ । नेपालीहरुको यो नियति कहिले रोकिएला ? सरकारको वुद्धि कहिले फिर्ला ?

प्रतिक्रिया दिनुहोस्