मधेशमा सानो कुरामा नै हत्या 

0
Shares

वीरगन्ज। 

असोज र कात्तिक मध्यसम्मको दिनको गणना गर्ने हो भने पर्सामा कम्तीमा तीनजना कर्तव्य ज्यानका घटना भएका छन् । प्रहरीका अनुसार ती सबै सामान्य कारणले विवाद हुँदा हत्या सम्म पुगेको छ । दशैं अगाडि जगरनाथपुर गाउपालिकामा एक महिलाको हत्या भयो,कारण थियो चोरी गर्दै गरेको अवस्था । चोरी गरिरहेको अवस्थामा ती महिलाले चोरहरुलाई देखेपछि आफ्नै जेठाजु पर्नेले हत्या गर्‍यो । वीरगन्ज १४ कै एक महिलाको हत्या भयो,आफ्नै पति र सौता मिलेर ती महिलाको सामान्य घरायसी विवादमा हत्या गरे ।

 गत सोमबार बाराको कलैया उपमहानगर ६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानेर हत्या भयो । सोमबार मध्याह्न घर नजिकैको होटेलबाट चाउमिन बोकेर फर्किंदै गर्दा स्कुल नजिकै उनीमाथि चार जनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेका थिए । यद्यपि उनको हत्यामा संलग्न रहेको अभियोगमा बारा प्रहरीले बुधवार एक महिला सहित 5 जनालाई सार्वजनिक गर्‍यो ।

घटनामा ठूलो अपराधिक समूहको संलग्नताको आशङ्का गरियो, विगतमा बारा र पर्सा क्षेत्रमा भारतीय अपराधीहरुले धेरैको ज्यान लिएका थिए,अब तीनै अपराधी फेरि सल्बलाए कि भन्ने चिन्ता पनि बारा र पर्सामा पर्यो। तर, प्रहरीको अनुसन्धानले अर्को नै मोड लियो र बिहेत्तेर सम्बन्ध अथवा झट्ट सुन्दा निकै सामान्य विषयले सरार्फको ज्यान गयो ।

 चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा मात्र मधेश प्रदेशका आठवटा जिल्लामध्ये बारामा सबैभन्दा बढी ८ हत्याका घटना भएका छन् । हत्यामा सम्बन्ध र आर्थिक कारण प्रमुख देखिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेको तर्क छ।  यही कार्तिक ९ गते साँझ महोत्तरीको पिपरा गाउँपालिका ५ का स्थानीय जगदिश साहको खेतमा रक्ताम्मे अवस्थामा एक १९ वर्षे युवक मृत भेटिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे । अनुसन्धान थालेपछि सो शव पिपरा गाउँपालिका–५ हर्दिया टोलका आशिक भनिने १९ वर्षीय वसन्त पासवानको भएको सनाखत भयो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले त्यसैदिन राति भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगर घर भएका १९ वर्षीय दीपक मलिक र मधुवनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकलाई पक्राउ गर्‍यो । त्यो घटनामा पनि एक सुन जस्तो देखिने बस्तुका कारण ती युवकको हत्या भयो । त्यो बस्तुको मुल्य केवल एकसय जति पर्दथ्यो ।

 चालु आर्थिक वर्षको तीन महिनामा मात्र मधेश प्रदेशको आठ वटा जिल्लामा ३८ जनाको हत्या भएको मधेश प्रहरी कार्यालयको तथ्यांकमा देखिएको छ ।जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा कार्तिक ९ गते बिहान अन्दाजी २४ वर्षीय युवक मृत भेटिए । उनको टाउकोमा घाउचोट थियो । हत्या हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थाले । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोलीबाट समेत प्रहरीले अनुसन्धान थालेको थियो । मृतक युवकको सनाखत भयो, उनी थिए जनकपुरधाम उपमहानगरपालिका २० सोनापाडा बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महरा ।प्रहरीले अनुसन्धान गर्दै जाँदा साथीबाटै रुपेशको हत्या भएको पुष्टि भयो । उनको हत्या कुनै ठूलो विवाद वा योजनाबद्ध नभई लागूऔषध सेवनपछि मोबाइलको विवादमा भएको धनुषा प्रहरीको निष्कर्ष छ ।

 यो आर्थिक बर्षको असोज सम्ममा  बारामा ८ जना, सप्तरीमा ७ जना, पर्सा र सर्लाहीमा ५–५ जना, धनुषा र रौतहटमा ४–४ जना तथा महोत्तरी र सिरहामा २–२ जनाको हत्या भएको छ ।समाजमा हिंसाका घटना हुनुको पछाडी असन्तुष्टि,विवाद,लागू औषध रहेको र जसले समाजमा त्रासको भावना सृजना भएकाले यस्ता कुराहरु निरुत्साहिक गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।