होटल व्यवसायी रामबहादुरको हत्या भएको दाबी

अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पीडितको गुनासो 

0
Shares

बुटवल। 

आठ महिनाअघि शङ्कास्पद रुपले मृत अवस्थामा फेला परेका होटल व्यवसायी गुल्मीका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको भन्दै परिवारले गुनासो गरेका छन् । गत फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शङ्कास्पद रुपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पीडित परिवारले गुनासो गरेका हुन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी रामबहादुरको बुटवल ६ पुरानो बुटवल चलचित्र हलको पछाडितिरबाट दिपनगर डेरातर्फ जानेक्रममा हत्या भएको र आफ्नो श्रीमानको शङ्कास्पद रुपमा मृत शरीर फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले चिन्ता व्यक्त गरेकी छन् । मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरुसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको आरोप लगाएकी छन् ।

पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घरभई बिगत ६ वर्षदेखि होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ बर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए । रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक व्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।

एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शङ्कास्पद निधनले परिवारमा ठुलो विपत्ति परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै आपत्ति जनाएकी छन् । उनी भन्छिन्—सिसिटिभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लादै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको जस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।

पीडित श्रीमती रानाले अगाडी भनिन्—हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हो  स्थानीयले थाहा पाउनु पर्ने हो, प्रहरीले पनि थाहा पाउनु पर्ने हो, अनुसन्धानका लागि केही आधार र प्रमाणहरु हुँदाहुँदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ, अव त हामीले न्याय पाउदैनौ कि जस्तो लाग्न थालेको छ । आफुहरु गरिब र असहाय भएका कारण बोलीदिने मान्छे कोही नभएका कारण अन्यायमा परेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले प्रहरीले आफ्नो तर्फबाट गर्ने हरेक प्रकारका अनुसन्धान गरेको बताए। अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने दाबी गर्दै शङ्कास्पद मान्छेहरुलाई सोधपुछ गरिसकेको प्रनाउ थापाको कथन छ । पोष्टमार्टम रिर्पोटमा मदीरा सेवन गरी  लडेर मृत्यु भएको देखाएको बताइएको छ  ।

बुटवलका होटल तथा रेस्टुरेन्ट व्यवसायी खगेन्द्र पौडेलले व्यवसायीमाथि अन्याय, अपराध र आक्रमण हुँदा राज्यपक्ष गम्भीर नहुनु दुःखद कुरा भएको बताए।

यता होटल व्यवसायीको शंकाष्पद हत्या भएको ८ महिनासम्म पनि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीलाई आफनो सदस्य व्यवसायीको घटनाको बारेमा जानकारी समेत छैन । जानकारी समेत नभएको संस्थाले पीडित परिवारलाई न्याय दिलाउने सवालमा पहल कदमी  गर्ला  भनी सोच्नु नै बेकार हुनेछ । निर्वाचनको समयमा भोट चाहिने तर व्यवसायीको हत्या हुन् हुँदासमेत कानुनी उपचारमा सहयोग हुँदैन भने त्यस्ता संस्थाको सदस्य बनी रहनु र सदस्य बाफत रकम हरेक वर्ष तिर्नु मात्रै व्यवसायीको कर्तव्य होला की सोचनीय विषय रहेको छ ।