प्रधानमन्त्री प्रचण्डलाई ३२ संस्थाले बुझाए ज्ञापनपत्र 

अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग 

0
Shares

बुटवल ।

निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लुम्बिनी आएका भएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामीत्व रहेको नेपाल वायुसेवा निगमको जहाजहरुबाट उडान भर्न अपिल गरेका हुन्  ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडानहरु थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटी लगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए।

लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भीर रहेको र यसबारे थप छलफल काठमाडौँमा हुने आश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिए । त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।