दसैँमा ६ सय बढी सवारी कारबाही, ६ लाख बढी राजश्व सङ्कलन

0
Shares

 रामेछाप ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले दसैँ अवधिभरमा ६ सय बढी सवारी कारबाही गरेको छ । कात्तिक १ गते देखि ११ गते सम्म ६ सय ५० सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताए ।

दसैँका बेलामा कारबाहीमा परेका सवारी साधनबाट ६ लाख ५० हजार रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन भएको छ । यो सहित चालु आर्थिक वर्षको हालसम्म रामेछापमा ट्राफिक नियम विपरीत सञ्चालन भएका दुई हजार ३३५ वटा सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिना देखि कार्तिक ११ गतेसम्म कारबाहीमा परेका दुई हजार ३३५ वटा सवारीबाट २२ लाख ३७ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको छ ।

चौँलागाईका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ट्राफिक नियम विपरीत सञ्चालन भएका ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । रामेछापमा दसैँको बेलामा मापसे चेकजाँच, क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी माथिको विशेष निगरानी लगायत ट्राफिक व्यवस्थापनमा कडाइ गरिएकाले अप्रिय सडक दुर्घटनाका घटना नभएको ट्राफिक प्रहरी प्रमुख चौलागाईँको भनाइ छ ।

जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई सडक दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उहाँले बताए ।