गोलरक्षक एन्जिलाको जीवनीमा फिल्म बनाउँदै मिलन



महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्म एन्जिलाको छायांकन शुरु भएको छ।

मिलन चाम्सले निर्देशन गर्ने फिल्मको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायांकन आरम्भ गरिएको हो। इलाम, झापा र काठमाडौंमा सुटिङ हुने फिल्ममा माओत्से गुरुङ र एन्जिला स्वयं मुख्य भूमिकामा अभिनय गर्दैछन् भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतले पनि यसमा अभिनय गर्नेछन्।

एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई जोड दिइने निर्देशक चाम्सले बताए। सफल खेलाडी बन्नु अगाडि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भए असम्भव भन्ने केही नहुने सन्देश फिल्मले दिने चाम्सले बताए। चाम्सले फिल्मै एन्जिलाको बायोपिक नभए पनि ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने बताए।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्ममा देखाइने बताए। १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्। सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन्। तर, उनी २ वर्ष बेन्चमै सीमित भइन्। त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन्। एन्जिला पल्सर स्पोर्टस् अवार्ड २०७७ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन्।

एन्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्डसम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन्। यसैगरी, उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन्।

उनी साफको सिल्भर मेडलिस्ट गोलरक्षक हुन् भने श्रीलंकामा सम्पन्न साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलंकालाई जितेर पहिलोपटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन्। पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो।

फिल्ममा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथामा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन्। सुदीप बरालको डिओपी रहने यसका सम्पादक मिलन श्रेष्ठ हुन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम कुमार श्रेष्ठद्वारा निर्माणाधीन फिल्ममा विनोद अग्रवाल र राजेश बागादिया सह–निर्माता छन्।

प्रतिक्रिया दिनुहोस्