हमासको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई विद्यार्थीको शव पहिचान

0
Shares

काठमाडौँ।

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

यसअघि ८ जनाको शव पहिचान भइसकेको थियो । त्यसमध्ये ५ वटा शव परिवारलाई बुझाइसकिएको छ।

बेपत्ता विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजीको पहल जारी रहेको दुतावासले जनाएको छ।