विमानस्थल नियमित सञ्चालन नभए आन्तरिक उडान रोक्ने व्यवसायीको चेतावनी

0
Shares

बुटवल।

निकै तामझामका साथ एकवर्ष अघि उद्घाटन गरिएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विमानस्थल नियमित सञ्चालन नभए आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी सोमवार भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सञ्जालले विमानस्थल नियमित सञ्चालन गर्नका लागि पटक–पटक सचेत गराउँदा पनि सरकार मौन रहेकाले आफूहरूले सरकारसँग अन्तिम लडाइँका लागि आन्दोलन गर्नु परेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले पत्रकार सम्मेलनमा बताए ।

‘हामीले अरु विरोध गरेका होइनांै, सरकारकै अर्बौँको लगानी रहेको विमानस्थल नियमित सञ्चालन गर्नु पर्‍यो भन्ने मात्र माग हो,’ ज्ञवालीले भने ।
सञ्जालले कार्तिक १४ गते मंगलवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलायन्स लगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका गाउँपालिका लगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटेर ऐक्यबद्धताका लागि आग्रह गर्ने कार्यक्रम तय गरेका छन्  ।

त्यसैगरी आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने रहेका छन् ।

त्यसैगरी दुईदिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि सरकार मौन रहे मंसिर २० गतेपछि आन्तरिक उडान अनिश्चितकालसम्म रोक्ने चेतावनी दिइएको छ ।

यसका लागि विमानस्थल अगाडि गेटमा धर्ना दिने र सीमा नाका बेलहिया समेत ठप्प पार्ने गरी आन्दोेलनका कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारले विमानस्थल निमार्णमा अबौं लगानी गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीहरूले पनि सरकारले भन्दा बढी पर्यटन क्षेत्रमा लगानी गरेको बताउँदै आएका छन् ।
अहिले विमानस्थल नचल्दा व्यवसायीको अर्बौँ लगानी डुब्ने अवस्थामा आएको आन्दोलनका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बताए ।