महासचिव गुटरेस मंगलबार लुम्बिनी आउने

भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारका साथै संयुक्त राष्ट्रसंघसँगको सहकार्य थप मजबुद हुने

0
Shares

बुटवल । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणको तयारी पूरा भएको छ । मंगलबार विहान बुद्ध जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासचिव गुटेरेसको भ्रमण हुने भएको हो । लुम्बिनी विकास कोषले महासचिव गुटेरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको भ्रमणको सबै तयारी पूरा भएको बताए ।
महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए ।

‘महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय हो, गुटेरेसको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’ उनले भने । महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा.लामाले बताए । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकास र सम्बद्र्धनमा थप टेवा पुग्ने विश्वास गरेको उपाध्यक्ष डा. लामाले बताए ।

‘‘प्रधानमन्त्री ज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो, उहाँले यहाँबाट विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’ उपाध्यक्ष डा.लामाले भने ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत विशेष अनुरोध गरेकाले महासचिव गुटेरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।

गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने छ ।
कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार महासचिव गुटेरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, उपाध्यक्ष डा. लामा सहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन् ।

महासचिव गुटेरेस मंगलबार विहान ८: ३५ मा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा विहान ८: ५० बजे लुम्बिनीमा आइपुग्ने कार्यक्रम तय भएको छ । कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि १०: ३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ । महासचिव गुटेरेसले लुम्बिनीमा सालको रुख वृक्षारोपण गर्नेछन् । नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले सरसफाइ, स्वागत सत्कार जस्ता आवश्यक सम्पूर्ण तयारी पुरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ । लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ।
भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

संयुक्त राष्ट्र संघका महासचिवको रुपमा लुम्बिनी भ्रमणमा गुटेरेस  छैटौं व्यक्तिका रुपमा छन् । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उनीसहित गुटेरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन् ।