प्रहरी नै जुवाडे, सई थापा खालबाट पक्राउ

0
Shares

धनगढी। 

कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन्। हिजो आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन्।

थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर  डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रदेश प्रहरी सुदूरपश्चिमका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ।

स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।