दुई स्थानको जिम्मेवारी पाउँदा यताका न उताका भए उपसचिव प्रधान

14
Shares

रौतहट ।

फतुवा विजयपुर नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाउँदा प्रमुख प्रशासकीय अधिकृत विहीन नगरपालिका बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि फतुवा विजयपुर नगरपालिकाका जनप्रतिनिधिहरुनै विभाजित बनेपछि प्रधानले हाजिर गर्न पाएका छैनन् ।

नगर उपप्रमुख ( कार्यबाहक प्रमुख ) अमबेय खातुनले उपसचिव प्रधानको सरुवा चिठीमा गएको असोज २८ गतेनै दर्ता गरेपछि निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका शम्भु यादव जिम्मेवारीबाट मुक्त भएपछि प्रमुख प्रशासकीय अधिकृत विहीन नगरपालिका बनेको जनाइएको छ ।

उपप्रमुख अमबेय खातुन उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराउने पक्षमा छन् भने वडाअध्यक्षहरु प्रधान लाई हाजिर नगराउने पक्षमा रहेका छन् । हाजिर गर्ने वातावरण नबनेपछि सरुवा भएको लामो समय बितिसक्दासमेत उपसचिव प्रधान कार्यालयमा जान सकेका छैनन् ।

 ३ नम्बरका वडाअध्यक्ष रामेश्वर राय यादबका अनुसार उपसचिव प्रधान पहिलेनै कार्यरत रहिसकेको र उनको कार्यकुशलता परिक्षण भइसकेकाले हाजिर नगराउने बताए ।

सो नगरपालिकाको सभा समेत हुन सकेको छैन जसको प्रत्यक्ष मारमा ज्येष्ठ नागरिकदेखि कर्मचारी परेका छन् । यसअघि निमित्तको जिम्मेवारी सम्हालेका शम्भु यादवले जनप्रतिनिधिहरुनै विभाजित भएपछि कार्य गर्न समस्या आएको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव प्रधानलाई वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी दिसेको अवस्थामा कार्तिक १ गते नगरपालिकाकै नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह अधिकृतस्तर छैटौँ तहकारासनारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर जनप्रतिनिधिहरु बीच फाटो ल्याइदिएको छ ।

दुई कार्यालयको जिम्मेवारी पाएका उपसचिव प्रधान यतिखेर यता न उताका बनेका छन् । उनलाई उपप्रमुख संगिता रामको साथ रहेपनि प्रमुख विनोद पटेल विपक्षमा रहेका कारण उनले कार्तिक २ गते हाजिर गरेपनि कार्यालयको दैनिक काम काज गर्न पाएका छैनन् । प्रमुख पटेलका समर्थकले प्रधानमाथि अभद्र व्यवहार र आक्रमणको प्रयास समेत गरेका थिए । निमित्तको जिम्मेवारी पाएका रासनारायण पटेलले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खाता सञ्चालनको अनुमति लिएर साउन महिनादेखि बाकी रहेको कर्मचारीको तलबसमेत खुवाएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख राजन कुमार फुयाँलले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दुई जनाको भएको विषयमा विवाद भएपछि खाता सञ्चालन रोक्का गरी मन्त्रालयलाई जानकारी दिएको बताए । उनका  अनुसार फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका र यमुनामाई गाउपालिकाको खाता सञ्चालन अझै हुन सकेको छैन । शुरु आर्थीक बर्ष बितेको तीन महिना भैसक्दा रौतहटको फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका र यमुनामाई गाउपालिकाका कर्मचारीहरु तलब पाउनबाट वञ्चित भएका छन् ।

सो पालिकाले समयमै सभा र अख्तियारी पत्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेस नगरेका कारण कर्मचारीहरुले तलब पाउनबाट वञ्चित भएका हुन । जनप्रतिनिधिहरुले आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत चाहने भएका कारण पालिकामा बेथिति आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु पनि यस्तो कार्यमा सहयोगी बनिदिनाले समस्या उत्पन्न हुँदै आएको छ ।