अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकता पूरा गर्न आग्रह

0
Shares

काठमाडौँ ।

नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको संयुक्त राष्ट्रसंघले १५ वर्षपछि फेरि शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन जोड दिएको छ ।

एक दशक लामो सशस्त्र युद्ध त्यागेर माओवादी शान्ति प्रक्रियामा आएपछि सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए । त्यतिबेला शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन राष्ट्रसंघीय राजनीतिक निकाय अनमिन नेपालमा कार्यरत् थियो । अहिले १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भ्रमणमा पनि टुंगोमा पुग्न बाँकी रहेको सोही सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाकै विषयको उठान भएको छ ।

आइतबार बिहान १ बजे काठमाडौँ ओर्लिएका महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग दिउँसो सिंहदरबारमा भेटवार्ता गरेका थिए  । भेटवार्तापछि संचारकर्मीहरूलाई गरेको संयुक्त सम्बोधनमा महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यक्ताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको जिकिर गर्दै महासचिव गुटेरेसले भने– ‘संक्रमणकालीन न्यायले पीडित, पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यक्ताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न राष्ट्रसंघ सहयोग गर्न तयार छ ।’

संयुक्त सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको र यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघको महासचिवको हैसियतले गुटेरेसको भूमिका निकै महत्त्वपूर्ण हुने विषयमा छलफल भएको जानकारी दिए । उनले भने– ‘मैले निकै खुशी पनि व्यक्त गरें, सन्तुष्टि पनि व्यक्त गरें कि महासचिव गुटेरेसलाई नेपालको राजनीतिक उतारचढाव पनि थाह छ, शान्ति प्रक्रिया र जलवायु परिवर्तन असरका बारेमा पनि पहिले नै सबै कुरा थाह छ । उहाँले नेपाली सेना र प्रहरीले विश्व शान्तिका लागि खेलेको भुमिकाको मुक्त कण्ठले प्रसंशा गर्नुभएको छ । हामीले पनि हामीले गरेको योगदानअनुसार फिल्डमा पनि र हेड क्वार्टरमा पनि त्यसको उचित सम्मान होस् भन्ने कुरा राख्यौं ।’

उनले भेटमा नेपालको आर्थिक विकास र सम्बृद्धिका बारेमा र नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा पुर्‍याउने लक्ष्य पूरा गर्ने सवालमा छलफल भएको बताए ।

महासचिव गुटेरेसले पनि शान्ति र बहुपक्षीयताका पक्षमा नेपालले गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको जिकिर गर्दै भने– ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो । नेपाल विश्वकै मित्र बनेको छ, विश्वले पनि नेपाललाई सहयोग गर्नुपर्छ ।’ उनले बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिलाभन्दा पनि अझै सान्दर्भिक रहेको टिप्पणी गर्दै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको बताए ।

उनले आफ्नो कुनै संलग्नता नै नभएको कोभिड– १९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको र त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक भएको पनि बताए । उनले भने– ‘जलवायु परिवर्तनले निम्त्याएको भयावह संकटको प्रभाव हेर्न म आफैं हिमालयको भ्रमण गर्दैछु । नेपालले विगत ३० वर्षमा एक तिहाइ हिउँ गुमाएको छ । यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरेहेको छ । समुदायहरूमा यसको विनाशकारी प्रभाव परिरहेको छ । म हिमालयमा बस्ने स्थानीयहरूको कुरा सुन्न र उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष रुपमा बुझ्न उनीहरूलाई भेट्नेछु ।’

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युुनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए । औपचारिक भेटघाटपछि पाटन दरबार स्वायरको अवलोकन गरेका  संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गरेका  रात्रीभोजमा सहभागी भएका थिए ।

जोशीको रिहाइको माग

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको निःशर्त रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि संचारकर्मीहरूलाई गरिएको संयुक्त सम्बोधनका क्रममा उनले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै हराइरहेका जोशीको निःशर्त रिहाईको माग गरेका हुन्  । उनले भने– ‘मध्यपूर्वमा भएको द्वन्द्व हजारौं माइत टाढा भएपछि नेपाली जनताको लागि नजिक छ । म इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको परिवारप्रति समबेदना प्रकट गर्न चाहन्छु । साथै बन्धक बनाइएका विपिन जोशीको सुरक्षित फिर्ता र गाजामा रहेका सबै बन्धकहरूको निःशर्त रिहाको माग गर्दछु ।’

सर्वसाधारण मारिएको कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने टिप्पणी गर्दै महासचिव गुटेरेसले हमासको आक्रमणको निन्दा गरे  । उनले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणको पनि निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुन पालना गर्न आग्रह गरे । उनले भने– ‘२० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएका छन् । उनीहरू असुरक्षित जीवन बिताइरहेका छन् । खाना, पानी, आश्रय र चिकित्सकीय हेरचाह जस्ता अत्यावश्यक चीजहरूबाट वञ्चित भइरहेका छन् । म जिम्मेवार सबै पक्षलाई आफ्नो कदमबाट पछि हट्न आग्रह गर्दछु । आपतकालीन मानवीय युद्धविरामको लागि आफ्नो अपिल पुनः दोह¥याउन चाहन्छु ।’