युसिएमएसका विद्यार्थीको अनशन दुई साता बित्दा पनि जारी

सरोकारवाला निकाय जिम्मेवार नहुँदा बिरामीलाई सास्ती

0
Shares

बुटवल। 

रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीले सुरु गरेको आन्दोलन दुई साता बित्दा पनि माग सम्बोधन नहुदां बिरामीले सास्ती खेप्नु परेको छ ।विद्यार्थीको आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द हुँदा  सेवा ग्राहीले निकै सास्ती भोग्नु परेको हो ।

कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीले प्रिन्सिपलको राजीनामा बाहेकका माग सम्बोधन गर्न तयार रहे पनि विद्यार्थी र प्रशासन बीच सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा लक्ष्मी पाठकको राजीनामालाई पहिलो सर्त बनाएपछि सहमति जुट्न नसेकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।

विद्यार्थीले उठाएका सबै माग सम्बोधन गर्न कलेज तयार भएको छ तर प्रिन्सिपलको राजीनामाको निर्णय हामीले गर्न मिल्दैन–गुरुङले भने ।
आवासीय चिकित्सकहरुले समेत विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै विरामीको उपचार नगर्दा विरामीहरु उपचार सेवाबाट वञ्चित भएका छन् ।प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गर्न माग गरेका थिए ।

विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । डा. पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेका थिए । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।

त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ । चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो ।

शुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले डा. पाठकको नै राजीनामा माग्न थालेका हुन ।

विद्यार्थीहरुले  प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत् राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै दुइ सातादेखि आन्दोलनरत छन् । तर पछिल्लो समय प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाए पछि समस्या थप विकराल बनेको छ ।