एउटै पालिकामा एकैदिन दुई  प्रशासकीय अधिकृत हाजिर

0
Shares

रौतहट  । 

यहाँको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुइ जनाले बिहीबार एकै दिन हाजिर गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा हाजिर भएका उपसचिव सुरेन्द्र प्रधानलाई थप जिम्मेवारी र अर्का नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास  नारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि बढीमा दुई महिना सम्मको लागि आर्थिक र प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएपछि बिहीबार एकैदिन दुवै जनाले हाजिर गरेका छन्  ।

 उपसचिव सुरेन्द्र प्रधानलाई उपप्रमुख संगिता राम सहितका जनप्रतिनिधिहरुले हाजिर गराएका हुन भने हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेल लाई नगरप्रमुख विनोद पटेलले हाजिर गराएका हुन ।

 दुवै जना हाजिर भएपछि अधिकास जनप्रतिनिधि र कर्मचारी अन्यौलमा परेका छन् । पटेल लाई नगरपालिकाको असोज १८ गते कार्यपालिकाको निर्णयको आधारमा जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई जना प्रमुख प्रशासकीय अधिकृत लाई एकै प्रकृतिको पत्र दिएपछि विवाद चुलिएको छ ।

गत असोज २६ गते फतुवा बिजयपुर नगरपालिकामा कार्यरत उपसचिव सुरेन्द्र प्रधानलाई स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म काम काजमा सहजीकरण गर्न आर्थिक र प्रशासनिक कार्य सहितको जिम्मेवारी दिइएको थियो भने पटेल लाई कार्तिक १ गते सोही प्रकृतिको पत्र मन्त्रालयले दिएपछि दुवै जनाले प्रमुख प्रशसकिय अधिकृतको जिम्मेवारीमा हाजिर गरेका हुन ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको वृन्दावन नगरपालिकामा दसैँ बिदा हुनु एक दिन अघि मात्र दुई जनाले हाजिर गरेपछि अन्यौल उत्पन्न भएको हो । सो नगरपालिका प्राविधिक, शिक्षा, स्वास्थ्यका कर्मचारीहरु निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कारण नगरपालिका विवादित बन्दै आएको छ । दुवै लाई हाजिर गराउने एक अर्का जनप्रतिनिधिहरु भने आफूले हाजिर गराएको ठिक भनिरहेका छन् ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने विषयमा जथाभाबी निर्णय गरिदिने गरेको स्थानीय राम प्रसाद पटेलले बताए  । एउटा पालिकामा दुई वटा प्रशासकीय अधिकृत हाजिर भएपछि खाता समेत सञ्चालन हुन सकेको छैन ।