हिउँदभरि पुग्ने खाद्यान्न जोहो गरे लप्चीबासीले

0
Shares

दोलखा। 

दोलखाको विगु– १ लप्चीका स्थानीयले हिउँद भरी पुग्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका छन् । झन्डै चार बर्षपछि चीनसंग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका अनौपचारिक रुपमा खुला भएपछि लप्चीका स्थानीयले आफ्ना लागी आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको जोहो गरेका हुन् ।

गत असोज ११ गते बिहीबारबाट अनौपचारिक रुपमा नाका खुला भएपछि लप्चीका स्थानीयले याक, चौरी, चौरीको बाँच्छा, दिमुको बाँच्छा गरी झन्डै तीन सयवटा बिक्री गरेको कर्मा शेर्पाले बताए । त्यसैगरी झन्डै पाँच हजार केजी चौरीको घ्यु, छुर्पी लगायतका उत्पादन समेत बिक्री गरेको कर्माले बताए ।

त्यसरी आफ्नो उत्पादन बिक्री गरेपछि उनीहरुले हिउँदभरि पुग्ने गरी चामल, पीठो, नुन, चिया, चाउचाउ लगायतका दैनिक उपभोग्य सामग्री खरिद गरेको स्थानीय कर्मा शेर्पाको भनाई छ । लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसंख्या रहेको छ । त्यसमा ११ परिवारले चौरीपालन गरेको र उनीहरुसंग झन्डै आठ सय वटा चौरी रहेको कर्मा शेर्पाले बताए ।

कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्यामा परेका थिए । संघिय सरकार, स्थानीय सरकार र स्थानीय लप्चीवासिले समेत नाका खुलाउन पटक– पटक पहल गर्दा समेत संभव नभएपछि धेरै विस्थापित हुने अवस्था बनेको थियो । दशैको पूर्व सन्ध्यामा नाका खुला भएपछि अहिले लप्ची वासिले निक्कै राहत महसुस गरेको स्थानीय फुजुङ शेर्पाले बताए ।

लप्चीका स्थानीयलाई आफ्नो जिल्लाको नजिकको बजार लामाबगर आउन दुई दिन हिड्नु पर्छ।  तर, चीनको रामुदिङ हुँदै टाँसिघाङ बजार पुग्न भने दुई घण्टा पैदल र दुई घण्टा गाडीमा जानुपर्ने कर्मा शेर्पाको भनाई छ । चीनको तिब्बत स्थित सिगान्से जिल्लाको ङ्यालम काउन्टीमा पर्ने टाँसिघाङ बजारमा भने अहिले पनि आवत– जाओतको लागि खुला नगरेको स्थानीय बताउँछन् । अहिले लप्चीका स्थानीय रामुदिङसम्म पुग्ने र त्यहि पाल हालेर बसेका तिब्बती व्यवसायीहरुले आवश्यक सामग्री खरिद बिक्री गर्ने कर्मा शेर्पाले बताए ।

रामुदीङबाट टाँसिघाङसम्मै जान पाए भने आवश्यक सामग्री सस्तोमा लिन सकिने अवस्था हुनेथियो– स्थानीय फुजुङ शेर्पाले भने ।

दोलाखसंग तिब्बतको सिमानामा ५५देखि  ६१ नम्बरसम्मको पिलर रहेको र लप्ची– रामुदिङ नाका ५५ र ५६ नम्बरको बीचमा पर्ने दोलखाको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । चीन सरकारले नेपालसंग सिमाना जोडिएको १४ वटा नाका खुला गर्दा दोलखासंग जोडिएको ६० र ६१ नम्बरको पिलरको बीचमा पर्ने फलाकको रोङसिया र क्वादम नाका खोल्ने निर्णय गरेको थियो । लप्चीवासिको आर्थिक एवं व्यवसायीक कारोवारको लागि लप्ची– रामुदिङ नाका आवश्यक भएकोले स्थानीय प्रशासनले सोही अनुसार गृह मन्त्रालय मार्फत चीन सरकारलाई अनुरोध गरेको तर त्यसको जवाफ आई नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । गृहले लप्ची– रामुदिङ नाका खोल्न आग्रह गरिएको पत्र परराष्ट्र मन्त्रालय पठाएको जानकारी प्राप्त भएको छ तर त्यसपछि के भयो भन्ने जानकारी आएको छैन– प्रमुख जिल्ला अधिकारी पोखरेलले भने  ।