नालामा जागरण लप्सी क्याण्डी पाउँ भण्डारले गर्‍यो  क्षमता विस्तार

0
Shares

काभ्रे। 

जागरण लप्सी क्याण्डी पाउँ भण्डारको नयाँ भवन शुभारम्भ गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले नयाँ उद्योगको उद्घाटन गरेका थिए । बनेपा नगरपालिका वडा नम्बर ४ शेरामा उक्त उद्योग सञ्चालनमा छ ।

अचार, लप्सी क्याण्डीका परिकार तथा अर्गानिक खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्देश्यले उक्त उद्योग शुभारम्भ गरिएको प्रोप्राइटर एवं महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिइन् । ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिने तथा स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने उद्देश्यले उद्योगलाई निरन्तरता दिइएको हो’–अध्यक्ष तथा प्रोप्राइटर निर्मला श्रेष्ठले भनिन–‘केही समय सुरु भई सञ्चालनमा आउन कठिन भएको उक्त उद्योगलाई व्यक्तिगत रुपमा संचालन गर्ने गरी लगानी गरिएको छ ।’ आफ्नै जग्गामा ४० लाख लगानी गरेर सुरु गरिएको उद्योगमा उत्पादित सामाग्री अर्गानिक छ । नेपालका विभिन्न स्थानका अलावा अष्ट्र्लिया, जर्मन लगायतका देशहरुमा समेत पठाउन थालिएकाले गुणस्तरमा कुनै सम्झौता नगरिएको प्रोप्राइटर श्रेष्ठले बताइन् ।

 

उद्योगमा लप्सीका १० परिकारका पाउँ बनाइएको छ । सिन्धुपाल्चोक तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट सिजनमा लप्सी संकलन गरी त्यसबाट उत्पादन गरिएको कच्चा पर्दाथलाई वर्षभरि नै तयारी समान उत्पादन गर्न मिल्ने गरी गोदाम गरिएको छ । सोलार डायर मार्फत धुलो समेत नजाने गरी सुकाईएको पाउँलाई प्याकेजिङ्गमा पनि ध्यान दिइएको छ । १ सय ७५ ग्राम पाउँको एक सय रुपैया पर्ने गरी मूल्य राखिएको छ । कागती, अमलाको अलग अलग पाउँ उत्पादन गरिएको छ । विभिन्न प्रकारका रोगको औषधीका रुपमा लिइएको कागती तथा अमलालाई पाउँका रुपमा खान सकिने गरी उत्पादन गरिएको श्रेष्ठले बताइन् ।

 

पाउँ तथा अचार उत्पादनका लागि दैनिक १० जनाले अवसर पाउने गरेका छन् । ती मध्ये पाउँ उत्पादन र अचारका लागि जानुका श्रेष्ठ र विनीता श्रेष्ठले नियमित काम गरिरहेका छन् । पाउँसँगै स्थानीय उत्पादन मुला, गाजर, काउली, तिते करेला लगायतको मिक्स अचार तथा मेथीको अलग अचार बनाउने गरिएको छ । विभिन्न होटेल तथा रेस्टुरेन्टहरुमा अचारको माग बढिरहेको श्रेष्ठले बताइन् । वार्षिक १५ लाख भन्दा धेरैको कारोबार हुने गरी उद्योगलाई पुनः क्रियाशील बनाइएको उनले बताइन् । केही वर्ष अघि सहकारी मार्फत संचालित उद्योग समूहले संचालन गर्न नसके पछि समूहकी अध्यक्ष समेत रहेकी श्रेष्ठले पुरानो कारोबारलाई फछ्र्याैट गरी व्यक्तिगत रुपमा उद्योग सुरु गरेको बताइन् । पाउँ र अचार सँगै दालमोठ तथा आलुका परिकार चिप्स लगायतका सामाग्री उत्पादन गर्ने प्रोप्राइटर श्रेष्ठले बताइन् ।

उद्योगको नयाँ भवन उद्घाटन गर्दै उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालबाट विदेशिएको श्रम र पुँजीलाई स्वदेशमै रोक्न घरेलु तथा साना उद्योगहरुको भूमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ महिला समिति अध्यक्ष रोशनी उपाध्यायले महिलाहरुले सुरु गरेका उद्योगहरुलाई हरेक क्षेत्रबाट सहयोग हुनु पर्ने बताइन् । महिलाहरुले सुरु गरेका उद्योगहरुको अवस्था सबल र सक्षम भए पनि पुँजी, श्रम र प्रविधिमा अब्बल हुन कठिनाइ भएको बताइन् ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, महासचिव रवीन्द्र बैदार, घरेलु तथा साना उद्योग महासंघका निरु बैदार, सिद्धिबहादुर कर्माचार्य, जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले उद्योगको सफलताको शुभकामना व्यक्त गरेका थिए ।