खोप बनाउन नसके पनि पूर्वाधार त सकिन्छ नि !

0
Shares

जुन बेला गरिब राष्ट्रका बिरामीहरु अक्सिजनलगायतका अत्यावश्यक औषधि उपचार नपाएर मरिरहेका थिए, त्यस बेला ठूला औषधि कम्पनीहरु र तिनका मालिकको नाफा अर्बौं रुपियाँ वृद्धि भएको थियो ।

भ्रष्टाचारले बद्नामी कमाएका नेपालजस्ता देशका सरकार रोगको सही परीक्षण गर्न नसक्ने गुणस्तरहीन कीट किन्न दलालहरुसँग भलाकुसारी गरिरहँदा खोप उत्पादक कम्पनीहरु धनी देशलाई महँगोमा खोप बेचेर अर्बौं रुपियाँ कमाइरहेका थिए । कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड-अक्सफोर्ड अस्ट्राजेनिका) बेचेरै अर्बौं रुपियाँ कमाउनेमध्ये एकजना थिए सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनावाला । पुनावाला सन् २०२२ मा झैँ ०२३ मा पनि भारतका तेस्रो धनी खर्बपति बनेका हुन् ।

हरेक वर्ष भारतका खर्बपतिहरुको सूची प्रकाशन गर्ने संस्था ‘३६० वन वेल्थ हुरुन इन्डिया’ ले हालै प्रकाशन गरेको सन् २०२३ का खर्बपतिहरुको ‘रिच लिस्ट’मा २५९ जना भारतका खर्बपतिको नाम प्रकाशन गरेको छ । यसमा सबैभन्दा धनी रिलायन्स इन्डस्ट्रिजका मुकेस अम्बानीको नाम छ भने कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपलगायतका अन्य खोपहरुको उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनावाला तेस्रो स्थानमा छन् ।

साइरस पुनावाला र उनको परिवारको सम्पत्ति तीन गुणा वृद्धि भएको छ । उनको सम्पत्ति ३६ प्रतिशतले बढेर २.७८ लाख करोड रुपियाँ पुगेको छ । उनको कम्पनीले विश्वका १७० भन्दा बढी देशमा खोप निर्यात गर्ने गरेको छ । यस कम्पनीले कोभिसिल्ड खोप (कोभिसिल्ड-अक्सफोर्ड अस्ट्राजेनिका) म्यानुफ्याक्चर गरी राम्रो मुनाफा लिएर नेपाललगायत विभिन्न मुलुकमा बिक्री गरेको थियो, जसले यस कम्पनीका मालिकलाई निरन्तर भारतको तेस्रो खर्बपति हुन सघाएको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियामात्र होइन, यस अवधिमा पिफिजर, एस्ट्राजेनिका, जोनसन एन्ड जोनसन, बायोन्टेक, मोडेर्ना, मेर्क एन्ड कं., गिलियाडलगायत विश्वका अन्य थुप्रै औषधि उत्पादक कम्पनीहरु कोरोना भाइरसविरुद्धको खोप उत्पादन तथा बिक्री गरेर रातारात खर्बपति बनेका छन् ।

कोभिड १९ विश्वभर महामारीका रुपमा फैलिएर करोडौँ मानिसलाई संक्रमित गर्नुका साथै लाखौँ मानिसलाई मृत्युको मुखमा पु¥याइरहेका बेला सो भाइरसविरुद्धको खोप अनुसन्धान गरी उत्पादन गरेर प्रशंसनीय कार्य त गरेका हुन् तर ती कम्पनीहरुले जीवनदायी तथा अत्यावश्यक यस्ता खोप तथा औषधिहरुमा मनोपोली बजारीकरण गरी महँगो मूल्यमा पहिला धनी देशहरुलाई यथेष्ट मात्रामा बेचेर उनीहरुलाई बढी हुने अवस्थामा मात्र कम आम्दानी हुने राष्ट्रलाई बेचेर गरिब देशहरुप्रति भेदभाव गरेका थिए ।

रोगको कोरोना भाइरसको महामारी फैलिएका बेला आम जनताको रोग–प्रतिरोधात्मक क्षमता वृद्धि गर्न विश्वका गरिब देशहरुले समेत महँगो रकम तिरेर हरेक नागरिकका लागि खोप खरिद गर्नुपरेकाले खोप उत्पादक कम्पनीहरुको मुनाफा उच्च रहेको थियो । त्यसमा पनि विश्वका कतिपय खोप तथा औषधि उत्पादक ठूला कम्पनीहरुले धनी देशहरुलाई भन्दा गरिब देशहरुलाई थप महँगोमा खोप खरिद गर्न बाध्य पारेकाले ती कम्पनीहरुको नाफा उच्च हुन पुगेको थियो ।

धनी देशहरुलाई भन्दा गरिब देशलाई अझ महँगोमा आत्यावश्यक जीवनदायिनी खोप बिक्री गरेकोमा उनीहरुमा अवसरवादी, मानवीयताभन्दा पनि व्यापारिक प्रवृत्ति हाबी भएको, बढी स्वार्थी बनेको भनेर निकै आलोचना पनि भएको थियो । ट्याक्स जस्टिस डट युकेले विश्वमा कोभिड १९ महामारी फैलिरहेका बेला खोप उत्पादन गरेर मनोपोली बजारीकरण गरी बढी नाफा कमाउने कम्पनीका बारेमा केही उल्लेख गरेको छ । अस्ट्राजेनिका आम्दानीको हिसाबले बेलायतको दोस्रो ठूलो फर्मास्युटिकल्स कम्पनी हो ।

महामारी नियन्त्रणमा यस कम्पनीले उत्पादन गरेको खोप (कोभिसिल्ड) ले निकै ठूलो भूमिका निर्वाह पनि गरेको थियो । तर यसले उत्पादन गरेको खोप युरोपियन युनियनका सदस्य देशहरुलाई भन्दा अफ्रिकालगायतका विश्वका गरिब देशहरुका लागि प्रतिडोज कैयौँ गुणा महँगो बनाएर बेची गरिब देशहरुप्रति भेदभावमात्र होइन एक किसिमले मजबुरीको फाइदा उठाउँदै शोषण नै गरेको थियो ।

एक अध्ययन अनुसार अस्ट्राजेनिका-अक्सफोर्ड खोप तयार गर्न ९७ प्रतिशत रकम करदाता वा च्यारिटेवल ट्रस्टहरुबाट लिएर लगानी गरिएको थियो । अस्ट्राजेनिकालगायत अन्य खोप उत्पादक कम्पनीहरुले यो अत्यावश्यक खोप भए पनि इन्टुलेक्चुअल प्रोपर्टी राइट आफैँमा कायम राखेर आर्थिकरुपमा मोनोपोली गरिरहे । यही कारणले गर्दा अस्ट्राजेनिकाको खुद नाफा विश्वमा कोभिड १९ महामारी फैलिनुभन्दा अघिल्ला वर्षको तुलनामा दोब्बरभन्दा बढी वृद्धि (१२२ प्रतिशतसम्म) भएको थियो । अर्थात् करअघिको नाफा करिब दुई अर्ब पाउन्ड वृद्धि भएको थियो ।

बेलायतमा अस्ट्राजेनिकाको प्रतिस्पर्धी कम्पनी ग्लाक्सोस्मिथले खोपबाट नै अघिल्लो वर्षको भन्दा १ अर्ब ७० करोड पाउन्ड (३५ प्रतिशत) बढी नाफा कमाएको थियो । बेलायतबाहिरका कम्पनी हेर्दा खोप उत्पादन गर्ने कम्पनी पिफिजरले अघिल्लो वर्षको भन्दा अत्यधिक बढी नाफा कमाएको थियो । अक्सफाम नामक कम्पनीले गरेको अध्ययन अनुसार कोरोनाको खोप उत्पादन गरेका विश्वका ठूला फर्मास्युटिकल कम्पनीहरुः पिफिजर, बायोन्टेक र मोडेर्नाले उक्त खोप बेचेर प्रतिसेकेन्ड १ हजार डलरभन्दा बढी कमाइरहेका थिए, जबकि कम आम्दानी भएका देशहरुका ठूलो संख्याका मानिसहरु खोप लगाउनबाट वञ्चित भइरहेका थिए ।

कोरोनाविरुद्धको खोप बेचेर बढी नाफा कमाउने प्रमुख तीन कम्पनीहरुमा पनि पिफिजर, बायोन्टेक र मोडेर्ना नै थिए । यी कम्पनीले प्रकाशित गरेको आधिकारिक रिपोर्ट अनुसार नै पनि त्यस बेला यी तीनवटा कम्पनीको संयुक्त आम्दानी प्रतिमिनेट ६५ हजार डलर रहेको थियो । यी कम्पनीहरुले कम आम्दानी भएका देशलाई बाइकटजस्तो गरेर विशेष गरी धनी देशलाई खोप बिक्री गरेका थिए । पिफिजर र बायोन्टेक कम्पनीले कुल भ्याक्सिन उत्पादनको लगभग १ प्रतिशतमात्र कम आम्दानी भएका देशलाई उपलब्ध गराएका थिए ।

अझ मोडेर्नाले त ०.२ प्रतिशत खोपमात्र कम आम्दानी भएका देशलाई उपलब्ध गराएको थियो । यसले गर्दा सो समयमा कम आम्दानी भएका देशका ९८ प्रतिशत जनताले पूर्ण खोप पाउन सकेका थिएनन् । परिणामस्वरुप कम आम्दानी भएका मुलुकहरुमा कोरोना भाइरस संक्रमित बिरामीहरु गम्भीर अवस्थामा पुगेका र मृत्यु भएकाहरुको संख्यात्मक अनुपात बढी देखिएको थियो ।

नेपालजस्ता देशमा उपचार सेवाको क्षमताको हिसाबले संक्रमित बिरामीको संख्या अत्यधिक वृद्धि हुनाले अस्पतालभित्र बिरामी राख्न नसकी आईसीयुमा राख्नुपर्ने बिरामीलाई पनि अक्सिजन सिलिन्डरसहित बरण्डा र पाल टाँगेरसमेत राख्नुपरेको थियो । नेपालका पोखरालगायतका कतिपय अस्पतालमा गम्भीर बिरामीहरुलाई अक्सिजनसमेत उपलब्ध हुन नसक्दा बिरामीहरुको मृत्यु भएको थियो । पछि खोप उपलब्ध हुन थालेपछि त्यसको व्यवस्थापन गर्नसमेत सरकारलाई हम्मेहम्मे परेको थियो ।

पिफिजर, बायोन्टेक र मोडेर्नाजस्ता खोप उत्पादक ठूला फर्मास्युटिकल्स कम्पनीले आफ्नो मनोपोलीको दुरुपयोग गरेर कम आम्दानी हुने देशहरुलाई बेवास्ता गर्दै धनी देशहरुलाई बढी नाफा आउने गरी खोप उपलब्ध गराएर गरिब देशहरुप्रति भेदभावपूर्ण व्यवहार गर्दा पनि कम्पनी अवस्थित रहेका समृद्ध देशहरुले त्यसमा हस्तक्षेप गर्न आवश्यक ठानेनन् । मानव अधिकार, समानता, मानवताजस्ता आदर्शको कुरा गर्ने समृद्ध राष्ट्रहरुले महामारीजस्तो मनावीय संकट आउँदा उनीहरु गरिब राष्ट्रको उपेक्षा गरेर पहिले आफ्नो लागि खोप सुरक्षित गर्ने र महँगोमा बेच्न छुट दिएर राजस्व वृद्धि गर्नेतिर बढी ध्यान दिए ।

फायर्स फर्मा डट कमका अनुसार पिफिजर सन् २०२२ को एक वर्षमा १ खर्ब डलर आम्दानी गरेर औषधि कम्पनीको इतिहासमै सबैभन्दा बढी आम्दानी गर्ने कम्पनी बन्यो । यसपछि जोनसन एन जोनसन, रोच, मेर्क आदि रहेका छन् । पिफिजरले सन् २०२१ मा ८१ अर्ब २९ करोड डलर आम्दानी गरेको थियो भने सन् २०२२ मा १ सय अर्ब ३३ करोड डलर आम्दानी गरेको थियो । जोनसन एन्ड जोनसनले ९४ अर्ब अर्ब ९४ करोड डलर आम्दानी गरेको थियो ।

कोरोना भाइरसको संक्रमणको संकट अझै पनि विश्वबाट हटिसकेको छैन । कोभिड १९ को सम्बन्धमा नियमित रिपोर्ट तयार गरी प्रकाशन गर्ने संस्था ओल्डोमिटरको असोज २८ सम्मको रिपोर्ट अनुसार कोभिड १९ का कारण विश्वमा ६९ लाख २६ हजार १६३ जनाको मृत्यु भयो भने ६९ करोड ६६ लाख १४ हजार ९०३ जना मानिस संक्रमित भएका थिए । अहिले पनि दैनिक फाट्टफुट्ट नयाँ संक्रमित बिरामी देखा परिरहेका छन् । २०८०, असोज २८ का दिन विश्वमा ६ सय ६६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् र यो थपिने क्रम रोकिइसकेको छैन ।

अझै पनि नेपाल, भारत, बंगलादेश, पाकिस्तान अमेरिका, जर्मनी, बेलायत, इटली, रुस अस्ट्रेलिया, मलेसिया थाइल्यान्ड, क्यानाडा ब्राजिललगायतका विश्वका करिब १९० देशमा २ करोड ११ लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् । उक्त दिनसम्ममा नेपालका १० लाख ३ हजार ४४४ जना संक्रमित भई १२ हजार ३१ जनाको मृत्यु भएको थियो । उक्त दिनसम्ममा नेपालमा अझै पनि ९१ जना सक्रिय संक्रमित रहेका थिए ।

कोरोना भाइरस यत्तिकै घट्दै गएर प्रभावहीन बन्छ कि फेरि सक्रिय भएर फर्किन्छ, त्यो भन्न सकिन्न । नेपालमा कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरै मानिस मरेका थिए । त्यसैले फेरि सक्रिय बन्यो भने अझ घातक नहोला भन्न पनि सकिन्न । साथै यस्तै खालका र सोच्दै नसोचेका महामारी जुनसुकै बेला पनि फैलिन सक्छन् भन्ने कुरामा पनि सचेत रहन जरुरत छ । यसकारणले गर्दा स्वास्थ्य पूर्वाधारलाई मजबुत बनाइराख्न जरुरत छ ।

रोगको महामारी वा अरु कुनै प्रकोप आउँदा त्यसबाट प्रभावितहरुको उद्धार, उपचार, व्यवस्थापनका लागि सर्वप्रथम सरकार आफैँले नै अघि सर्न जरुरी हुन्छ । अरुले पनि सहयोग त गर्लान् तर कति बेला र के–के स्वार्थ पूरा गर्ने सर्तमा ? आफ्ना पूर्वाधार तयारी अवस्थामा राख्नाले आपत्का बेला आफैँलाई नै सहज हुनु स्वाभाविक नै हो ।

कोरोना महामारीका बेला मालदिप्स, भूटान र भारतभन्दा नेपालको मृत्युदर बढी रहेको थियो । राम्रो स्वास्थ्य पूर्वाधार र उचित व्यवस्थापन भएको भए अरु धेरै बिरामीलाई बचाउन सकिन्थ्यो भन्ने कुरा चिकित्सा क्षेत्रका विशेषज्ञहरुमात्र होइन, सरकार आफैँले पनि महसुस गरेको थियो । तर त्यस बेलाका मन्त्री र स्वास्थ्यका पदाधिकारीहरुको परिवर्तनसँगै त्यो महसुस र पछुताउ पनि मेटिँदै गएजस्तो लाग्दै छ ।

कोरोना महामारी फैलिएका बेला एकातिर महामारीको संक्रमण नियन्त्रण गर्ने कार्य प्रभावकारी भइरहेको थिएन भने अर्कोतिर निजी क्षेत्रका केही ठूला अस्पतालले कोभिडका बिरामीलाई बेवास्ता गरेका थिए । यसले गर्दा सरकारी अस्पतालमा बिरामीको चाप हुन पुगेको थियो ।

कतिपय बिरामी अस्पताल खोज्दाखोज्दै, अक्सिजन खोज्दाखोज्दै मृत्युको मुखमा पुगेका थिए । कतिपय अस्पतालहरुमा भर्ना नहुनुपर्ने बिरामी भर्ना गरिएको थियो भने अस्पताल भर्ना गर्नुपर्ने कतिपय गम्भीर प्रकृतिका बिरामी बेड नपाएका कारण मरेका थिए । कतिपय बिरामीलाई अस्पतालमा भर्ना गरेर पनि जनशक्ति र साधन–स्रोतको अभावले गर्दा बचाउन नसकिएको तीतो यथार्थ सबैले महसुस गरेकै हो ।

कोरोना महामारीले गर्दा नेपालको स्वास्थ्य पूर्वाधारमा भएका कमी–कमजोरीलाई उदाङ्ग पारेर सरकारी पदाधिकारीहरुको आँखा पक्कै खोलिदिएको हुनुपर्छ, तर ढिलै भए पनि खुलेका यी आँखा बन्द नहुन् भनेर कामना गर्नसम्म सकिन्छ ।