मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा हस्तकला मेला हुने

0
Shares

काठमाडौं।

यही मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार भेटघाटमा बताए।

नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन र रङ्ग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बिच एक आपसमा सीप प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता राखिएको पनि अध्यक्ष शाक्यले बताए।

मेलामा हस्तकलाका वस्तुहरूको करिब १५० वटा स्टलहरू रहने बताइएको छ । मेलामा रहने स्टलहरू मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको पनि शाक्यले बताए।  प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बङ्गलादेश आदि देशका व्यापारीहरूको सहभागिता रहने बताइएको छ । व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरू समेतको सहभागिता रहनेछन् ।

प्रदर्शनीमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पस्मिना छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिने छन् ।