कुकर र भड्डुले हानेर श्रीमतीको ज्यान लिने पक्राउ 

0
Shares

उदयपुर। 

श्रीमतीको बीभत्स रुपमा हत्या गरी भारत भाग्न खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुरगढी ७ नागबेलीका ३१ वर्षीय पीटर भन्ने सन्तोष राई हुन्  । राईले हिजो राती २९ वर्षीया श्रीमति राईसँग विवाद भएपछि खाना पकाउने प्रेसर कुकर र भड्डु भाँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते श्रीमतिलाई तत्कालै उपचारको लागि उदयपुर अस्पतालमा ल्याइएपछि चिकित्सकहरुले साढे १० बजे राती मृत घोषित गरेका थिए । कुकर र भड्डुले टाउको, नाक र मुख प्रहार गरी लागी गम्भिर घाइते बनाएका थिए ।

घटनाको प्रारम्भिक जानकारी पाए लगत्तै सक्रिय भएको प्रहरीले पिटरलाई भाग्दै गरेको अवस्थामा त्रियुगा.न.पा.–८ राजाबास बैरेनीबाट पक्राउ गरेको हो । उनीहरु दसैं मनाउनको लागि भारतको नयाँ दिल्लीबाट त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरमा दिदी घरमा आई बसेका थिए । उनीहरु ९ महिना भारतमा काम गरी फर्केको बताइन्छ । हत्या अघि अभियुक्त राईले अत्यधिक मदिरा सेवन गरेको बताइन्छ । राई दम्पतीबीच ३ वर्षदेखि पारिवारिक रुपमा विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीको हत्या गरेपछि राईलाई गाउँलेहरुले लखेटेका थिए । त्यसपछि उनी लुक्दै भाग्दै हिडेका उनलाई त्रियुगा न.पा.९ बैरेनीमा प्रहरीले पक्राउ गर्ने सफलता पाएको हो । उदयपुर प्रहरी प्रमुख थापाको नेतृत्वमा खटिएको टोलीले करिब २ घन्टाको खोजपड्तालपछि फेला पारेको हो । भारत भाग्न सक्ने अनुमान गरी सम्भावित नाकाहरुमा प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो । र, उनले चिनेजानेका र आफन्तहरुको घरमा पनि प्रहरीहरु खोजीमा खटिएका थिए । अभियुक्त राईसँग जम्माजम्मी एक सय रुपैयामात्र रहेको र पैसा खोज्दै आफन्तको घर जान सक्ने प्रहरीको अनुमान सही सावित हुन पुगेको थियो । भारत भाग्नको लागि खर्च खोज्ने आफन्तको घरमा जाँदै गरेका थिए ।