चट्याङ लागेर लमजुङमा १९ पशुचौपाया मरे



लमजुङ। 

लमजुङमा चट्याङ लागेर १९ पशुचौपाया मरेका छन् । मर्स्याङ्दी छिचुका धनराज घलेको १० वटा भेडा र ३ वटा बाख्रा चट्याङले मरेका छन् भने न्युरीका सुकुमरासी गुरुङको तीन वटा बाख्रा र दुई वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी थानेश्वर चपाईले बताए ।

त्यसै गरी सञ्जापूका योबहादुर घलेको सञ्जापू खाजे चौतारा नजिकै गोठमा बाँधेर राखेको गर्भिणी भैँसी चट्याङ पर्दा तर्सिएर रातको समयमा  दाम्लो चुँडालेर भाग्दा भीरबाट खसेर मरेको  चपाईले जानकारी दिए ।

उक्त भेडाबाख्रा मर्दा अन्दाजी चार लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । गर्भिणी भैँसी मर्दा अन्दाजी ९० देखि ९५ हजार रुपैयाँ नोक्सान हुन गएको मर्स्याङ्दी ५ का वडाध्यक्ष घनेश्याम घलेले बताए ।

मंगलबार १ बजेतिर मर्स्याङ्दी ५ को उक्त स्थानमा वर्षासँगै चट्याङ पर्दा चौपायमा क्षति पुगेको जानकारी आएको जिप्रका लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन ।

उक्त स्थानमा ठूलो पानी परेपछि खर्कमा रहेका भेडाबाख्रा ओत खोज्दै रुखमुनि गएर सुतिरहेको समयमा चट्याङ परेको थियो । गोठ रहेको ठाउँ न्युरी गाउँबाट करिब ३ घण्टाको उकालो दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्