देशलाई बरबादी हुनबाट बचाऔँ

0
Shares

शासकहरुको चरम असफलताका कारण मुलुकमा विकास, समृद्धि र सुशासन कायम हुने विषय निकै टाढा पुगेको छ । अहिले मुलुक यथास्थितिवादमा पनि नभएर पश्चगमनतर्फ अघि बढिरहेको अनुभूति जोसुकैले पनि गर्न पुग्छन् । शासक, नेताहरु भाषणमा चर्का कुरा गर्छन् । परिवर्तन उल्टाउन खोजेको भन्दै विभिन्न इतर पक्षलाई आश्चर्यजनक चुनौती दिन्छन् तर बिचरा परिवर्तन उल्टाउने मुख्य तत्व आफैंभित्र लुकेर ररिरहेको छ भन्ने तथ्य सहजै पत्ता लगाउन उनीहरु चाहँदैनन् ।

घातक तत्व उनीहरुमा नै लुकेर रहेको धनवाद र डनवाद हो । अहिलेको सरकारी गठबन्धन र ती गठबन्धनबाट मन्त्री भएर गएकाहरुको काम कसरी हुन्छ मिलाएर अकूत सम्पत्ति आर्जन गर्नमा नै बितिरहेको छ । बाहिर ठूला–ठूला आदर्श र नैतिकताका कुरा गर्ने, सुशासनको डिङ हाँक्ने तर पाएसम्म कम्बल ओढेर घिउ खाने याने कि मिलाएर भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउने चरित्र अहिलेका शासकहरुमा विद्यमान छ । त्यसैले यिनीहरुबाट यही अवस्थामा सुशासन हुन्छ र मुलुकमा समृद्धि कायम हुन्छ भन्नु भयानक भ्रमबाहेक केही होइन । यी

अब प्रश्न उठ्छ, हामी नेपाली यस्तो भ्रममा कति समयसम्म रहने त ? शास्त्रले भन्छ, ‘अति भएपछि खती हुन्छ ।’ विज्ञानले त पुष्टि नै गरेको छ, ‘उम्लिएपछि पोखिने कुरा ।’ त्यसैले अहिलेका शासकहरुको अतिका कारण ढिलो–चाँडो खती उनीहरुले नै व्यहोर्नुपर्नेछ र उम्लिरहेपछि उनीहरु पोखिनै पर्छ । यी दुवै सत्य ढिलो–चाँडो उद्घाटित हुने निश्चित छ । आम जनतासँग रहेको विकल्प भनेकै धैर्यता हो । यसो त जनता संगठित भएर शासकहरुको बद्मासीका विरुद्ध आन्दोलित हुनुपर्ने अवस्था पनि आउन सक्छ । तर विडम्बना, हामीकहाँ नागरिक समाजको नेतृत्व गर्नेहरु आफैँ विभाजित छन् ।

डनवाद र धनवादले नागरिक समाजलाई पनि विचलित पारिरहेको देखिन्छ । त्यसैले गर्दा पनि शासकहरु अराजक बनेका हुन् । हामीलाई कसैले केही गर्न सक्दैन भन्ने मैमत्ता सोच हाम्रा शासकहरुमा रहेको देखिन्छ । अझै पछिल्ला केही वर्षदेखि त दुई–चारजना नेताहरु बस्ने र जे पनि निर्णय गर्ने प्रचलनले मुलुक दुई–चारजना सामन्त नेताको मुठ्ठीमा कैद भइरहेको अवस्था छ । माथि बस्ने, जे पनि निर्णय गर्ने । ठूला–ठूला भ्रष्टाचारीलाई जोगाउने, स–साना भरिया र कारिन्दालाई मात्रै सजाय दिनेजस्ता विडम्बनापूर्ण कार्य सामन्त नेताहरुले गरिरहेका छन् । सत्ता चलाउन चुनावदेखि नै गठबन्धन गर्ने, भागशान्तिमा शासन चलाउने घातक प्रवृत्ति मौलाइरहेको छ । यस्तो प्रवृत्तिले देश नवनिर्माणमा अघि बढ्न सक्दैन ।

पछिल्ला दृष्टान्त हेर्ने हो भने नक्कली भूटानी शरणार्थी प्रकरणमा मुख्य नाइके र अकूत सम्पत्ति आर्जन गर्ने मुख्य दोषीलाई जोगाउने काम गरियो । यो प्रकरणमा थप छानबिन हुन्छ भन्ने डरले नक्कली भूटानी शरणार्थी प्रकरणको जरो–जरोमा अनुसन्धान गर्ने सबै प्रहरी अधिकृतलाई त्यहाँबाट हटाएर अन्यत्र सरुवा गरियो । अहिले यो प्रकरणको छानबिनलाई पूर्णविराम लगाउने काम गरियो । किनकि छानबिन माथिसम्म पुगेको भए अहिलेका सत्ताधारीलाई जोड्ने कारक मानिएका कथित ठूला भनाउँदा नेताहरुसमेत तानिने निश्चित थियो ।

त्यसैले सो प्रकरणमा मध्यम तहका नेताहरुलाई मात्रै कारबाही गरेर क्षणिक वाहीवाही लिने काम गरियो । मुख्य दोषीलाई उन्मुक्ति दिइयो । दण्डहीनतालाई बढावा दिने काम गरियो । त्यसैले यस्ता खालका कारबाहीलाई गन्तव्यमा पु¥याउने गरी गरिनुपर्छ । कानुन सबैका लागि बराबर हो । ठूलालाई चैन र सानालाई ऐन लाग्ने विषय लोकतन्त्रको कुरुप पक्ष हो । लोकतन्त्रले सबैलाई समानरुपमा लिँदै कानुनी शासन स्थापनामा जोड दिन्छ । तर हामीकहाँ आएको लोकतन्त्रमा कानुन सानाका लागि मात्रै लागू गरिन्छ । ठूलाबडाका लागि कानुनले केही गर्दैन भने त्यो निरंकुश शासन प्रणाली हो, लोकतन्त्र होइन ।

यस्तै पछिल्लो समयमा सीआईबीले गरेको ६१ किलो सुन तस्करीको अनुसन्धान प्रक्रियामा पनि ठूलो राजनीतिक हस्तक्षेप भएको देखिन्छ । राजनीतिक हस्तक्षेपका कारण यस प्रकरणमा सीआईबीलाई पूरै पंगु बनाउने काम गरियो । सुन तस्करीका मुख्य योजनाकारहरुलाई खासै पत्ता लगाउन सकेन सीआईबीले । एक योजनाकार मानिएको दाबा छिरिङको कल डिटेल्स लुकाउने काम गरियो । दाबाभन्दा माथि राजनीतिक नेतृत्वहरुको संलग्नता रहेको पाइए पनि त्यसलाई पूरै लुकाउने काम गरियो । त्यसैले यो प्रकरणमा पनि निष्पक्षपूर्वक काम भएन । जसका कारण प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुले भ्रष्टाचार र सुशासन कायम गर्छु भनेर दिने गरेका अभिव्यक्तिहरु आडम्बरमा परिणत हुन पुगेको देखिन्छ ।

हामीकहाँ सबैभन्दा ठूलो समस्या भनेकै शासक नेता तथा उनीहरुलाई सहयोग गर्ने प्रशासकहरुमा विकास भएको दोहोरो चरित्र हो । एकथरी बोल्ने तर काम र व्यवहार ठीक उल्टो गर्ने चरित्र धेरै शासक र प्रशासकहरुमा व्यापक छ । जनताको काम गर्नै नचाहने र आफ्नो स्वार्थमात्रै हेर्ने प्रवृत्ति अत्यधिक छ । अहिले बजारमा महँगीले सर्वसाधारण जनता आजित छन् । दुःखजिलो गरेर खानेलाई बिहान–बेलुकीको जोहो गर्न नै कठिन भइरहेको छ । शासकहरुलाई कुनै वास्ता छैन । जनतालाई राहत दिने, सरकार भएको अनुभूति दिलाउने विषय शासकहरुको उच्च प्राथमिकतामा कहिल्यै पनि पर्दैन । त्यसैले पनि होला आम सर्वसाधारणले कहिल्यै पनि देशमा आफ्नो सरकार भएको अनुभूति गर्नै पाएका छैनन् । उल्टो सामान्य नागरिकहरु त मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गर्न विवश छन् ।

चारैतिर विकृति बढेको बढ्यै छ । बिरामी हुँदा सुलभ स्वास्थ्य सेवा र औषधि पाउनबाट आम नागरिक वञ्चित छन् । स्वास्थ्य सेवामा मौलाएको माफियातन्त्रले नागरिकहरु आक्रान्त त छँदै छन् । उपचार अभावमा अकाल मृत्युवरण गर्नसमेत बाध्य छन् । यस्तै शिक्षाक्षेत्रसमेत माफियाको कब्जामा नै रहेको र सरकारी शिक्षा निकै नै कमजोर भएकाले आम नागरिक दुःखजिलो गरेरै भए पनि आफ्ना बालबच्चालाई बोर्डिङमा पढाउन बाध्य छन् । शिक्षाक्षेत्रमा वार्षिक अर्बौं रुपियाँ लगानी भए पनि त्यसको प्रतिफल आम नागरिकले पाउन सकेका छैनन् । जनताको करको सही सदुपयोगसमेत हुन सकिरहेको छैन । यस्तै मुलुकमा नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका कैयौँ उद्योगहरु बन्द भएका छन् ।

कैयौँ उद्योगहरु अहिले खण्डहर अवस्थामा रहेको देख्दा पनि शासकहरुको मन कहिल्यै पनि चसक्क हुँदैन । सरकारी उद्योगहरुलाई बन्द गराएर केही व्यापारीलाई मात्रै पोस्ने काम विगतमा गरिएको थियो । विशेष गरी लोकतन्त्र आएपछि जनताको लागि राजनीतिक गर्छौं भन्ने नालायकहरुले नै सरकारी उद्योगलाई ध्वस्त पारेका हुन् । जसका कारण हामीकहाँ रोजागरी पनि खोसिएको छ भने उद्योगमा परनिर्भर हुनुपर्ने अवस्था बढेर गएको छ । हामीकहाँ उत्पादन हुने वस्तुहरु पनि अहिले भारतलगायतका देशबाट आयात गर्नुपर्ने दुःखदायी अवस्था छ ।

निर्यातमा हामी निकै कमजोर छौँ । त्यसैले पनि व्यापार घाटा अत्यधिक चुलिँदै गइरहेको छ । जता हे¥यो त्यतै विकृति नै विकृति देखिन्छ । रोजगारीको अभावमा लाखौँ युवाहरु विदेशिने क्रम जारी छ । सुनौलो भविष्य बोकेर विदेश गएका कैयौँ युवाहरु बाकसमा लास बनेर आउने क्रम पनि त्यत्तिकै छ । मानौँ, देश मुर्दाघरजस्तै बनिरहँदा पनि शासकहरु निरोले बाँसुरी बजाएजस्तै बजाएर बसिरहेका छन् । यहाँ धेरै निरोहरु छन् । हिजो पनि थिए, आज पनि छन् । अब भोलिका दिनमा निरोहरु जन्मन नपाउने अवस्था ल्याउन आम नागरिक सचेत र संवेदनशील बन्न जरुरी छ । सबै खाले निरोहरुको समूल नष्ट गर्न अत्यावश्यक भइसकेको छ ।

माथि नै उल्लेख गरिएको छ, नेपाली जनता धैर्यवान् छन् तर अब भने अति भइसकेकाले धैर्यताको बाँध तोड्नुपर्ने देखिएको छ । जनता जाग्ने बेला आइसकेको छ । किनकि सबैतिरको बेथितिले देश बरबादीतर्फ उन्मुख भइसकेको छ । मुलुक असफल राष्ट्रको रुपमा दर्ज हुने अवस्थामा पुगेको छ । यो सब केही वर्षयताका ठालु शासकको नालायकी, अक्षमता र भ्रष्टाचारी प्रवृत्तिका कारण हो । अब यिनका जराहरुको समूल नष्ट गर्नुपर्छ ।

यी भ्रष्ट शासकहरु सच्चिने अवस्थामा छैनन् । अब यिनीहरुलाई जनताले उठ्नै नसक्ने गरी निर्वाचनमार्फत कारबाही गर्नुपर्छ । उस्तै परे यस्ता भ्रष्टहरुलाई सामाजिकरुपमा बहिष्कार गर्न पनि पछि पर्नुहुँदैन । प्रधानमन्त्री तथा मन्त्रीहरु एवं अन्य नेताहरुले द्वैधचरित्र प्रदर्शन गरेमा ठाउँका ठाउँ प्रश्न गर्ने बानीको विकास हामी जनताले पनि गर्न जरुरी छ ।

प्रधानमन्त्री, मन्त्रीहरु जहाँ गए पनि त्यहाँका जनता जागृत हुँदै जनतालाई के राहत दियौ, महँगी किन घटाउन सकेनौ, उद्योगधन्दा खोलेर रोजगारी किन सिर्जना गर्न सकेनौ, बजेटको सदुपयोग किन गर्न सकेनौ, स्वास्थ्य र शिक्षामा व्याप्त माफियाकरण किन रोक्न सकेनौ ? भनेर बारम्बार प्रश्न गरौँ र शासकहरुलाई सुधारको लागि बाध्य पारौँ । त्यसो गर्दा पनि भएन भने यिनलाई पूर्णरुपमा बहिष्कार गर्ने अभियान आम नागरिकस्तरबाटै छेडौँ । नत्र मुलुक अझै बरबादीतर्फ जानेछ र आम नागरिक र मुलुकले वर्षौंसम्म पीडा भोग्नुपर्नेछ । सतर्क र सचेत बनौँ ।