दलका योजना चुनावदेखि चुनावसम्म

0
Shares

काठमाडौं । 

प्रदेश र संघीय संसदको निर्वाचन भएको एक वर्ष नबित्दै राजनीतिमा अर्थपूर्ण सहभागिता जनाइरहेका राजनीतिक दलहरु ‘मिसन–२०८४’ लिएर चुनावदेखि चुनाव सम्मको योजना बुनिरहेका छन् ।

नागरिक प्रति जिम्मेवार र उत्तरदायी शासन व्यवस्था सञ्चालन, विकास र सुशासनका विषयलाई ओझेलमा पार्दै दलहरुले चुनाव देखि चुनाव सम्मका योजना अघि सारेका छन् । गत निर्वाचनमा नयाँ दलले टक्कर दिएपछि सात दशक भन्दा पूराना र स्थापित दलहरु नै मिसन २०८४ योजना लिएर हिडेका छन् ।

गत बर्षको मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पूराना भनिएका दलहरूलाई गठन भएको एक वर्ष नपुगेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौती दिनेगरी मत ल्याएपछि संसदीय राजनीतिका माहिर खेलाडि ठूला र पुराना दलहरू झस्किएका छन् ।

योसँगै प्रायः सबैजसो राजनीतिक पार्टीहरूले आगामी चार वर्षपछि हुने निर्वाचन लक्षित गरी सांगठनिक गतिविधि सञ्चालन गर्न शुरु गरेका छन । दलहरूले केन्द्रीय समितिको बैठकबाटै निर्णय गरेर संगठन सुदृढीकरण तथा जागरण अभियान चलाइरहेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरुले गाँउ अभियानलाई तिब्र बनाउँदै देशभरको सांगठनिक अवस्थाका बारेमा प्रतिवेदन बुझाउन केन्द्रीय नेताहरुलाई परिचालन गरेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको गत साउन २८ कै बैठकमा ‘मिसन–२०८४’ को चर्चाले व्यापकता पाएको थियो । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले २०८४ मा कांग्रेसले एक्लै चुनाव लड्न सक्ने गरी सांगठनिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएपछि सो दलले संगठन सुदृढीकरण अभियानलाई भदौ र असोजभर गाउँ जागरण अभियान चलायो ।

केही जिल्लाहरु बाँकी रहेकाले दशैं लगत्तै अभियानलाई निरन्तरता दिएर देशभरको पार्टीको बस्तुस्थिति बुझ्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । ‘आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी चुनाव लड्ने र अरू दलहरू आफ्नो दलसँग डराउनेगरी संगठन निर्माण लाग्ने निर्णय गरेरै कांग्रेसले गाउँअभियान सुरु गरेको हो’, उहाँले भन्नुभयो ।

त्यस्तै, संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पदाधिकारी र सचिवालयको बैठकमा टोल टोलमा संगठन विस्तार गर्ने निर्णय गरिएको थियो । सोही अनुसार देशभर सांगठनिक जागरण गरिएको एमालेले जनाएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ ।

मंगलबार उहाँले भन्नुभयो– ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौं । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको नै एकल बहुमतको हाम्रो सरकार हो, यो नहुने भन्ने कुरै छैन ।’

प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा ३० प्रतिशत पार्टी सदस्यता पु¥याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा १० लाख संगठित सदस्य बनाउने एमालेको लक्ष्य रहेको उहाँको भनाई छ । सोही योजनामा ‘मिसन–२०८४’ समेत पर्ने एमालेले जिकीर गरेको छ ।

‘हामी आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी संगठन निर्माण र व्यवस्थापनमा लाग्ने योजनामा छौं । एमाले कसैसँग डराएर होइन, एकल बहुमत कसरी ल्याउन सकिन्छ र देश र जनताका पक्षमा काम गर्न सकिन्छ भनेर लागेको छ । मिसन–२०८४ हाम्रो एउटा लक्ष्य हो’, एमाले पोलिटव्युरो सदस्य बिशाल भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी र जनमतलगायतका राजनीतिक पार्टीहरू पनि व्यवस्थित र सङ्गठन विस्तारमा केन्द्रित भएको सम्बधित पार्टीका नेताहरूले बताएका छन् । राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार राप्रपाले आगामी एक वर्षमा २ लाख क्रियाशील सदस्यता थप्ने निर्णय गरेकोे छ ।

उहाँले भन्नुभयो–‘पार्टीले प्रत्येक भूगोलमा खट्ने गरी करिब ९ सय नेता कार्यकर्ताहरूलाई ६ महिनाको कार्ययोजना नै बनाएर लागेका छौं ।’ गत असार २८ गते राप्रपाले आफूलाई नवीन राप्रपाको रूपमा स्थापित गर्न २१ बुँदे कार्य योजना सार्वजनिक गरेको थियो ।