गैर आवासीय नेपाली संघको अधिवेशन शुरु

अध्यक्षमा ४ जनाले प्रतिस्पर्धा गर्दै


काठमाडौं  । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं अधिवेशन मंगलबारबाट राजधानीम शुरु भएको छ । शुक्रबार सम्म संचालन हुने उक्त अधिवेनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो । काठमाडौं सोल्टी होटलमा भएको कार्यक्रममा विश्वभर छरिएर रहेका नेपालीको उपपिस्थती रहेको छ ।

अधिवेशनमा ५९ देशका ४ हजार २ सय २७ प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये ५९ देशमा अधिवेशन भएको थियो भने ५९ मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो । गैरआवासीय नेपाली संघको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भइसकेको छ ।
अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेको एनआरएनले जनाएको छ । मंगलबार राष्ट्रपति पौडेलले संघको ११औं अधिवेशनको उद्घघाटन सत्रलाई सम्बोधन गर्दै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र लगानीको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको बताउनुभयो ।ख्यातिप्राप्त व्यापारी, बौद्धिक वर्गले भाग लिएको कार्यक्रमले नेपालमा लगानीका सम्भावित स्थान, व्यवसायिक संस्थाको भूमिकालगायत विषयमा छलफल गर्न डां राजु अधिकारीको संयोजकत्वमा एउटा समिति बनाएको थियो ।
उक्त समितिले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघलगायत संघसस्थासँग सामूहिक छलफल गरेको छ ।

यसै गरी कात्तिक १ गतेसम्म ज्ञान सम्मेलन र २ गते एनआरएनएको नयाँ कार्यसमितिको लागि निर्वाचनको कार्यतालिका रहेको छ । निर्वाचनका लागि यसै वर्षदेखि स्वदेश र विदेशका मतदातालाई अनलाइनबाट भोटिङ गर्ने व्यवस्था गरिएको छ । अन्तिम दिन कार्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले महाधिवेशनको समापन गर्नुहुने भएको छ ।

बालुवाटारमा एनआरएनलाई नागरिकता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो संघर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो उपलब्धि भएको बताउनु भएको हो ।

नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक,सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न सङ्घर्ष गरेको प्रधानमन्त्रीले बताउनु भएको छ । गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरिएको बताउनुभयो ।

सघंका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेसँगै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएको बताउनभयो । यस्तै अध्यक्ष कुल आचार्यले मुलुकको विकासमा ‘डास्पोरा’को महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

सघंका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कागजको टुक्रोमात्र नभई गैरआवासीय नेपालीको मुटुको अंश भएको बताउनुभयो ।प्रधानमन्त्रीबाट नागरिकता लिएका गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा मतदान गर्ने र उम्मेदवार हुने बाहेकका सबै अधिकार आफूहरूले पाउनुपर्ने बताउनु भएको छ । तर गृह मन्त्रालयले भने गैरआवासीय नेपालीहरूले नेपाली राहदानी लिने, सरकारी सेवामा प्रवेश गर्ने लगायतका अधिकार नहुने बताएको छ ।

विसं २०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ । गत जेठमा बनेको त्यस्तो नागरिकता दिने कानुनले पनि धेरै कुरा स्पष्ट गरेको छैन । गैरआवासीय नेपाली संघको निर्वाचनअघि वितरण सुरु भएको यस्तो नागरिकताले दिने अधिकारबारे धेरैले चासो राखिरहेका छन् ।