गोकुल बास्कोटालाई एमाले कार्यकर्ताको खुल्ला पत्र

भोट माग्न र बधाई दिन किन मुटु काँपिरहेको छ कमरेड ? 

98
Shares

महाधिवेशन–अधिवेशन र सम्मेलनहरु पार्टी जिवनका उत्सवहरु हुन् । तर पछिल्लो कालखण्ड जसरी दशैं गरिबका लागि दशा बनिरहेको छ पार्टी भित्र पनि कमजोर पक्षहरुको लागि सम्मेलनहरु उत्सव नभएर पिडादायी जमघटमा रुपान्तरण भई रहेको छ । हरेक कम्युनिष्ट पार्टीहरुले अधिवेशनमा तीन वटा विषयलाई महत्त्व दिन्छन्– आगामी योजना, विगत कामको समीक्षा र नयाँ नेतृत्व । यो विषय एमाले बागमती प्रदेश महाधिवेशनमा पनि प्रवेश भयो । तर घनिभूत रुपमा छलफल हुन सकेन, परम्परालाई निरन्तरता दिनु बाहेक कार्यकर्तामा नयाँ उर्जा, जोश, जागर थप्ने काम भएन । आगामी योजना, विगत कामको समीक्षा भन्दा नयाँ नेतृत्व चयनमा मात्र अधिवेशन केन्द्रित रह्यो । यसले हामीजस्ता इमानदार कार्यकर्ताहरुको मन निकै कुड्याएको छ । किनकि, हामी एमालेबाट देशको भविष्य देखिरहेका छौँ, शान्त र समृद्धि नेपालको सपना बोकिराखेका छौँ ।

अधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि नेताहरुले देखाएको अपरिपक्वता र अवैज्ञानिक दौडधुपले सबैभन्दा बढी चोट हामीजस्ता कार्यकर्ताहरुलाई पु¥याएको छ । नेतृत्वको एकपक्षिय लगावले गर्दा एउटै भूगोलका कार्याकर्ताहरु पनि विभाजित हुन बाध्य पारिए । बागमती प्रदेशको महिला उप–सचिवको प्रतिस्पर्धाबाट प्रसंग सुरु गर्न चाहन्छु । लामो राजनितिक संघर्षका कठिन परिस्थिति पार गरी  आएका आशा लाग्दा दुई योद्धाहरू जो एउटै जिल्ला मात्र हैन एउटा निर्वाचन क्षेत्रका पनि हुन्ती दुवैले महिला उप–सचिवमा मनोनयन गरेपछी दुईमा एक रोज्न कठिन हुन पुग्यो । यो पटक काभ्रेपलान्चोकको लागि नचाहेर पनि विभाजित हुनु पर्ने बाध्यता आइलाग्यो । हुन त विभाजित पनि के भन्नू ९९ प्रतिशत एकातिर १ प्रतिशत एकतिर थियो तै पनि एक मत हुन नसकेको सत्य हो ।

 अन्यायका विरुद्ध संघर्ष गरी  राजनीतिमा स्थापित दुवै जनालाई चाहेर पनि प्रतिनिधिहरुले एकै चोटि न्याय गर्न सक्ने अवस्था रहेन । बिचारमा दुवै जना सशक्त थिए । दुवै जनामा समान बिशेषताका बाबजुद उप सचिवको उम्मेदवार हुँदै गर्दा यी दुइमा केही भिन्नता प्रस्ट देखिन्थ्यो । एकजना पार्टी जिल्ला कमिटि उप–सचिवको जिम्मेवारिमा बहाल थिइन अर्की अधिवेशन चल्दै गरेको बाग्मती कमिटीको सदस्य थिइन । एउटीले आफू आबद्ध पदाधिकारिमा उठ्ने ३ महिना अगाडि नै घोषणा गरेकी थिईन भने अर्कीले आफू उम्मेदवार हुने ३० मिनेट अगाडि पनि आफैलाई थाहा थिएन । जिल्लाको मूल नेतृत्वको सिङ्गो समर्थन एउटालाई थियो अर्कीलाई पार्टिभित्र मैले उचित भूमिका पाएन भन्ने जिल्ला नेताहरुको अदृश्य समर्थन र शुभेच्छा थियो । यिनै अनुकूलता र प्रतिकुलताको बिचमा सर्वसहमति गर्ने प्रयास सफल नभए पछि निर्बाचन प्रक्रिया अगाडी बढ्यो । सामाजिक सञ्जाल विशेष गरी फेसबुकबाट भोट माग्ने काम सुरु भयो ।

मुखले भक्तकुमारी लामाको पक्षमा छु भन्ने साथीहरू सबै जनाले एक छत्र कमरेड रिता ढकालको पक्षमा मत मागेको देखेपछि  लाग्यो कतै जिल्ला पार्टीको तर्फबाट अपानी त जारी भएको छैन ? केही बेर सोचें अनि केही क्रोध, केही डर केही आशंकाको बिचमा मैले कमरेड भक्त कुमारी लामाको पक्षमा आफूलाई उभ्याए । असोज १० गते बेलुकी पार्टीको आधिकारिक उम्मेदवारी बिरुद्ध न उभिन केही साथीको सल्लाह सुझाव आयो त्यसलाई सामन्य रुपमा नै लिए ।

असोज ११ गते बिहान निर्वाचन हुने र नहुने अन्योलताकै बिचमा पार्टी केन्द्रीय कार्यालय पुगे । माहोल निर्वाचनमय भई सकेको रहेछ । उम्मेदवारहरु आ– आफ्नो प्रचार सामग्री लिएर हुल हुलमा भोट माग्ने क्रम सुरु भयो । म र केही साथी रमिते भई रहे । यही  क्रममा काभ्रे जिल्ला कमिटिले कमरेड रिता ढकाललाई लिएर प्रतिनिधिहरुको बिचमा पुग्न थाल्यो । म लगायत पाँचखालका ५ जना साथीहरू छलफल गरेम  हामी के गर्ने ? हामीले आफ्नो भुगोल ( पाँचखाल ) को उम्मेदवारको पक्षमा भोट माग्ने सामूहिक निर्णय ग¥यौं । त्यसबाट हुन सक्ने सम्भावित जस्तो सुकै परिणाम समेत भोग्न आफूलाई मानसिक रुपले तयार गरी भक्त कुमारी लामालाई भोट माग्न सुरु ग¥यौं । हामीलाई थाहा थियो हामीले माग्दैमा प्रदेश स्तरको नेताले भोट दिने हैन तर भक्त कुमारी लामाको पक्षमा उसको आफ्नै जिल्लामा कोही  छैन भन्ने दिन खोजेको सन्देश चिर्न हामी सफल भए नेकपा ( एमाले ) केन्द्र देखि प्रदेश र मेरो आफ्नै स्थानीय तह सम्म विपक्षमा छौ ।

एमाले धेरै समय सत्ताको विपक्षमा रहेको छ । राज्य सत्ताको विपक्षमा रहन मलाई कहिले पनि गाह्रो भएन किनकि मेरो साथमा पार्टी छ भन्ने लागि रहयो तर मलाई असोज ११ गते थाहा भयो राज्य सत्ताको विपक्षमा भन्दा पार्टी सत्ता ( कथित संथापन ) को विपक्षमा उभिन धेरै गा¥हो रहेछ । अझ भनौँ कुनै ठूलो भिरको डिलमा उभिनु र पार्टी सत्ताको विपक्षमा उभिनु एउटै अनुभूति हुने रहेछ ।

जब मतदान भएको दिन एका बिहानै निन्द्रा खलबल हुने गरी  कमरेड गोकुल बास्कोटाको फोनको घण्टी मोबाइलमा बजेपछि लाग्यो यो आन्तरिक निर्वाचन ठुलै प्रतिष्ठाको विषय बन्दैछ । आफ्नो प्यारो नेताको फोनले हमेशा चंगा हुने मेरो मन पहिलो चोटि निरुत्साहित बन्यो । गाली खाईन्छ कि भन्ने आशंका (राम्रै प्रयोजनले फोन गरेको पनि हुनसक्छ) ले फोन रिसिभ गरिन । भेटमा के भन्ने हो भन्ने खुलदुली मनमा बोकी हिँडे । पार्टी एउटै हो र पार्टी बलियो बनाउन विधानले दिएको अधिकार प्रयोग गर्न किन डराउने भनेर आफैले आफैलाई सम्झाउँदै च्यासल तिर लम्किए ।

 कमरेड गोकुल बास्कोटाको साधारण कार्यकर्ता म उहाँको हक्की स्वभावसँग अभ्यस्त थिए । उहाँ आफै उम्मेदवार भएका तिनवटा आम चुनाव र पार्टी जिवनका धेरै प्रतिस्पर्धामा उहाँले झुकेर नमस्कार गरेको मलाई त्यति स्मरण छैन।  तर, यो पटक एक उप सचिवको लागि कमरेड गोकुल बास्कोटाले जोडेको हात मेरो आफ्नै आँखाले देखे पनि सत्य हो जस्तो लागिरहेको छैन । दृश्यहरु जति रसपूर्ण थियो परिणाम त्यस्तै अर्थपुर्ण आयो । मलाई लागेको थियो निर्वाचन जे जस्तो रहे पनि पार्टी एउटै हो परिणाम आएपछि सबै तिता मिठा सकिन्छ । तर, कार्यकर्ता लक्षित उहाँको स्टाटस एकफेर अध्ययन गरौँ । कुनै पनि घटना प्रभावित भएर सँगसँगै हिँडेका साथीहरु प्रति त्यति मात्र टिप्पणी गर्नु ताकी भोलि पनि सँगसँगै हिँड्ने परिवेश जीवन्तै रहोस् ।

उग्रता एमालेले छोडेको चार दशक भई सक्यो । चुनाव भएपछि  कोही जित्छ हार्छ र त्यो स्थायी हैन लक्ष्य स्थायी हो – गोकुल बास्कोटा कमरेड ! तपाईँ काभ्रेपलान्चोकको सीमित दायरा पार गरेर राष्ट्रिय राजनीतिमा जताततै छाउनु भएको छ । मलाई लाग्छ काभ्रे एमालेका हरेक नेता कार्यकर्ताहरु खुसी त छन् नै ती तपाइका प्रगतिका सम्मान योग्य हकदारहरु पनि हुन । कुनै एकाध घटनामा बहकिएर तपाइले कार्यकर्ता तहमा ओर्लिएर सवाल जवाफ गर्न मिल्छ ??? आफ्नै कार्यकर्ता मध्यको एउटाको पक्षपाती गर्दै जाँदा तपाईँ सधै सर्बमान्य हुन सक्छ ? आफ्नै कार्यकर्तालाई भितामा पु¥याएर पार्टी बलियो बन्छ ?? तपाईँलाई थाहा छ, गाउँ गाउँमा हरेक निर्वाचित वडा अध्यक्ष हरुले फरक पार्टीमा आस्था राख्नेहरुलाई एउटा साधारण सिफारिस लिनलाई पनि धेरै दुःख दिइरहेको छ । प्रतिस्पर्धीलाई निषेध गर्दै जाने तपाईँ जस्तै ठूला नेताहरुको स्कुलिङ यसको प्रमुख कारण हो । यसले न पार्टी बलियो बनाउँछ न लोकतन्त्र ! कुनै साधारण उपभोक्ता समितिको पानी सदस्य पाउँदा पनि बधाईको ओइरो लगाउने एमालेका हातहरु आफ्ना सहकर्मी मित्रवत् प्रतिस्पर्धामा प्रदेश स्तरीय कमिटीको उप सचिवमा विजय हुँदा समेत बधाई दिन तपाइको अनुमतिको प्रतीक्षा गर्छ भने तपाईँ कस्तो पार्टी निर्माण गर्दै हुनुहुन्छ ??? किन काँप्छ हाम्रो मुटु बधाई दिन ??? त्यो पनि थाहा छ कसले बधाई दियो, लाईक कमेन्ट गर्‍यो फेहरिस्त तपाईंको मा कसले छिटो सूचना दिने भनेर केही साथीहरूको होडबाजी चलिरहेको छ ।

तपाइलाई नेता मान्छु भन्ने इमानदार कार्यकर्ताहरु तपाईंलाई जबर्जस्त किन अन्तै धकेल्ने कोसिस गरिरहेका छन् ?? हामीले जनवादी केन्द्रीयता मानेकै छौँ  तर, केन्द्रीयता लागू नभएर जनवाद तिर गएपछि पनि किन तपाईँ केन्द्रीयता लागू गर्न खोज्नुहुन्छ ? स्टालिनले ‘यदि तपाईँ कुनै वस्तुमाथि विश्वास नगरी शंका मात्र गर्नु हुन्छ भने स्वयम् आफूप्रति पनि विश्वास नगर्नुस्’ भनेर भन्नु भएको थियो । मैले पनि एमालेको च्यासल दरवारभित्र एमालेले एमालेलाई नै विश्वास नगर्ने ठूलो भीड देखेँ । आफैले आफैलाई विश्वास गर्न नसक्नेहरुले एमालेलाई सर्वनाश गर्लान् भन्ने मलाई लागिरहेको छ । यो अधिवेशनमा मैले स्टालिनलाई सम्झे । उनले एक पटक भनेका थिए– ‘कूटनीतिमा इमानदारिताको कुनै स्थान हुँदैन’ । अब एमालेमा पनि इमानदारिताको कुनै स्थान छैन त ?

अन्त्यमा ः हिजोको चल्ला मलाई सिकाउने भनेर तपाइलाई लाग्दो हो। तर, मैले सिकाउन खोजेको हैन । तपाईका वरिपरि फनको मार्नेहरुले तपाईँलाई केही सल्लाह सुझाव दिने हैसियत नराख्ने देखिएकोले तपाईका कमजोरी सच्याउन अनुरोध गरिएको हो । तपाईँ केशव बडाल, शिव बहादुर देउजादेखि बिदुर सापकोटा हुदै तपाइले पार्टी नेतृत्व लिएको इतिहास हामीलाई सगर्व सुनाउनु हुन्छ । विगतमा भएका राम्रा कुराहरुको अनुसरण र नराम्रा कुराहरुको अन्त्य भएको छ की छैन ? कतै गलत प्रबृत्तिहरुको पुनरावृत्ति त भई रहेको छैन । तपाईँ पछिको सक्षम नेतृत्व हुर्काउन तपाईँको भूमिका हामीले देखिने गरी  किन भई रहेको छैन । एमाले भक्त भन्दा किन गोकुल भक्तहरु बढी  रहेका छन् ?? पार्टी नेतृत्व मात्र हैन जनसंगठनहरुको वडा स्तरीय नेतृत्व चयन समेत तपाईँको चाहानामा मात्र हुने कुराले मलाई लाग्छ राम्रो सन्देश जाँदैन । तपाईँको वरिपरि परिक्रमा गर्नेहरुलाई खाली फलानाले यसो गर्‍यो उसो भन्यो भनेर रिपोर्टिङ गर्नु भन्दा तिनिहरुलाई उत्पादनको लागि उजाड बस्ती पठाउनुहोस । समृद्ध नेपाल बनाउन मात्र हैन स्वार्थ केन्द्रित विपक्षी गठबन्धन पनि सजिलै परास्त गर्न सकिन्छ ।

 मैले गोकुल बाँस्कोटालाई मार्क्सवादी आँखी झ्यालबाट हेर्ने गरेको छु । माक्र्सवादले त एउटा कम्युनिष्ट पार्टीको नेतृत्वको हृदय विशाल हुनुपर्दछ, इमानदार र सक्रिय हुनुपर्दछ भन्छ । क्रान्तिका हितहरुलाई उसले आफ्नो स्थान भन्दा प्यारो सम्झनुपर्दछ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितका अधिनमा राख्नुपर्दछ । पार्टीको सामूहिक जीवनलाई मजबुत बनाउन र पार्टी र जनताको सम्बन्धलाई अझ बलियो पार्न जहाँ पनि सही सिद्धान्तमा अडिरहनु पर्दछ । कुनै व्यक्तिको भन्दा बढी उसले पार्टी र जनताको चिन्ता लिनुपर्दछ । आफ्नोभन्दा बढी अरुहरुको वास्ता गर्नुपर्दछ । यसो भए मात्र सही अर्थमा उसलाई कम्युनिष्ट पार्टीको नेतृत्व भन्न सकिन्छ । सायद मैले बुझेको नेतृत्व सम्बन्धी मार्क्सवादी धारणा गलत छैन भने तपाईँमा माथिका यी सबै कुराहरु भएर पनि किन किन अचेल फितलो कार्यान्वयन भइरहेको छ जस्तो लाग्छ । आशा छ आगामी दिनमा सबैलाई बरोबरी दृष्टिले व्यवहार गरिनेछ । बिजया दशमिको शुभकामना सहित हार्दिक अभिवादन !!!

 (लेखक नेकपा एमाले पाँचखाल नगर कमिटीका सचिव हुनुहुन्छ)