तालाबन्दीले महासंघको गरिमा घट्ने हो, संवादबाटै निकास खोजौँ : अध्यक्ष पोखरेल

0
Shares

बुटवल  ।

नेपालपत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दी जस्ता गलत चिन्तनमा नलाग्न पत्रकारसम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपालपत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन् ।

शुद्धीकरणको विषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ सङ्केत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे ।

‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धीकरण गरिएको हो, विजयादशमीको शुभकामना दिदैं बुटवलबाट भन्छु, तालाबन्दीले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भने –‘संवाद गरौँ, सहकार्य गरौँ, विधान र शुद्धीकरण अनुसार नयाँ कोर्समा अगाडि बढौँ ।’

पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाबकिताबमा मात्रै सिमित नहुनआग्रह गरे । ‘एउटा संख्या बढि र तलहुँदामा चुनावजित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धीकरणले गर्न खोजेको त्यही हो।’ र माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’उनले भने।  नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने उनको कथन थियो ।  विगतमा निषेध गरिए पनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ ।

उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धीकरण थालेको बताए । ‘शुद्धीकरण मार्फत सुधारको प्रयत्न गरिएको हो’ अध्यक्ष पोख्रेलले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतिहरू देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा नेपालपत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताए ।

कार्यक्रममा नेपालपत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिति रहेको सचिव विनोद परियारले जानकारी दिए ।

कार्यक्रममा नेपाल अमेरिकापत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरिएको थियो।