पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चितकालिन तालाबन्दी 

0
Shares

 जुम्ला।

प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चित तालाबन्दी गरेको छ । नयाँ सदस्यता वितरण तथा सदस्यता नवीकरणमा पूर्वाग्रह भएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले तालाबन्दी गरेको  अध्यक्ष नौरते नेपालीले बताए ।

 पेसागत सुरक्षालाई गौण ठानी संस्थागत छविलाई धमिल्याउने गरी राजनीति घुसाई नेपाल प्रेस युनियन र प्रेस सेन्टरमा आवद्ध भएकाहरुलाई नियम विपरीत सदस्यता प्रदान गर्ने र प्रेस चौतारी नेपालमा आबद्धता राख्नेहरुलाई छानिछानी सदस्य नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने विषयमा नियत देखिएको हुनाले तालाबन्दी गरिएको अध्यक्ष नेपालीले बताए ।

पत्रकारीताको मर्यदालाइ जोगाई राखेका पत्रकारहरुलाई राजनीतिक कुदृष्टिले सङ्गठित हुने अधिकारबाट वञ्चित गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा महासंघलाई विकास गर्न चौतारी दृढ रहेको स्मरण गराइएको छ ।

तर, नेपाल पत्रकार महासंघले निर्धारण गरेको १५ बुँदे मापदण्ड, २०७९ पुष ८ र ९ गते सुर्खेतमा सम्पन्न साधारणसभाबाट गरिएको सर्वसम्मतको निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनका बिच भएको सहमति र भावना विपरीत सदस्यता वितरण तथा नवीकरण गरिएको हुनाले तालाबन्दीको स्थितिमा पुग्न बाध्य भएको अध्यक्ष नेपालीको भनाइ छ । महासङ्घद्वारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले अनुरोध गरेको छ।

सदस्यता नवीकरण तथा वितरणको सार्वजनिक सूची नसच्याएसम्म कडा आन्दोलन गर्न चौतारी तयार रहेको प्रेस विज्ञप्तिमा लेखिएको छ । महासंघले मूल्य, मान्यता, प्रणाली, विधान र नियमावली विपरीत वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथि प्रश्न उठ्ने गरी कदम चालेको प्रेस चौतारी जिल्ला शाखा जुम्लाको ठहर छ ।