विकासमा मिडियाको दायित्व कार्यशाला सम्पन्न

0
Shares

दोलखा। 

दोलखाको भीमेश्वर नगरपालिकाको सहयोगमा चरिकोट मिडिया फाउण्डेशनले आयोजना गरेको तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला गोष्ठी शनिवार सम्पन्न भएको छ । गोष्ठीका सहभागिहरुलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले प्रमाणपत्र वितरण गरेका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  भीमेश्वर नगरपालिकाका नगरप्रमुख मानन्धरले पत्रकारहरुले मानवीय संवेदनाका विषयलाई प्राथमिकता दिनुपर्ने बताए । उनले समाजका महिला, दलित, जनजाति, विपन्न बर्गलाई लक्षित गरेर विकासका प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
‘पत्रकार समाजको अगुवा हुन्, नगरप्रमुख मानन्धरले भने– पत्रकारहरुले मानवीय संवेदना जोडिएका विषयलाई प्राथमिकता दिँदै विकासका गतिविधिहरुको निगरानी गर्नु पर्छ ।’

चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, कालिञ्चोक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम, तालिमका सहभागी सुधा श्रेष्ठ र नरमाया थामीले मन्तव्य व्यक्त गरेका थिए  ।

कार्यशालामा पत्रकारिताको सिद्धान्त र नीतिगत पक्ष, भीमेश्वर नगरपालिकाको गतिविधि, विकास र पत्रकारिता, आचारसंहिता र कानुनी पक्ष, प्रविधि र फोटोग्राफी, योजना तर्जुमा, योजना अनुगमन लगायतको विषयमा छलफल गरिएको फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताए ।

कार्यशालामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नगरपालिकाका ई. सुरेश राउत, अधिवक्ता कृष्ण वस्नेत, नगरपालिकाका अधिकृत नारायण सेढाई, पत्रकारहरु चिरञ्जीवी मास्के, शम्भु गौतम, जीवन लामा, केदार शिवाकोटी लगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

कार्यशालामा विभिन्न मिडियामा कार्यरत पत्रकार, स्थानीय गौरीशङ्कर बहुमुखी क्याम्पस र कालिञ्चोक माविमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र विभिन्न संस्थामा कार्यरत प्रतिनिधि गरी ३५ जनाको सहभागिता रहेको थियो ।