कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ



काठमाडौँ।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार सिंहदरबारको दक्षिणी गेटअगाडिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

मानवअधिकार तथा शान्ति समाजले विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई राष्ट्रपतिले दिएको आममाफी विरुद्ध विरोध प्रदर्शन गरेको थियो।

प्रदर्शन गर्ने क्रममा प्रहरीको निषेधित घेरा नाघ्न खोजेपछि अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका १४ पुरुष र दुई जना महिला गरी १६ जनालाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको छ।

सोही विषयलाई लिएर यसअघि असोज २२ गते समाजले राष्ट्रपति कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेको थियो। त्यसक्रममा पनि प्रहरीले पहाडीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्