सुटिङअघि नै बिक्यो महाजात्रा



जात्रा श्रृंखलाको फिल्म महाजात्राको निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको छ।

विदेशमा नेपाली फिल्मको बजार वृद्धि गर्नेमध्येको फिल्म जात्राको निर्माणाधीन नयाँ सिरिज महाजात्राको निर्माणअगावै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको हो। नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको अस्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले महाजात्राको भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका हुन्। उनले कथाले पूर्णता नपाउ“दै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई जात्रा शृंखलाप्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण बताएका छन्। ‘अन्य फिल्मको प्रदर्शनीको समयमा समेत जात्राको आगामी सिरिज कहिले आउ“छ भन्ने जिज्ञासा आइरहेकाले मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाएर लेखनकै क्रममा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हुँ, वितरक थापाको भनाइ छ ‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नुभएको छ।’ उनले जापान, हङकङ, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अस्ट्रेलिया र युरोपमा सो फिल्म नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी गराए।

फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले जात्रा शृंखलाको सफलता र दर्शकको प्रतीक्षाले नै महाजात्रा निर्माण हुन लागेको बताए। आपतकालीन अवस्थामा आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने महाजात्रामा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहनेछ। यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत र अरविन खड्कासँगै यसपटक हरिवंश आचार्य जोडिने भएका छन्। दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको जात्रा शृङ्खलाको आगामी फिल्म महाजात्रालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन्। फिल्मको छायांकन दशैँलगत्तै शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्