लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखॉंचीका नेवार समुदायको ऐतिहासिक एवम् मौलिक भैरव नाच हिजोआज लोकप्रिय हुँदै गएको छ । तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा मात्रै नभई अन्य समुदायमा लोकप्रिय रहँदै आएको छ ।
जिल्लाको डिभर्ना, लात्तेवाज, नुवाकोट र पटुवाथुम (बगैंचा)मा परापूर्व कालदेखि भैरव नाच नाच्ने परम्परा रहेको छ । भैरव नाचको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य छैन । तर, काठमाडौँ उपत्यकामा मल्लकालदेखि नै यो नाच सुरु भएको हुनसक्ने जनविश्वास छ । नेवार समुदायको बसाई सराईको क्रमसँग यो नाच काठमाडौँ उपत्यकाबाट अर्घाखाँचीसम्म पुगेको अनुमान छ ।
भैरव नाच पोखरा, बाग्लुङ, मकवानपुर, पाल्पा, दैलेखमा समेत हुने गरेको छ । नेवार समुदायको पहिचानका रूपमा रहेको यो नाच पछिल्ला वर्षमा अर्घाखॉंचीबाट रुपन्देहीको बुटवलमा बसोबास गर्ने नेवार समुदायले पनि सुरुवात गरेका छन् । श्रीकृष्ण जन्माष्टमीदेखि तिहारको ९यमपञ्चक० सुरु हुनुपुर्व अगाडिसम्म करिब डेढ महिनासम्म यो नाच सञ्चालन हुन्छ । देउसी भैलोको मादल बज्नु अघि भैरव नाचलाई विसर्जन गरिसक्नुपर्ने मान्यता रहेको पाइन्छ ।
भिन्न परिवेश र रहन सहनमा हुर्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ । यो नाच रातिको समयमा विशेषगरी सूर्य अस्तपछि सूर्योदय अघिसम्म स्थानीय चलनअनुसार बिहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ । कथंमकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अर्को ठाउँमा गई नाच्नु प¥यो भने बोकाको बली दिनुपर्ने प्रचलने छ ।
अर्घाखाँचीको भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देही हुँदै काठमाडांै र भारतको राजधानी नयॉंदिल्लीमा समेत प्रदर्शन गरिएको छ । यसबाट पनि प्रस्ट नाचको लोकप्रिय स्पष्ट हुन्छ । नेपालका करिब ६५ जिल्लामा विभिन्न प्रकारका मकुट नाच नाचिने गरेको पाइन्छ । भैरव नाच पनि मकुट नाचमध्येको मुख्य नाच रहेको संस्कृतिविद्हरूको भनाइ छ ।
नाचका विशेषता
भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल १५ मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रातो भैरव सहायक हुन् ।
साथमा डंकिनी पनि हुन्छ । पुरुष नर्तकले महिलाको भेषमा श्रृंगार गरेको हुन्छन् । यो स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ । तीनवटै भैरव आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चअर ९चौरी गाईंको पुच्छर०, मालासहित श्रृंगार गरी भगवानको विशाल आकृति निर्माण गरी प्रदर्शन गर्ने गरिन्छ । तान्त्रिक विद्यामा निपूर्णहरूलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । (काम्न सुरु हुन्छ, ताल सकिएपछि आफैं शान्त हुन्छन्) यसरी काम्ने दर्शक पनि हुन सक्छन्, नर्तक पनि हुन सक्छन् । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गरिन्छ ।
धार्मिक जनविश्वास
नेवार समुदायमा यस नाचका नर्तकहरू जो भैरवको स्वरुपमा हुन्छन् उनीहरुलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । भैरव शब्दको तीन अक्षरको अर्थ ब्राम्ह, विष्णु र महेश्वरको शक्ति मिलेर वनेको भन्ने किम्बदन्ती पाइन्छ । भैरव शिवको गणहरू भूत, प्रेत, पिचास आदिको अधिपति पनि मानिएको छ । भैरव मुख्यतया आठ प्रकारको रहेको छ असितांग भैरव, रुद्र भैरव, चन्द्र भैरव, क्रोध भैरव, उन्मत्त भैरव, कपाली भैरव, भीषण भैरव, संहार भैरव हुन्छन् ।
शिव पुरिणका अनुसार अंधकासुर नामको दैत्यको सम्भार गर्नको लागि भगवान शिवको रुधिरवाट मार्गशिर्ष कृष्ण अष्टमीका दिन काल भैरव र वटुक भैरवको उत्पत्ति भएको भन्ने जनविश्वास छ । अझ भनौ भैरवको अर्थ भय (डर) को हरण गर्ने र जगतको भरण गर्ने भन्ने संस्कृतिविद्हरुको भनाइ छ । कालो भैरव शिव, सेतो भैरव गणेश र रातो भैरव देवी प्रतिकका रूप मानिन्छ भने डंगिनीलाई स्वर्गको अप्सराको रुपमा पूजा गरिन्छ । डंगिनी नारीको स्वरुपमा सजिएको पुरुष हुन्छन् । त्यसैले आफ्नो मनोकामनाका लागि भैरव देवताको भाकल गर्ने चलन पनि छ । कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ ।
नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली, घिन्ताङघिसी ट्वाक्क), घोडा नाच, चरा नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ।
लोप हुँदै नाच
यस नाचको लागि धेरै जनशक्ति, समय र रकमको आवश्यक हुन्छ । यो नाचको लागि नर्तक, बाध्यवादक र सहयोगीहरु समेत गरी ५० जना युवाको आवश्यक रहन्छ । तर, अहिले युवाशक्ति रोजगारीको शिलसिलामा विदेश जाने र ग्रामीण क्षेत्रवाट चर्को बसाई सराईका कारण जनशक्तिको अभावको कारणका नाच लोप हुने खतरा रहेको छ ।
एकातिर गाउँमा युवापुस्ताको नहुने र अर्कोतिर लामो समयसम्म नाच सञ्चालन गर्नुपर्ने भएकाले जनशक्ति र आर्थिक समस्या प्रमुख हो भने सीप हस्तान्तरण अर्को समस्या मानिन्छ । बाजा बजाउने सीप, ख्वाप बनाउने सीपलगायत अन्य कामको सीप सीमित व्यक्तिमा मात्रै रहेको छ ।
त्यस्तै पश्चिमा संस्कृतिको प्रभावले नाचको मौलिकता मेटिने खतरा पनि छ । पुरानो पुस्ता घट्दै जाने र नयाँ पुस्ता पलायन हुँदै जाँदा ऐतिहासिक कला र संस्कृतिमाथि कालो बादल छ । तथापि, जागरुक जनशक्तिले कालो बादलमा चाँदीको घेरा देखाएको छ । सरकार विशेषगरी स्थानीय तहको समन्वय आवश्यक छ ।
घरदेश, प्रदेश जहाँ कर्म गरेर बसेता पनि हाम्रो पहिचान हाम्रो गौरव ऐतिहासिक पौराणिक नाचको संरक्षण र प्रवद्र्धनको लागि आ–आफ्नो ठाउँबाट गरी लागि पूर्खाले छोडेर गएको ऐतिहासिक एवम् मौलिक भैरव नाचको संरक्षण गर्नु नयाँ पुस्ताको कर्तव्य हो।
लेखक अर्घाखॉंची–काठमाडौँ नेवार सम्पर्क समाजका अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया