ट्राफिक कारबाहीबाट ७३ लाखबढी राजश्व सङ्कलन



म्याग्दी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले एक वर्षको अवधिमा ७३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्ष २०७९-०८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनलाई गरेको कारबाहीबाट कुल ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गरी सञ्चालन भएका विभिन्न प्रकृतिका यातायातका सवारीसाधनहरुलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कारवाहीमा पर्ने सवारीसाधनतर्फ सबैभन्दा धेरै कार तथा जिप रहेका छन् । गतवर्ष ५ हजार ९९ वटा कार तथा जिपलाई गरिएको कारबाहीबाट मात्रै ४१ लाख ९९ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यसैगरी १ हजार ६ सय १५ वटा मोटरसाईकललाई गरिएको ट्राफिक कारबाहीबाट १४ लाख पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए । त्यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४८ वटा ट्याक्टरलाई गरिएको ट्राफिक कारबाहीबाट सातलाख ८२ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको उनले जानकारी दिए । ९ सय २१ वटा ट्रक तथा ट्रिपरलाई गरिएको कारबाहीबाट छ लाख ३३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी सबैभन्दा कम ट्राफिक कारवाहीमा पर्ने ५ सय १७ वटा बसबाट तीनलाख १२ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको ट्राफिक कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताए । जिल्ला ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार ट्राफिक कारवाहीमा सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम यात्रुवाहक बस परेका छन् । यसरी गएको वर्ष कुल ९ हजार २ सयवटा सवारीसाधनहरु ट्राफिक प्रहरीको कारवाहीमा परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गतवर्ष सबैभन्दा धेरै राजश्व जेठ महिनामा नौलाख २८ हजार रुपैयाँ सङ्कलन भएको छ भने सबैभन्दा कम भदौ महिनामा चारलाख १० हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्