दशैंको मुखमा खसी बोकामा एक्युम्जा सिलियोसिस रोग

0
Shares

उदयपुर ।

 दशैको मुखमा त्रियुगा नगरपालिका भित्रका खसी बोका तथा बाख्रामा एक्युम्जा सिलियोसिस अर्थात् छेरौटे रोग लागेर किसानहरु संकटमा परेका छन् ।
अहिलेको समय नै वर्षा सकिएपछिको भएकोले र यो समयमा नाम्ले जुका लाग्ने समय भएकोले, घाँसका कारण पनि खसी बोकामा यतिबेला यो रोगले सताएको बताइएको छ । एक पटक उपचार गरेर निको भएको खसी बोकामा पनि पुनः छेरौटे रोग लाग्ने गरेको पाइएको छ ।

गाईघाट स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा दैनिक ५ वटासम्म छेरौटे लागेको खसी बोका र बाख्रा उपचारकालागि ल्याउने गरेको पाइएको छ ।
त्रियुगा नगरपालिका ३ भुल्केकी कौशिलाराईलाई घरमा भएको खसी छेरौटे रोग लागेर उपचार गर्दाको सास्ती भएको छ । उनले भनिन्। यस अघि पनि खसी बोकामा छेरौटे रोग लागेर उपचार गरेर निको भएको थियो तर पुनः बल्झेर उपचारकालागि भेटेनरी अस्पताल ल्याउनु परेको बताइन ।

यसैगरी त्रियुगा नगरपालिका ८मा संचालित नमुना कृषि तथा पशुपालन फर्म कि संचालिका सरिता खड्काले पनि खसी बाख्रा बोकामा छेरौटे रोग र नाम्ले रोग लागेको बताइन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय  प्रमुख रामनारायण साहका अनुसार खसी बाख्रा तथा बोकामा यो रोग वर्षमा तीन पटक देखिने गर्दछ । बाख खसी बोकाले चिसो नरुचाउने र झरीका कारण घाँसमा नाम्ले किरा बस्ने भएकोले सो घाँस खाएमा पनि यो रोग देखा पर्दछ ।

कलिलो घाँसमा पानीको मात्रा बढी हुने र खसी बाख्रालाई घाँस दिँदा ओइलाएको दिनु पर्दछ । छिप्पिएको घाँस पनि खसी बोकाले पचाउन नसकने भएकोले झाडा पखाला लाग्ने कार्यालय प्रमुख साहले बताए ।

यो रोगको उपचारकालागि खसी बोकालाई सुख्खा ठाउँमा राखेर ओइलाएको घाँस दिने र आँखामा र सिंगमा तोरीको तेल तताएर लाउनु पर्छ । यो रोग कमन कोल्ड जस्तो हो र यो रोगमा नाम्ले जुका किरा देखिने, मुखमा घाउ हुने, आँखामा कचेरा लाग्ने, सिंगान बगिरहने प्रमुख साहले बताए ।