‘पहुँच हुनेले माफिको लाभ पाउँदा मुलुकमा दण्डहीनतालाई प्रश्रय दिएको सन्देश गयो’



काठमाडौं। 

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले जघन्य अपराधमा जन्मकैदको सजाय तोकिएका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयले सबैको ध्यान केन्द्रित गरेको बताएका छन् ।

नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिई खुँडा प्रहार गरी हत्या गरिएको कसुरमा तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका ढकाललाई १२ वर्ष कैदको सजाय सरकारको सिफारिसमा राष्ट्रपतिले माफी मिन्हा दिएका थिए । यो प्रकरणमा सरकार र राष्ट्रपति चौतर्फी रुपमा आलोचित भइरहेको बेला मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले अहिले सक्नेले जे गरेपनि हुने भन्ने सन्देश गएको बताएका छन् ।

राष्ट्रपतिले ढकालको बाकी कैद माफी मिन्हा गरेसंगै मानन्धरकी पत्नी भारती शेर्पा न्याय माग्दै माइतीघरमा अनशन बसेकी छन् । कानुनको अपव्याख्या गर्दै उन्मुक्ति दिएको भन्दै यो प्रकरण फेरि अदालतमा पनि गएको छ । हत्या गरिएका मानन्धरको श्रीमती भारतीको चित्कार र पाएको न्याय खोसिएको अनुभूति भएको पिडादायी अभिव्यक्तिले जो सुकैको ध्यान आकर्षित गरेको भन्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले यस्तो प्रवृत्तिप्रति गम्भिरतापुर्वक सोच्न बाध्य बनाएको बताएका छन् ।

शुक्रवार नेपाल समाचारपत्रसंग कुरा गर्दै रेग्मीले भने–  दिन दहाडै हुल बाधेर सङ्गठित रुपमा गरिएको गम्भीर र जघन्य किसिमको अपराधमा माफी दिने, दिलाउने कामले समाजमा गम्भीर नकारात्मक सन्देश गएको छ । यसले सरकारले दण्डहीनतालाई प्रश्रय दिएको सन्देश गएको भन्दै उनले भने– पीडितले अन्यायको महसुस गरी पिडावोध गर्नु र आम जनसमुदायको पिडित प्रतिको सहानुभुतिले संविधान, कानुन एवं कानुनी राज्यको मूल्य मान्यता प्रति बेवास्ता गरिएको उदाहरण यो घटना हुन पुगेको छ ।

‘जस्तोसुकै अपराध भएपनि सरकार, राष्ट्रपतिमा पहुँच पु¥याउनेले माफिको लाभ प्राप्त गर्ने रहेछन् भन्ने परेपछि दण्डहिनता मौलाउने भयो’ रेग्मी भन्छन् – यसले जे गरेपनि हुने रहेछ भन्ने सन्देश जाने हुँदा यसवारे गम्भीर विचार विमर्श गर्नुपर्छ । न्यायपूर्ण समाज निर्माणको सदुपयोग गरौँ भन्दै उनले सजाय पाएको मात्र होइन पीडितको आवाज अझ गम्भीर ढङ्गले सुन्न र विचार गर्न आग्रह गरेका छन् ।

मन्त्रीपरिषदका पूर्व अध्यक्ष रेग्मीले अहिले देशको विभिन्न भागमा सामाजिक सद्भाव बिथोल्ने, धार्मिक असहिष्णुता प्रदर्शन गर्ने जस्ता कार्य भएकोप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव, धार्मिक र सामाजिक सहिष्णुता कायम गरी अघि बढ्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्