भन्सार छलेर ल्याएको ३३ बोरा चिनी समातियो



उदयपुर । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले गए राती गाईघाट बजारबाट भन्सार छलेर भारतबाट ल्याएको ३३ बोरा चिनी पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ। चाडपर्वको मुखमा गाईघाट बजारमा अवैध मालसामान बिक्री वितरण भइरहेको हल्ला चलिरहेको समयमा कालो बजारी गर्ने मनसायले मौज्दात भएका सामान पनि कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरेर बिक्री वितरण गर्ने गरेको व्यापक चर्चा भइरहेका बेला प्रहरीले उक्त परिणामको चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार गएराती १२ बजेपछि दक्षिणतिरबाट उत्तरतिर आएको हाफ डाला भएको पिकअपमा ३३ बोरा चिनी भन्सार छलेर ल्याइएको थियो ।

 त्रियुगा नगरपालिका  वडा नं ११ का ३५ वर्षीय रञ्जित चौधरीले स. १ ज १४७८ नम्बरको गाडीमा भन्सार छलेर ३३ बोरा चिनी (१६५० केजी) र १० केजी सखर ल्याएकोमा चिनी र गाडी सहित नै सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशीमा बुझाएको छ ।

बरामद चिनीको बजार मूल्य  १ लाख २३ हजार ७५० र सखरको ५ सय गरी जम्मा १ लाख २४ हजार २५० रहेको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्