काठमाडौं।
इजरायल र नेपालबीच जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने क्रममा इजरायलको गैर सरकारी संस्था हिरोज फर लाइफका ३४ जना स्वयंसेवकहरु काठमाडौंमा सिक्दै, सिकाउँदै र रमाउँदैछन् । उपत्यकाका विभिन्न पाँच वटा विद्यालयहरुमा गत आइतबारदेखि काम शुरु गरेका ती इजरायली स्वयंसेवीहरुले दुई सातासम्म पठनपाठन र विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्नेछन् ।
ती स्वयंसेवीहरुको सम्मानमा काठमाडौंस्थित इजरायली दूताबासले बुधबार स्वागत समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा नेपालका लागि इजरायली राजदूत खनान गोदरले नेपाल र इजरायलबीचको पुरानो मित्रतालाई यी स्वयंसेवीहरुले थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले स्वयंसेवकहरु कार्यरत विद्यालय र सहयोगी संस्थाहरुको खुला हृदयको प्रशंसा गर्दै भने –“ विद्यालयमा भएका यी सहकार्यहरुले शैक्षिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने मात्र होइन, दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि अझ मजबुत बनाउनेछ ।” उनले यो अभियान आगामी वर्षहरुमा पनि निरन्तर जारी रहने बताए । यतिखेर इजरायलमा सुकोट चाड चलिरहेका भन्दै कार्यक्रममा इजरायली राजदूत गोदरले सुकोट चाड र इजरायली परम्पराका बारेमा पनि जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागी एक स्वयंसेवी अमिथले नेपाली विद्यार्थीहरुसँगको आफ्नो अनुभव सुनाउँदै नेपाल समाचारपत्रसँग भने –“ हामी उनीहरुलाई अंग्रेजी भाषा, गणित, भुगोल पढाउनुका साथै इजरायलको बारेमा पनि जानकारी दिन्छौं । कतिपय साना विद्यार्थीहरु अंग्रेजी बुझ्दैनन् तर हामी शारीरिक हाउभाउ प्रयोग गरेर भए पनि उनीहरुलाई आफूले भन्न खोजेको विषय बुझाउँछौं, उनीहरुले बुझ्छन्, हामीलाई साह्रै राम्रो लाग्छ । ” उनले नेपालीहरुको हँसिलो र मायालु स्वभावले आफू निकै प्रभावित भएको पनि बताए ।
विश्वका १७ देशमा स्वयंसेवीहरु पठाउने गरेको इजरायली संस्था हिरोज फर लाइफले नेपालमा सन् २०१७ देखि स्वयंसेवीहरु पठाउने गरेको हो।
प्रतिक्रिया