ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ

0
Shares

काठमाडौं।

ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाकिस्तान राहुलपिन्डी घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहमद र अजरबैजन देश घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिल रहेका छन् ।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति १ लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।