‘दशैँ आयो खाउँला पिउँला !’ केटाकेटीको औँलानाट्यबाट गाउँ–बस्तीका घर–घरमा दशैँका श्रव्यदृश्यको पर्दा उठ्थ्यो । मिठास बोल्न थाल्थ्यो । म आफू बालक छँदाका गाउँघरका कुरा गर्दै छु ।
गाउँमा वर्षाऋतु खेतीपातीको मौसम । उदाएदेखि अस्ताएसम्म हतारो, चटारो । दिनरात नभनी खटेर खेतबारीमा काम गर्ने बेला । किसान जनताका लागि वर्षभरिको खानपानको जोहो गर्ने बेला । पानीमा भिजिन्थ्यो । जुकाले टोक्थ्यो । हिलोले हातगोडा खान्थ्यो । दुःखैदुःखका बीच पनि तनमनमा जाँगरैजाँगर उफ्र्रन्थ्यो ! जिजीवीषाले माटोसित मितेरी लाएर खटिने बेला थियोे किसानहरुको वर्षायाम !
साउन र भदौलाई वर्षाऋतु भने पनि गाउँमा खेतीको ऋतु आषाढबाटै शुरु हुन्थ्यो । काम त अझ वैशाखबाटै शुरु हुन्थ्यो । बारी जोत्ने, डल्ला फोर्ने, मकै, मास मस्याङ, बोडी, काँक्रा, फर्सी रोप्ने, तिल, आलस, घैया छर्ने आदि काम । आषाढ त मुख्य महिना । धान रोप्ने महिना । खेतीको केन्द्रमा हुन्थ्यो धान । गतिलो राम्रो चिजलाई राजा भनिने त्यस जमानामा धान अन्नको राजा मानिन्थ्यो । फलफूलको राजा आँप, तरकारीको राजा काउली । महिनाको राजा असार । असार जीवन रोप्ने, उमार्ने, हुर्काउने बेला । यसको प्रशंसामा हाम्रा कालीदासहरु हलोले जमिनमा रसमय कविता जोत्थे । किसानका लागि पसिनाको उत्सव याम हुन्थ्यो असार ।
साउन हुँदै भदौ सकिँदा खेती लाउने, गोड्ने, जलमल दिने काम लगभग सकिएको हुन्थ्यो । खेतमा धान र बारीमा कोदो, घैया पोटाउन थाल्थे । धर्ती जता हे¥यो त्यत्तिकै शश्यश्यामला देखिन्थ्यो । लहलह हरियालीले धर्तीका अङ्ग–अङ्गमा तारुण्य भथ्र्यो । जता हे¥यो त्यतै रमाइलो । मनमोहक । यसैताका केटाकेटीहरुमा प्रकृतिको सङ्गीत कोइली बोल्न थाल्थ्यो– ‘दशैँ आयो, खाउँला पिउँला !’
चाडबाड त अरु पनि थिए । वैशाख–पूर्णिमा, माघे–सङ्क्रान्ति, फागू–पूर्णिमा पनि विशेष चाडबाडका दिन हुन्थे । ठाउँ–ठाउँमा जात्रा लाग्थ्यो । जात्रा तेरो–मेरो हुन्थेन । जात्रा सबैको हुन्थ्यो । सबैले जात्रा भर्थे । सबै मिलेर नाच, गान, खानपिन, रामरमाइलो गर्थे । दोहोरी गीत जात्राको मुख्य आकर्षण हुन्थ्यो । देवीथान, नागथान, महादेवथान, पोखरी र नदीसङ्गम जात्राका साझा सनातन ठाउँ हुन्थे । थानमा लामा, भाँक्री, धामी, पुरेत, पण्डित, लाप्तावा, फेदाङ सबै आफ्ना विधान र परिधानमा तल्लीन देखिन्थे । झाँक्रीहरु जीउभरि घण्टमाला हल्लाउँदै, मुजुरप्वाँखे पगरी ढल्काउँदै ढ्याङ्ग्रो बजाउँदै सुन्दर दृश्यविधानको नाच नाच्थे । लामाहरु आफ्नै भेषभूषामा हातेमालो शैलीमा प्रार्थना गाउँदै ढ्याङ्ग्रो बजाउँदै नाच्थे ।
पुरेत पण्डितहरु किताबमाथि निहुँरिँदै पाठ गर्थे । पाठपूजाका विविध विधिविधान र शैलीहरुकोे भव्य सङ्गम बन्थ्यो थान । कोही कसैको छेकबार थिएन । एक–अर्कामा कुरा काट्ने थिएन । साउन लाग्दाका दिन साँझ घर–आँगनबाट ‘लुतो लैजा पारिडाँडे गाँडा होे’ भन्दै अगुल्टो फाल्थे । जो फाल्थेनन् ती रमाउँदै हेर्थे, सुन्थे । घरपरिवारमा जुटेसम्मको मीठोमसिनो परिकार बनाएर खान्थे । भदौमा चेलीबेटीको चाड तीज आउँथ्यो । चेलीबेटीहरु देवस्थलमा जम्मा हुन्थे, नाच्थे, गाउँथे । गाउँमा नागथान, देवीथान, महादेवथान जताततै हुन्थे । एउटा चुच्चे ढुङ्गा ठड्याइदिँदा थान बन्थ्यो ।
दशैँ अलि फरक चाड थियो । सबैको साझा चाड थियो । ठूलो चाड थियो दशैँ । जिल्ला गौँडामा पुगेका कर्मचारीहरु र लाहुरेहरु पनि दशैँमा गाउँ फर्कन्थे । घर फर्कन्थे । घरमा बा–आमा हुन्थे, दाइ–भाइ हुन्थे, श्रीमती र बालक छोराछोरी हुन्थे । मायाममता र आशीर्वादको तीर्थजस्तो हुन्थ्यो घर । छरछिमेक घरघरमा यस्तै–यस्तै भेटघाट र आवागमनका बत्ती बल्थे । दशैँमा गाउँघरमा साँच्चिकै झलमल–झलमलको नयाँ चहलपहल आउँथ्यो ।
त्यसताका गाउँ–बस्तीका मानिसहरु छरछिमेक–मैत्री हुन्थे । सीधासाधा हुन्थे, सद्भावी हुन्थे । सुख–दुःखका सहभागी हुन्थे । सबै सबैका लागि हुन्थे । बालबालिकालाई माया गर्थे, बूढाबूढीलाई आदर गर्थे । आपसमा मायाममता थियो । दशैँ आएपछि गाउँ मिलेर मूलबाटो, बाटो, कुलोकुलेसो सबै मर्मत गर्थे । सफा गर्थे । गाउँले हरेकको घर–आँगनसम्म पुग्थ्यो मर्मत, सफाइ । चरादृष्टिले हेर्दा पनि ए अब दशैँ आएछ भन्ने थाहा लाग्थ्यो ।
गाउँमा पशुपालक किसानका अतिरिक्त परम्परागत वस्त्रशिल्पी, धातुशिल्पी, चर्मशिल्पी, काष्ठशिल्पी, शिलाशिल्पी, वास्तुशिल्पी, मृत्तिकाशिल्पी, वाद्यवादनशिल्पी, वाद्ययन्त्रशिल्पी सबै आ–आफ्ना शिल्पमा कुशल र व्यस्त देखिन्थे । त्यसताका गाउँलेहरुबीच सामान्य भेदभाव थिएर पनि दुष्पाच्य थिएन । शत्रुभावी थिएन । ‘तँ त्यो जात, म यो जात’को मनमुटाव थिएन । भनाभन थिएन । खिसीट्यूरी थिएन । जमिनमा यहाँ कालो माटो, त्यहाँ रातो माटो, त्यहाँ बलौटो माटो, त्यहाँ गेग¥यान माटो, त्यहाँ चिम्टिलो माटो, त्यहाँ फुस्रो, त्यहाँ मलिलो माटो, त्यहाँ रुखो माटो, पहेँलो माटो, कमेरो माटोे सबै माटो एक–आपसमा अँगालो मारेर मिलिजुली बसेका देखेर किसान गाउँलेहरु शिक्षा लिन्थे । जसरी माटो–माटोमा झगडा थिएन । ढुङ्गामाटोमा झगडा थिएन । त्यसरी गाउँका बासिन्दाहरुबीच पनि जातीय झगडा थिएन ।
दशैँमा विशेषतः बालबालिकाहरु घरघरमा नयाँ पहिरन र मासुका परिकारमा रमाउँथे । बडाबूढा पनि रमाउँथे । यसका लागि गाउँका साझा मौलोमा राँगा काटिन्थे । घरपायकमा मिलेर वा एक्लै खसीबोका काटिन्थे । कतै घरमा सुँगुर, कतै कुखुरा त कतै हाँस काटिन्थे । दशैँमा तिब्बतबाट बथानका बथान भेडा–च्याङ्ग्रा ल्याइन्थे । कतिले भेडा ढाल्थे त कतिले च्याङ्ग्रा काट्थे । गच्छे र भच्छे अनुसारका मासु काटिन्थे । कतै कोत चल्थ्यो त त्यहाँ पञ्चबलि चल्थ्यो । सबै गाउँका, सबै जातजातिका बाल, वृद्ध, महिला जुट्थे । जात्रा नै हुन्थ्यो । त्यहाँ पनि मासुका भाग पाउनेहरु हुन्थे । दशैँमा मासुको पउल हुनुपर्छ भन्ने सोच धेरैमा पाइन्थ्यो । पउल सबैका लागि सजिलो कुरा त हुन्थेन । गरिबका लागि ऋण काढेर पनि पार गर्नैै पर्ने दशा पनि थियो दशैँ । तथापि सबैका थालमा मासुका परिकार भने जसरीतसरी पुग्थ्यो । दशैँ मासुको चाड पनि थियो ।
दशैँ मान्ने प्रक्रियामा विकृति, विसङ्गति छँदै थिएन भन्ने कुरा होइन । त्यसमा साझापन, साझा मनको राष्ट्रिय संस्कृति, जुन विकसित थियो त्यो मूल्यवान् थियो । अतीतलाई वर्तमानको सेवामा लगाउनु भनेको संस्कृतिको त्यो साझा मनलाई जोगाउँदै आवश्यक वैज्ञानिक परिष्कारका साथ अगाडि बढ्नु पनि हो ।
दशैँमा गाउँलेहरु मिलेर आ–आफ्ना पायकमा पिङ हाल्थे । हाँगेपिङ, लिङ्गेपिङ्, जाँतेपिङ, रोँगटे पिङ आदि । चौताराका बरपीपलका तेर्सा र बलिया हाँगामा लठारो बाँधेर झुन्ड्याइने पिङ हाँगेपिङ हुन्थ्यो । बाँसका अथवा सालका अग्ला बलिया लिङ्गा ठड्याएर माथि जोल्ठ्यान बाँधी साँघुबलोमा लठारो बाँधेर झुन्ड्याइने पिङ लिङ्गेपिङ भनिन्थ्यो । जाँते, रोँगटेपिङ काठका आग्ला र फल्याकको कौशलपूर्ण संरचना हुन्थ्यो । त्यसलाई दुई बलिया खम्बा गाडेर खम्बामाथि निदाल तेस्र्याई त्यहाँ जोडिन्थ्यो । जाँतेपिङ भुरुङ घुमाइ घुम्थ्यो भने रोँगटे पिङ पाङ्ग्रे घुमाइ घुम्थ्यो । सबैका फरक–फरक स्वाद थिए ।
हाँगेपिङ लिङ्गेपिङका लागि बाबियोको लठारो बाटिन्थ्यो । लठारो बाट्न सामूहिक बल चाहिन्थ्यो । एक–दुईजनाले बाटेर लठारो बाटिँदैनथ्यो । लिङ्गेपिङ युवायुवतीका लागि तागत देखाउँदै मच्चिने पिङ हुन्थे । यसै त बालकहरु पिङमा बढी लागिपर्थे । दशैँका दिन एकपटक भए पनि पिङमा बस्नै पर्छ भन्दै बूढाबूढीहरु पनि पिङ खेल्न पुग्थे । पिङ दशैँ मनोरञ्जनको मुख्य केन्द्रजस्तै बन्थ्यो । रङ्गीन जमघटको थलो बन्थ्यो ।
गाउँ समाजमा बूढाबूढी भनेका अक्षर नचिने पनि संसार चिनेका अनुभवका भकारी ठानिन्थे । सबैले चाख लिएर तिनका कुरा सुन्थे ।
आज दशैँको त्यो रमाइलो साझा संस्कृतिमा बालुवा मिसिएको छ । कताबाट मिसियो त बालुवा ? बूढापाकाहरु भन्छन्– कथित विकासका वाहन चढेर गाउँमा विदेशीहरु आए । स्कुल आए । कलेज आए । विदेशी सोचविचार र परिकारका स्कुल–कलेज आए । पढ्ने–पढाउने भनियो । पढ्नु–पढाउनु, जान्नु–बुझ्नु नराम्रो कुरा थिएन । राम्रो कुरा थियो । तर हाम्रो माटोमा खुलेका स्कुल–कलेजहरुमा हाम्रो माटोको गन्धले प्रवेशै पाएन । हाम्रो बाटोघाटो, चालचलन, संस्कार, संस्कृति, नीति, नैतिकता, जीवनमूल्य चाडपर्व त्यहाँका पाठ्य र बोध्य विषय बनेनन् । हाम्रो समाज सामाजिकता, हाम्रो धार्मिक–सांस्कृतिक समन्वयभाव, मेलापर्म, सुख–दुःख सहभागिता, सहकारिता, आपसी सद्भाव त्यहाँ पढाइएन । समन्वय, सहनशीलता र साझापन हाम्रो राष्ट्रिय संस्कृति त्यसलाई नै पाठ्य र बोध्यबाट पन्छाइयो । जुन ढुङ्गामाटो मिलेर हाम्रो राष्ट्रिय संस्कृतिको साझा स्थापत्य बनेको थियो, त्यो नै पढाइमा परेन ।
‘पढ्नु–गुन्नु कौनै काम, हलो जोती खायो माम’ भनेर हलोको संस्कृति र श्रमलाई हेला गर्नुबाट अक्षरारम्भ गराइयो । हाम्रो माटो, पानी, आकाश, हाम्रा खेतबारी, हाम्रो हलो, जुवा, सोइलो, पाटी, फाली, करुवा, अनौ, हरिस, लिँड्को, दाँदे, कोदालो, कोदाली, दाँते, खुर्पा, खुकुरी, बन्चरो, गैँती, बेल्चा, घन आदि हाम्रा विद्यालयका पढाइमा परेनन् । हाम्रा साधन संस्कृतिको जानकारी विशद् अध्ययन, अनुसन्धान र त्यसै माथिको क्रमिक विकासबाट विकासको चेत हाम्रा बालबालिकाको कलिलो मनमस्तिष्कमा पर्नै दिइएन । हाम्रा खेतबारी, पाखोपखेरो, वन बुट्यान, खोरिया, खोल्चा, खोला, वनस्पति र त्यसको जीवन्त उपयोग पक्ष हाम्रा नयाँ पुस्ताको पढाइमा परेन । आफ्ना पुर्खा र पुर्खाका अनुभवलाई अपमान गर्न सिकाइयो । आफ्नो माटो र बाटोलाई खिसीट्यूरी गर्न सिकाइयो । पढाइ भुइँफुट्टा भयो । हाम्रा सन्ततिहरु जति पढे त्यति पराइ भए । पलायनवादी भए ।
‘दशैँ आयो खाउँला पिउँला’ भन्नेहरु अब त सुन्नै छाडिए । कता पुगे कता ? सामाजिक सञ्जालतिर खोज्दा एकाध कतै भेटिएलान् कि ?
प्रतिक्रिया