इन्जिनियरको गैरकानुनी कमाइ ३ करोड

0
Shares

काठमाडौं । रामबहादुर रानाभाटले सरकारी जागिरमा रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै ३ करोड रुपियाँ आम्दानी गरेको पाइएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रानाभाटले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन् । २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका रानाभाट गत वर्ष कार्तिक ६ गतेसम्म जागिरे थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले गरेको छानबिनका क्रममा सो तथ्य खुलेको हो ।

रानाभाटको जीवनशैली अस्वाभाविक, पदीय हैसियतअनुसार अमिल्दो भएको आशंका गरी अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गरेर सो स्थिति पाइएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

इन्जिनियर रानाभाटले कमाएको ३ करोड १५ लाख ८१ हजार ६६ रुपियाँ ८० पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जागिरे अवधिमा कमाएको र खर्चको गरेको बिच तारतम्यता नदेखिएपछि आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।

आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको सेयर, जग्गा, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको आयोगले जनाएको छ । रानाभाटको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । प्रवक्ता दाहालले भन्नुभयो– ‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको रानाभाट र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको देखिन आएको छ ।’

रानाभाटविरूद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ । आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।

त्यस्तै, उनकी श्रीमती राधा रानाभाटको नाउँमा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन पनि मागदाबी गरिएको छ । सम्पत्ति जफत गर्नका लागि मात्रै श्रीमती रानाभाटलाई प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ४८ को दफा २९ ‘ख’ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई समेत प्रतिवादी कायम गरिएको थियो ।