अभिनाशको टी २० मा कीर्तिमान



हाङझाउ । नेपाली बलर अभिनाश बोहरा टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध अभिनाशले सो कीर्तिमान रचेका हुन् । यो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराएको छ । नेपाल क्वार्टरफाइनलमा पनि पुगेको छ ।

नेपालले जितको लागि २ सय १३ रनको लक्ष्य दिएको थियो । जवाफमा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो । नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । यसअघि नेपालबाट सन्दीप लामिछाने र करण केसीले मात्रै टि२० आईमा एकै खेलमा ५–५ विकेट लिएका थिए ।

करणले २०२२ मार्चमा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए । सन्दीपले २०२२ अगष्टमा केन्याविरुद्ध ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएका थिए ।

टि२० आई इतिहासमा भने उत्कृष्ट प्रदर्शनको कीर्तिमान मलेसियाका तीव्र गतिका बलर स्याजरुल इद्रुको नाममा छ । उनले चीनविरुद्ध केहि महिना अघि मात्रै ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ७ विकेट लिएका थिए ।

बक्सिङमा चुनौती समाप्त हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला ७५ केजी तौल समूहको खेलमा नेपालकी सरस्वती रानामगर पराजित भएसँगै बक्सिङमा नेपालको चुनौती समाप्त भएको छ ।

सरस्वती भियतनामी मुक्केबाज डायम क्युन लू सँग ४–१ अंकले पराजित भएकी हुन् । यो हारसँगै नेपाली बक्सिङ टोली रित्तो हात स्वदेश फर्किने पक्का पनि भयो । यस्तै चन्द्रकला थापा महिला ५४–५७ केजीको प्रारम्भिक चरण (अन्तिम १६) मा थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५–० ले पराजित भइन् । त्यसअघि पुरुष ४७–५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५–० ले पराजित भएपछि रविन थापाको यात्रा अन्तिम १६ मै सिमित बन्यो । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४–१ ले हराउँदै पहिलो चरण पार गरेका थिए । हाङझाउमा बक्सिङबाट कुल १३ नेपाली खेलाडीको सहभागिता थियो ।

महिला ५७–६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५–० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१–८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५–० ले तथा महिला ५०–५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५–० ले नै स्तब्ध बने ।

यसैगरी ६०–६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । सोही दिन पुरुष ६३.५–७१ केजीमा भारतका निशान्त देवसँग ५–० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन । मंगलबार पुरुष ५२–५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५–० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३–१ ले पराजित हुँदै बाहिरिए ।

महिला ४५–५० केजीमा सुष्मा तामाङ काजखस्तानकी नजिम किजाइबेसँग ५–० ले पराजित भइन् । त्यस्तै पुरुष ५७–६३.५ केजीमा भुपेन्द्र थापा मगर चाइनीज ताइपेका एनचु लालसँग ४–० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।

प्रतिक्रिया दिनुहोस्