समितिले काष्ठमण्डप पुनर्निर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझायो

प्रतिवेदन अध्ययन गरेर आगामी कार्यक्रमका विषयमा छलफल गर्छौं : प्रमुख प्रशासकीय अधिकृत अधिकारी



काठमाडौँ ।

 काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन्  ।

पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’ खण्डमा समिति गठन सम्बन्धी पृष्ठभूमि, अवधारणा, पुनर्निर्माण सम्बन्धी सांगठनिक संरचना र कार्य सञ्चालन विधि, संक्षिप्त कार्य विवरण राखिएको छ । यस्तै खण्ड ‘ख’ मा आर्थिक बर्ष २०७४-०७५ देखि आ. व. २०७९-०८० सम्मको लेखा परीक्षण प्रतिवेदन, स्ट्रक्चर एनालाइसिस प्रतिवेदन, पुरातत्व विभागबाट स्वीकृत नक्सा, निर्माणका क्रममा तयार पारिएको नक्सालगायत कागजपत्र छन् । यस्तै मूल थाम उठाउने, झिँगटी लगाउने, मुख्य सामग्री विवरण, पूजा क्रम र अनुष्ठानको सूची, बाह्य र विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समावेश गरिएको छ ।

प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिने  बताए । यसपछि प्रमुख, उपप्रमुखसमक्ष छलफलका लागि प्रतिवेदन लगिनेछ । यसै क्रममा काष्ठमण्डप खुला गर्ने विषयमा छलफल हुनेछ ।
समितिले बुझाएको प्रतिवेदनमा स्पष्ट हुनु परे कागजपत्र माग्न सकिनेछ ।  छलफलका लागि अधिकारीलाई बोलाउन सकिनेछ । उनको भनाइ थियो ।

प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष शाक्यले, महालेखा परीक्षकले औल्याएका विषयलाई मध्यनजर गर्दै आर्थिक विवरण पेस गरिएको जानकारी दिए । शाक्यका अनुसार महानगरपालिकाबाट उपलब्ध गराइएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । काम भइसकेको भुक्तानी गर्न अब छत्तीस लाख छयासी लाख रुपैयाँ बाँकी छ । महानगरपालिकाले काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु प¥यो ।

 उनले काष्ठमण्डपलाई नियमित सञ्चालन र संरक्षण गर्न, खुल्ला गर्नका लागि काष्ठमण्डपलाई भौतिक रुपमा जिम्मेवारी स्वीकार गर्न आग्रह गरेका थिए  ।

शाक्यको प्रस्तावपछि  प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए ।

२०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भयो । २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुननिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहार्ने निर्णय ग¥यो । यसको ४ दिनपछि अर्थात ज्येष्ठ २९ गते महानगरपालिका र समिति विच पुननिर्माणका लागि सम्झौता भयो ।

सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई ५० लाख रुपैयाँ प्रदान गरियो । त्यसपछि महानगरपालिकाले समितिलाई ०७५ असोज २७ गते ५ करोड रुपैयाँ, ०७६ माघ ९ गते ५ करोड रुपैयाँ र ०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गरायो ।

स्थानीय सहभागितामा निर्माण भएको काष्ठमण्डपलाई भत्किनु पूर्वको शैली र स्वरुपमा निर्माण गरेर २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी थिइन् । पुनर्निर्माण समितिका संयोजक शाक्यले, महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई र प्रमुख शाक्यले तत्कालीन राष्ट्रपति भण्डारीलाई साँचो दिएपछि लोकार्पण शिलापत्र अनावरण गरेकी थिइन  ।

यसपछि मूर्ति स्थापना र प्राविधिक अवस्थाको विषय उठेपछि काष्ठमण्डप समितिकै जिम्मेवारीमा थियो ।

काष्ठमण्डप पुनर्निर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्