दोलखाको लामाबगर नाकामा सुन तस्करी

थप चार केजी सुन भेटियो



दोलखा।

चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर स्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ स्थित लामाबगर बजार आसपास ढुङ्गाको चेप मुनि लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

फरार रहेका अशोक मगर लगायतले लामाबगर आसपास सुन लुकाएको आशंकामा खोजतलास गर्दा लामाबगर बजारस्थित नीज मगर पहिले बस्ने गरेको घरको पछाडी ढुङ्गाको चेप मुनी घासको चपरिले छोपिएको अवस्थामा चार केजी सुन भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामा नेतृत्वको जनपथ प्रहरी र सशस्त्र प्रहरी निरीक्षक जयन्त केसी नेतृत्वको टोलीले संयुक्त रुपमा खोजी गर्दा थप चार केजी सुन भेटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्वारिका केसीले बताए ।

यस अघि विशेष सुराकीको आधारमा प्रहरीले विगु गाउँपालिका वडा नम्बर– ३ जामुने स्थित सिता तमाङको घरमा डेरा बस्ने केशर तमाङको कोठाबाट सात केजी सुन बरामद गरेको थियो । गत बुधवार चार केजी र शुक्रवार तीन केजी सुन बरामद भएको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु – १ लामाबगरका १९ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ, २० वर्षको माधव मगर, ५५ वर्षको नुर्वुछिरीङ शेर्पा, ३० वर्षको सुनमाला तमाङ, राज तमाङ र ३० वर्षको च्याङबा भन्ने चसमान तमाङ रहेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनु भयो । पेम्बा, केशर र माधवलाई प्रहरीले लामाबगर आसपासबाट गत बुधवार रातिनै पक्राउ गरेको थियो भने नुर्वुछिरीङ र सुनमालालाई विहिवार सदरमुकाम चरिकोटबाट पक्राउ गरेको थियो । त्यसैगरी राज तमाङलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरिएको र चसमान तमाङलाई आइतबार विहान लामाबगरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्मको अनुसन्धानमा चिनियाँ  नागरिकले लामाबगरको फलाक नाकासम्म उक्त सुन ल्याउने र नुर्वु लगायतलाई जिम्मा लगाउने गरेको देखिएको प्रहरीले जनाएको छ । यस अघि पनि लामाबगर नाकाबाट अवैध सुन भित्रिएको आशंका गरिएको भएपनि त्यसबारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । यो पटक चसमान तमाङले फलाक नाकाबाट सुन ल्याएर लामाबगरबाट चरिकोटसम्म पु¥याउन बाँडफाड गरेको र नुर्वुछिरीङले चरिकोटबाट काठमाडौँसम्म पु¥याएर चिनिया नागरिकलाई जिम्मा दिने योजना रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । तर योजना बन्दै गर्दा सुनबोक्नेहरुबाटै कुरा बाहिरीएपछि विशेष सुराकीको आधारमा प्रहरीले सुन बरामद गर्न सकेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

अहिलेसम्मको अनुसन्धानमा लामाबगरको फलाक नाकाबाट सुन बुझेर काठमाडौँसम्म पु¥याउने मुख्य व्यक्ती नुर्वुछिरीङ शेर्पा रहेको बुझिएको प्रहरीको भनाई छ । लामाबगर नाकाबाट भएको सुन तस्करीमा अन्यठाँउबाट भएको सुन तस्करीसंग सम्बन्ध रहेको अहिलेसम्म नखुलेको र अहिले सिआईविको समेत सहयोगमा थप अनुसन्धान भै रहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काको बताए ।

प्रतिक्रिया दिनुहोस्