म्याग्दीमा खाद्यान्न बालीको उत्पादन घट्यो



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७९-०८० मा खाद्यान्न बालीको उत्पादन घटेको छ । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडाहरु रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा लगाइएको वर्षे तथा हिउँदे बालीको उत्पादनमा ह्रास आएको हो ।

विगतका वर्षको तुलनामा गतवर्ष खाद्यान्न बालीको उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गतवर्ष जिल्लाभर कुल तीन हजार ८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएको भए पनि जम्मा १२ हजार ५९ मेट्रिक टन मात्रै उत्पादन भएको छ । गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७८-७९ मा जिल्लामा तीन हजार ८ सय ८४ हेक्टरमा धान खेती गरिए पनि १३ हजार तीन सय ५७ मेट्रिक टन उत्पादन भएको थियो ।

गतवर्ष र अघिल्लो आवको तुलना गर्दा धान खेतीका लागि जमिनको क्षेत्रफल बढेको भए पनि गतभन्दा अघिल्लो वर्षमा धान खेती बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी गतवर्ष नौ हजार ५ सय हेक्टरमा मकै खेती गरिएकोमा ३२ हजार तीन सय मेट्रिक टन मकै उत्पादन भएको छ भने गतभन्दा अघिल्लो आवमा नौ हजार ४ सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा मकै लगाइएकोमा ३२ हजार २ सय मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।

गतवर्ष धान खेती प्रति हेक्टर जमिनमा ३ दशमलव १ प्रतिशत उत्पादकत्व रहेको छ भने मकैतर्फ प्रति हेक्टर ३ दशमलव ४ प्रतिशत उत्पादकत्व रहेको कृषि प्रसार अधिकृत बास्तोलाले बताए । यसैगरी गतवर्ष गहुँको पनि उत्पादन घटेको छ । दुई हजार ४ सय हेक्टर जमिनमा गहुँ लगाइए पनि जम्मा चारहजार ३ सय २० मेट्रिक टन उत्पादन भएको छ । गतभन्दा अघिल्लो आवमा दुई हजार ५ सय ३० हेक्टरमा गहुँ लगाइएकोमा छ हजार २ सय ७४ मेट्रिक टन उत्पादन भएको थियो ।
गएको वर्षमा खासगरी धान र गहुँको उत्पादन घटेको भए पनि मकै र कोदोको भने उत्पादन बढेको तथ्याङ्कले देखाउँछ । गतवर्ष दुई हजार ९ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा कोदो खेती गरिएकोमा चारहजार १ सय ८६ मेट्रिक टन उत्पादन भएको छ भने अघिल्लो आवमा दुई हजार ९ सय ५८ हेक्टर क्षेत्रफलको जमिनबाट तीन हजार ६ सय ५२ मेट्रिक टन कोदो उत्पादन भएको कृषि प्रसार अधिकृत बास्तोलाले बताउनुभयो ।

गतवर्ष एकसय ६० हेक्टरमा फापर खेती लगाइएकोमा एकसय ७६ मेट्रिक टन र अघिल्लो आवमा एकसय ७८ हेक्टरमा लगाइएकोमा एकसय ९७ दशमलव ५८ मेट्रिक टन उत्पादन भएको छ । जौ भने गतवर्ष तीन सय ८४ र अघिल्लो आवमा तीन सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । यसरी कुल १९ हजार दुईसय २५ हेक्टरमा खेती गरिएकोमा ५३ हजार चारसय २५ दशमलव ७५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको तथ्याङ्क छ ।

गतवर्ष खाद्यान्न बालीको उत्पादन घट्नुमा खेतीपाती लगाउने समयमा पर्याप्त वर्षा नहुनु, सिँचाइको अभाव, समयमै बिऊमल नपाउनु, हिउँदे बालीको समयमा पानी तथा हिमपात नपर्नु, गह्रा सुधार नहुनु, वर्षात्को समयमा खाद्यान्न बाली लगाइएको ठाउँमा बाढीपहिरो आउनु, गाउँघरमा दक्ष जनशक्तिको अभाव हुनु, मौसम प्रतिकुल बन्नु, नगदे बालीतर्फ किसानको आकर्षण बढ्नु जस्ता कारणहरु रहेको कृषि प्राविधिकहरु बताउँछन् ।

म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा मकै, कोदो, जौ, आलु, फापरलगायत लेकाली बालीहरु उत्पादन हुँदै आएको छ भने तल्लो भेगमा खासगरी धान, गहुँ, मकै, तोरीलगायत बालीको उत्पादन हुने गर्दछ । म्याग्दीमा खेतीयोग्य जमिन कुल ३० हजार आठसय ५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत रहेकोमा अहिले जम्मा १९ हजार चारसय १९ अर्थात् ६३ प्रतिशत जमिनमा मात्रै खेतीपाती लगाउने गरिएको छ । खेतीयोग्य भएर पनि ११ हजार तीन सय ५४ अर्थात् ३७ प्रतिशत जमिन बाँझै रहेको छ।

खेती गरिएको जमिनको तुलनामा जम्मा ६ हजार १३ हेक्टर (३० दशमलव ८४ प्रतिशत) जमिन मात्रै सिञ्चित क्षेत्रफल रहेको छ । त्यसमध्ये पनि सिञ्चित क्षेत्रफलको तुलनामा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ भने अन्य जमिनमा मौसमी सिँचाइ हुने गर्दछ । यसवर्ष पनि समयमा मनसुन नपरेको र रोपाइँ गर्ने समयमा गोरुमा लम्पिस्किन रोग देखिएकाले धानलगायत खाद्यान्न बालीको उत्पादनमा कमी आउनेमा किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्